रोग र उपचार

रसुवामा निःशुल्क स्वास्थ्य शिविर, १२ जनाको पाठेघरमा समस्या

इकागज |
माघ १३, २०८१ आइतबार १८:५५ बजे

फाइल फाेटाे

रसुवा - स्थानीय महिलाको स्वास्थ्यावस्थालाई लक्षित गरी उत्तरी रसुवाको स्याफ्रुबेँसीमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ ।

स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’  परीक्षणबाट  १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिए । 


परीक्षणका क्रममा पाठेघरमा समस्या देखिएका बिरामीलाई विशेषज्ञ चिकित्सकको सम्पर्कमा राखी आवश्यक परामर्श दिने काम सुरु भएको अस्पतालले जनाएको छ । अब स्थानीयस्तरमा परामर्शसहित बिरामीको उपचार व्यवस्था गरिने र जिल्लामा उपचार सम्भव नहुने देखिए जोखिमको अवस्था हेरी काठमाडौँसहित अन्यत्रका विशष्टिकृत अस्पतालमा पठाइने नीति रहेको अस्पतालले स्पष्ट गरेको छ ।

यसअघि जिल्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा छ जना महिलाको पाठेघरको मुखमा क्यान्सरको लक्षण देखिएपछि स्त्रीरोग विषेशज्ञ डा पुनम लामाको नेतृत्वमा उपचार व्यवस्था मिलाइको अस्पतालले जनाएको छ ।

सञ्चालक डा तामाङका अनुसार स्थानीय जनतालाई लक्षित गरी निजी क्षेत्रबाट खोलिएको सो अस्पतालले हालसम्म जिल्लाको एक हजार पाँच सयभन्दा बढी बिरामीको स्वास्थ्योपचार गरिसकेको छ ।  

विशेषगरी ग्रामीण भेगका महिलाले आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पतालसमेत नजाने गरेका सन्दर्भमा महिला चिकित्सकबाटै आवश्यक परामर्शसहित स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।

यसैगरी कुनै पनि किसिमको रोग लागेमा वा लाग्ने लक्षणको संकेत देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा यथासक्य छिटो सम्पर्क गर्न तथा सरसफाइलाई विशेष ध्यान दिन अस्पतालले स्थानीयवासीसँग अनुरोध गर्दै आएको छ ।    


Author

थप समाचार
x