विश्व कुष्ठरोग दिवस:
बालबालिकामा किन बढ्दैछ कुष्ठरोग ?
उपचार नि:शुल्क हुन्छ भन्ने थाहा नहुँदा पनि समस्या
फाइल तस्बिर
काठमाडौँ- मुलुकभर बालबालिकामा कुष्ठ रोगीका बिरामी बढ्दै गएका छन् । सन् २०१० मा नेपाललाई कुष्ठ रोग निवारण मुलुकको रुपमा घोषणा भएको थियो । वर्षेनी कुष्ठरोगीका बिरामी बढेसँगै बालबालिकामा यो रोग बढ्नेको संख्या बढिरहेको स्वास्थ्य सेवा विभाग अन्तरगर्त अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख डा. रविन्द्र बास्कोटाले जानकारी दिए ।
आइतबार ६९ औं विश्व कुष्ठरोग दिवसमा उनले इकागजसँग भने,' यसवर्ष मात्र १०१ बालबालिकामा कुष्ठरोग देखिएको छ । १० देखि १४ वर्षका वर्षेनी बालिकामा वृद्धि हुँदै गएको छ । ' केन्द्रका अनुसार १० देखि ४५ वर्षसम्मका मानिसमा कुष्ठरोग देखिएको छ । बालबालिकामा देखिएको साना-साना दागलाई परिवारले वास्ता नगर्दा यस्तो कुष्ठरोगीको संख्या बढेको उनले बताए ।
नेपालमा ११ वर्षमा ३५ हजार भन्दा बढी बिरामी थपिएका छन् । प्रत्येक वर्ष तीन हजार/३५ सयको दरले कुष्ठरोगी थपिएको उनको भनाइ छ । सन् २०१० ताका नेपालमा प्रति १० हजार जनसंख्यामा एक प्रतिशतभन्दा कम कुष्ठ रोगी थिए । नेपालले २०२० सम्ममा कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य अहिलेसम्म पुरा हुन सकेको छैन ।
एक वर्षमा कति संक्रमित थपिए ?
आर्थिक वर्ष २०७७/०७८ मा मात्रै २१ सय ७३ जना नयाँ कुष्ठ रोगी थपिए । डा. बास्कोटाका अनुसार संक्रमितमध्ये ३७ प्रतिशत महिला रहेका छन् । १५ वर्षभन्दा कम उमेर समूहका १०१ जना बालबालिका र ९५ जनाको कुष्ठरोगका बिरामी अंगभंग भएको अवस्थामा भेटिएका छन् । झापा, मोरङ, धनुषा, पर्सा, बारा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, कैलाली गरेर ११ जिल्लामा सबैभन्दा बढी संक्रमित छन् ।
नेपालमा कुष्ठरोगी पुरुषमा बढी रहेको छ । पुरुषहरू बढी बाहिर हिड्ने भएका र उपचारका लागि खुल्ने हुँदा तथ्यांकमा उनीहरू धेरै देखिएको हुन सक्ने डा.बास्कोटाको तर्क छ । महिलामा समस्या भए पनि चाँडो उपचारको पहुँचमा नपुग्दा वास्तविक तथ्यांक सार्वजनिक हुन सकेको छैन ।
यस रोगको प्रकृतिअनुसार सानो-सानो दाग हुन्छ । चिलाउँदैन, दुख्दैन । केही होइन भनेर बेवास्ता गर्दा पनि यसले विकरालको रुप लिने गरेको छ । अध्ययनअनुसार यस रोग बढ्नुमा आर्थिक पाटो जोडिएको छ । उपचारका लागि पैसा अभाव भएकै कारण यस्ता रोगीहरू स्वास्थ्य संस्थाको पहुँचबाट धेरै टाढा रहने गरेका छन् ।
सरकारले कुष्ठरोग निवारणमा वार्षिक १५ देखि १६ करोड रुपैयाँ खर्च गर्ने गरेको पनि बास्कोटा बताउँछन् । १५/१६ करोड रकम तीनै तहका सरकारले कुष्ठरोग निवारणको लागि परिचालन गरिरहेका छन् । बास्कोटा भने यो रकम यो रोग निवारणका लागि पर्याप्त नभएको बताउँछन् ।
यो रोग लागिहाले पनि रोगीले सहजै उपचार पाउने अवस्था छैन । स्थानीय स्तरमा भएका स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मी छैनन् । सीमित तालिमप्राप्त स्वास्थ्यकर्मीहरू अवकाश भइसकेकाले बिरामीको उपचार गर्न नसकेको बास्कोटाले जानकारी दिए ।
'नयाँ-नयाँ स्वास्थ्यकर्मीलाई तालिम दिन सकिएको छैन,' उनले भने, 'अन्धविश्वास मुख्य कारण हो । कतिपय अवस्थामा रोग लागेपछि समयमा उपचार गर्न जाँदैनन् र समाजमा खुल्दैनन् ।'
के हो कुष्ठरोग ?
कुष्ठरोग एक प्रकारको सानो आँखाले देख्न नसकिने माइक्रो ब्याकटोरिया लिप्रे नामको किटाणुबाट छाला तथा नशामा असर पार्ने एक किसिमको रोग हो । यसले मुख्यरुपमा छाला तथा नशामा असर गर्छ । समयमै उपचार गरिएन भने अरु अंगमा असर पुग्छ । लामो समयसम्म उपचार भएन भने अंगभंग भएर अपांगता समेत गराउनसक्छ । कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ ।
उपचार नगरेका कुष्ठ रोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्नसक्छ । रोगका दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । कम कीटाणु भएको ‘प्यासी ब्यासेलरी’ र अर्को, बढी कीटाणु भएको ‘मल्टी ब्यासिलटी’ ।
कुष्ठ रोगको लक्षण के हो ?
छालामा रातो, फुस्रो दाग देखा पर्ने, झमझम गर्ने, छुँदा/चिमोट्दा थाहा नहुने, बाहिरी सतहका स्नायु सुन्निनु, हात तथा खुट्टामा नदुख्ने घाउ देखापर्ने, आगोले पोल्दासमेत थाहा नहुने, रौँहरू झर्ने कुष्ठरोगका लक्षण हुन् । यो रोग लागेपछि कानका लोती बाक्लो हुने, नसा दुख्ने, हातखुट्टा झमझम गर्ने गर्दछन् ।
निशुल्क उपचार
यो रोग लागिहाले सरकारले औषधोपचार निशुल्क गर्ने गरेको छ । सरकारले निशुल्क उपचार गर्नेबारे जानकारी नभएकै कारण पनि केही रोगीहरूले रोग लुकाएर बस्दा थप जोखिम बढिरहेको छ । औषधिको सेवन गर्दा साधारण वा गम्भीर असर देखापरेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । यो रोग सरेको २ देखि ५ वर्षभित्रमा यसका लक्षण देखिन्छन् । ‘मल्टी ब्यासिलटी’ कुष्ठ रोगीले १२ महिना औषधि खानुपर्ने हुन्छ । ‘प्यासी ब्यासेलरी’ कुष्ठरोगीले ६ महिनासम्म औषधि खानुपर्छ । अंगभंगका भएकाको शल्यक्रिया पनि स्वास्थ्य संस्थामा निःशुल्क हुन्छ ।
यो वर्ष ‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नारासहित मनाइएको छ । यो दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउने गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया