सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या
काठमाडौँ - सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडाैँ नै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागि अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन, भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् ।
अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधि पनि नपाइदा बिरामीहरू चर्को मूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन् । प्रदेशको एक मात्र सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् । ६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नैपर्ने बाध्यता रहेको छ । झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागि सामान्य औषधि समेत नपाइदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।
सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पतालसँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनि हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् । एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउँछन् । सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्तव्यस्त जीवनशैलीका कारण नै किड्नी फेल हुने क्रम बढ्ेकोे विभिन्न अध्ययनहरुले देखाएका छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव हुँदा अस्पतालमै ज्यान जाने होकि भन्ने चिन्तामा उनीहरू छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया