गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

फाइल फोटो
गलकोट (बागलुङ)- कालिमाटीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरबाट चार सय १० जना नागरिक लाभान्वित भएका छन् । रोटरी क्लब अफ बागलुङ र रोटरी क्लब अफ मिट टाउन पोखराको आयोजनामा बागलुङ नगरपालिका–७ कालिमाटीमा आयोजित शिविरबाट नागरिकले विशेषज्ञ सेवा लिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिए ।
शिविरको शुभारम्भ वडाध्यक्ष मेघराज गैरेले गर्नुभएको थियो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदानका लागि रोटरी क्लबले गरेको योगदानको चर्चा गरे । रोटरी क्लब अफ बागलुङका अध्यक्ष शर्माले शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नसारोग, मिर्गौला तथा मूत्ररोग, आँखा, नाक, कान तथा घाँटीरोग, पेट, मुटु तथा छातीरोग र प्रयोगशाला सेवा प्रदान गरिएको जानकारी दिए ।
उनले गाउँमै विशेषज्ञ सेवा प्रदान गर्दा नागरिकलाई रोगको पहिचान, उपचार तथा खर्च र समय बचत भएको बताए । शिविरमा स्त्रीरोग विशेषज्ञ डा चण्डिका न्यौपाने, वरिष्ठ सर्जन डा भोजराज न्यौपाने र हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा पविन थापालगायत स्वास्थ्यकर्मीले सेवा दिनुभएको रोटरी क्लब आफ मिट टाउन पोखराका अध्यक्ष सूर्यनारायण बरालले जानकारी दिए । –रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया