रोग र उपचार

जाडो बढे पनि पर्वतमा डेङ्गीका बिरामी घटेनन्

इकागज |
कात्तिक १०, २०८१ शनिबार १६:५ बजे

पर्वत - जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेङ्गीका बिरामी घटेका छैनन् । आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९ ले बढेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

 कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष साढे पाँच सय प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ । गत वर्ष दुई सय २५ मा सङ्क्रमण देखिएकामा यस वर्षको हालसम्म एक हजार पाँच सय १४ जना सङ्क्रमित भइसकेको उनले जानकारी दिए । 


अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीमा सङ्क्रमण पुष्टि भइरहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्ने प्रमुख शर्माले बताए । जाडो मौसम भए पनि बिरामीको सङ्ख्या बढिरहेको भन्दै डेङ्गी र मौसमी फ्लूका बिरामीले अहिले अस्पताल भरिभराउ बनेका उनले उल्लेख गरे । 

 स्वास्थ्य कार्यालयका प्रमुख शर्माका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक हजार एक सय ७१ जना छन् । यो कूल सङ्क्रमितको ८२.८१ प्रतिशत हो । त्यस्तै फलेवास नगरपालिकामा ७५, मोदी गाउँपालिकामा ४८, जलजला गाउँपालिकामा २३ जना, पैयुँ गाउँपालिकामा सात, विहादी गाउँपालिकामा सात, महाशीला गाउँपालिकामा चार र बाँकी अन्य जिल्लाबाट आएकामा सङ्क्रमणको पुष्टि भएको उनले जानकारी दिए । 

लामखुट्टेको टोकाइ बढ्दै जाँदा डेङ्गीको जोखिम पनि बढ्दै जाने भएकाले सचेत हुन स्वास्थ्य कार्यालय पर्वतले अनुरोध गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्नेगरी लुगा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।


Author

थप समाचार
x