रोग र उपचार

बाढीपहिरोले बाटो बन्द हुँदा औषधि अभाव

इकागज |
कात्तिक १०, २०७८ बुधबार १३:२६ बजे

डोटी- एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण डोटी लगायतका अछाम र  बाजुरामा औषधिको अभाव भएको हाे । 

पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अवरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।


जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाले सडक अवरुद्ध भएपछि अस्पतालमा औषधि अभाव भएको जानकारी दिए । उनले भने, 'अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एक/दुई दिनमै ढुवानी नभए औषधिको  समस्या हुने देखिन्छ ।' 

जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । ५० शैयाको सुजङ अस्पताल राजपुरमा पनि दुई दिनका लागि मात्रै औषधि रहेको अस्पतालका निर्देशक अर्जुन बलायरले जानकारी दिए । जिल्लाका अस्पताल मात्र नभई यहाँका गाउँपालिकाहरूमा पनि औषधि अभाव रहेको पाइएको छ । 

गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या उत्पन्‍न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने, 'हाम्रो पालिकामा औषधि सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधि आयात गर्न सक्ने अवस्था पनि रहेन औषधिको अभाव भएको छ ।'  स्वास्थ्यकर्मीका अनुसार यहाँका पहाडी जिल्लाहरुमा बाढीपहिरोपछि  पानी प्रदूषित भएर फैलन सक्ने रोगहरू नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्दै आएका औषधिको मुख्य रुपमा अभाव देखिएको छ  । 
रासस


Author

थप समाचार
x