बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार
बर्दिया - बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नसर्ने रोगको निःशुल्क उपचार सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँगको सहकार्यमा अस्पतालमा क्लिनिक सञ्चालनमा आएपछि मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता रोगको उपचार निःशुल्क गरिएको छ ।
पेन–प्लस कार्यक्रममार्फत जटिल रोगको उपचारसँगै त्यस्ता रोगबाट जोगिने उपायका बारेमा नागरिकलाई सचेतना फैलाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ । गम्भीर नसर्ने रोगको ओपिडी सेवा, इको तथा इसीजी, विपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलताअनुसार एम्बुलेन्स तथा माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषणलगायतका सेवा सुविधा उपलब्ध गराइने बर्दिया अस्पताल गुलरियाका प्रमुख डा सुभाष पाण्डेयले बताए ।
क्लिनिकमार्फत निःशुल्क रुपमा थालेसेमियाका बिरामीलाई औषधि, सिकलसेल जाँच सेवा, नसर्ने रोगका बिरामीलाई परामर्श जस्ता सेवा पेन–प्लस क्लिनिकमा उपलब्ध रहने अस्पतालले जनाएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार, बर्दिया जिल्लामा विभिन्न जातजातिका समुदायको बसोबास तथा थारु समुदायको बाहुल्य रहेकाले थारु समुदायमा देखिने सिकलसेल, थालेसेमियालगायतका रोगका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । कतिपय बिरामी अन्तिम समय नहुँदासम्म अस्पताल नआउने प्रवृति भएकोले गाँउघरमै क्लिनिक सञ्चालन गर्नतर्फ सोच्न आवश्यक रहेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया