Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

रोग र उपचार

पाल्पामा डेंगुको महामारीको चेतावनी: स्थानीय र बाह्य संक्रमितको संख्या ७४ पुग्यो

इकागज |
साउन ६, २०८१ आइतबार ११:५६ बजे

पाल्पा - पाल्पामा डेंगु संक्रमणको संख्या बढ्दै गएको छ, यो वर्ष मात्र ७४ जनामा डेंगु पुष्टि भएको छ। स्थानीय ४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरू र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमा संक्रमण देखिएको छ।


तानसेन नगरपालिकामा सबैभन्दा धेरै डेंगु संक्रमित देखिएका छन् भने तिनाउ गाउँपालिकामा कम संक्रमितको संख्या रहेको छ। सूचना अधिकारी टीकाराम अधिकारीले बताएअनुसार असार महिनादेखि संक्रमणमा उल्लेखनीय वृद्धि भएको छ।

स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत्‌ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरी सचेतना फैलाउन परिपत्र गरेको छ। डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ।

डेंगुका लक्षणहरूमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू समावेश छन्।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। लामखुट्टेको वृद्धि रोक्न र सचेत हुन चिकित्सकहरूले सुझाएका छन्। स्वास्थ्य कार्यालयले सचेतना अभियानलाई तीव्रता दिने र डेंगुको प्रकोप नियन्त्रणमा प्रयास गर्ने जनाएको छ।

डेंगु संक्रमण रोक्न निम्न उपायहरू अपनाउनुहोस्:
- लामखुट्टेको बासस्थान नष्ट गर्ने
- घरभित्र र बाहिर पानी जम्न नदिने
- लामखुट्टे भगाउने उपायहरू प्रयोग गर्ने
- आवश्यक परेमा स्वास्थ्य संस्थासँग सम्पर्क गर्ने


Author

थप समाचार
x