रोग र उपचार

औषधि सेवन गरी गर्भपतन गराउनेको संख्या बढ्दै

इकागज |
असोज १५, २०७८ शुक्रबार १७:३४ बजे

काठमाडौँ-  पछिल्लो केही वर्षयता नेपालमा गर्भपतन गराउनेको संख्या बढदै गएको छ । बन्दाबन्दीको समयमा चार महिनामा मात्र नेपालमा २३ हजार ५६४ महिलाले गर्भपतन ( भ्रुण हत्या)  गराएका छन् । पछिल्लो समय गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेर समूहका युवतीहरूको संख्या बढदै गएको पाइएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार चैतदेखि २०७७ असारसम्म उक्त संख्यामा गर्भपतन भएको हो । उक्त अवधिमा मात्र २० वर्ष भन्दा कम उमेर समूहका २ हजार ३७६ जनाले गर्भपतन गराएका थिए ।


मुलुकमा गर्भपतन दुई किसिमले गर्ने गरिएको छ, शल्यक्रिया र औषधि । नेपालमा उक्त अवधिमा मात्र ‍औषधि सेवन गरी १७ हजार ९१५ जनाले गर्भपतन गराएका थिए । समग्र देशभर गर्भपतन गराउन औषधि प्रयोग गर्नेको संख्या बढदै गएको छ ।

२० वर्ष भन्दा कम उमेर समूहका १ हजार ६२२ र २० वर्ष भन्दा माथि १६ हजार २९३ महिलाले औषधि प्रयोग गरी गर्भपतन गराएका थिए । त्यसैगरी शल्यक्रिया गरी २० वर्ष भन्दा कम उमेर समूहका ७ सय ५४ र २० वर्ष माथिका ४ हजार ८ सय ९५ ले भ्रुण हत्या गरेका छन् ।

महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार २०७५ चैतदेखि २०७७ असारसम्म गरी सातै प्रदेशमा १ लाख १९ हजार ३ सय ७६ जनाले गर्भपतन गराएका थिए । ८१ हजार ७ सय ४९ जनाले औषधि प्रयोग गरेका थिए । २० वर्ष उमेर समूह माथिका ३२ हजार ९ सय ५८ जनाले शल्यक्रिया गरी गर्भपतन गराएका थिए । औषधि प्रयोग गरी ११ हजार ८३५ जनाले गरेका थिए । देशभर औषधि प्रयोग गरी २० वर्ष भन्दा कम उमेर समूहका ७ हजार १ सय ६६ र शल्यक्रियाबाट ४ हजार ६ सय ६९ जनाले गर्भपतन गराएका थिए ।

बागमती प्रदेशमा गर्भपतन गराउनेको संख्या बढ्यो

बागमती प्रदेशमा गर्भपतन गराउनेको संख्या बढी छ । १२ दशमलव ६ प्रतिशतले भ्रुण हत्या गराएका थिए ।  २० वर्ष भन्दा कम उमेर समूहका युवतीहरूले औषधि सेवन प्रयोग गरी १५ सय ६ र शल्यक्रिया मार्फत १६ सय ३० ले गर्भपतन गराएका थिए । २०  वर्ष भन्दा माथि उमेर समूहका औषधि प्रयोग गरी १३ हजार ५ सय ९ र शल्यक्रियामार्फत ८ हजार २ सय २२ जनाले गर्भपतन गराएका थिए ।

लुम्बिनी प्रदेशमा ९ दशमलव ४ प्रतिशतले गर्भपतन गरे । २० वर्ष भन्दा कम उमेर समूहका औषधि प्रयोग गरी १३४४, शल्यक्रियाबाट ९५४, २० वर्ष माथि उमेर समूहका औषधि प्रयोगबाट १३ हजार ९ सय ३२ र शल्यक्रिया मार्फत ८ हजार ३ सय ३५ जनाले गर्भपतन गराएका थिए ।

प्रदेश १ मात्र ८ दशमलव १ प्रतिशतले गर्भपतन गरेका छन् । २० वर्ष भन्दा कम उमेर समूहका औषधि प्रयोग गर्नेहरू १३४६, शल्यक्रिया गरी ४५१ गर्भपतन गरेका छन् । २० वर्ष भन्दा माथि उमेर समूहका १४ हजार ७ सय ९८ जनाले औषधि प्रयोग गरे, ५ हजार ६ सय ३४ जनाले शल्यक्रिया गरे ।

प्रदेश २ मा १५ दशमलव ७ प्रतिशतले गर्भपतन गराए । २० वर्षभन्दा कम उमेर समूहका औषधि सेवन गरी ८१३, शल्यक्रिया मार्फत ८५८ जनाले गर्भपतन गराएका थिए । २० वर्षभन्दा माथि औषधि प्रयोग गरी ५ हजार ८ सय १५, शल्यक्रियाबाट ३ हजार १ सय ३९ जनाले शल्यक्रिया गरेका थिए ।

गण्डकी प्रदेशमा ७ दशमलव २ प्रतिशतले गर्भपतन गरे । २० वर्ष मुनिका ९ सय ७ औषधि सेवन गरे, २ सय ९१ जनाले शल्यक्रिया गरे । २० वर्ष माथिका १२ हजार ८९ जनाले औषधि सेवन र ३ हजार ४ सय ६४ जनाले शल्यक्रिया गरेका थिए ।

कर्णाली प्रदेशमा १३ दशमलव १३ दशमलव २ प्रतिशतले गर्भपतन गरे । २० वर्ष तलका ६६९ जनाले औषधि सेवन गरे, २८३ जनाले शल्यक्रिया गरेका थिए । २० वर्ष माथिका औषधि प्रयोग गर्ने ४ हजार ५ सय २१ र शल्यक्रिया १ हजार ७ सय २३ जना छन् ।

सुदुर पश्चिममा ६ प्रतिशतले गर्भपतन गरेका थिए । २० वर्षभन्दा कम उमेर समूहकाले ५ सय ८१ जनाले औषधि सेवन र २ सय २ जनाले शल्यक्रिया गरेका थिए । २० वर्ष माथिका औषधि सेवन गर्नेहरू ९ हजार ९ सय १९ र शल्यक्रिया गर्नेमा २ हजार ४ सय ४१ जना छन् ।

औषधिको प्रयोगले दीर्घकालीन समस्या

गर्भपतन गराउने अनावश्यक औषधिको प्रयोगले स्वास्थ्यमा साइड इफेक्ट गर्ने स्त्री रोग विशेषज्ञ  प्रा. डा. जागेश्‍वर गौतमले बताए । औषधिको मात्रा ज्यादा भएमा पाठेघरमा असर पुग्‍ने उनको दाबी छ ।

उनकाअनुसार मिथोप्रोष्ट्रल र मिसोप्रोष्ट्रल जस्ता औषधिको प्रयोग गर्ने गरिन्छ । ‍औषधिको प्रयोगले बच्चा जन्माउन चाहेको समयमा बच्चा हुन सक्दैन । महिनावारी रोकिएको समयमा औषधि सवेनले 'ब्लड' गएको  ख्याल नगर्दा ज्यान सक्ने गौतमले बताए ।

'स्वास्थ्यकर्मीको सल्लाह लिएर मात्र औषधिको प्रयोग गर्नुपर्छ,' गौतमले भने,' परिवार नियोजनको साधन प्रयोगमा बढी ध्यान दिनुपर्छ ।' शल्यक्रिया गर्दा राम्रोसँग निर्मालीकरण गरी स्वास्थ्य सामग्रीको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

गर्भपतनसम्बन्धी कस्तो कानूनी व्यवस्था छ ?

२०५९ मा भएको मुलुकी ऐनको एघारौं संशोधनले गर्भपतनसम्बन्धी व्यवस्था मुलुकी ऐनको ज्यानसम्बन्धी महलमा राखे को छ ।गर्भपतनलाई अझै पनि फौजदारी कानूनको परिधिभित्र नै राखेको पाइन्छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, जबर्जस्तीकरणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने गर्छ ।

निजको शारीरिक, मानसिकस्वास्थ्यमा असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था छ । कानूनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था छ । प्रचलित कानूनले भ्रुणको लिङ्ग पहिचान गरी सोको आधारमा गरिने गर्भपतनलाई पनि अपराध मानेको छ ।

गर्भवती महिलाको मृत्युदर बढदै

२०७६ भाद्र देखि २०७७ असार सम्ममा देशभरमा कुल २ सय ३५ गर्भवती महिलाको मृत्यु भएको छ । शिशुको जन्म भएको छ हप्ता भित्रमा १ सय ५४ जना आमाको मृत्यु भएको छ । सुत्केरी व्यथा लागि ५२ र गर्भावस्थामा २९ महिलाको मृत्यु भएको हो ।


Author

थप समाचार
x