रङ्गमन्च

टुक्रिएका – 'सपना अनेक-अनेक...'

शिशिर उप्रेती |
साउन १५, २०७९ आइतबार १३:३४ बजे

कसैले तपाईँलाई सबैभन्दा बढी पीडा कति बेला हुन्छ भनेर सोध्यो भने तपाईँ के भन्नु हुन्छ? सबैका पीडाका आ-आफ्नै परिभाषा र भोगाइहरू हुन्छन् तर कसैले त्यही प्रश्न यदि मतिर तेर्स्यायो भने म भन्छु, 'सपना टुक्रिएर भएको पीडा सबैभन्दा बढी पीडादायी हुन्छ।' सपना जीवनको अभिन्न पाटो हो। सपना नहुँदो हो त जीवन बाँच्ने मोह र जीजिविषा किन हुन्छ होला मानिसहरूलाई ? अशेष मल्लको परिकल्पना तथा निर्देशनमा सर्वनाम नाटक घरमा मञ्चन भई रहेको गीति नाटक 'सपना अनेक- अनेक' हेरेपछि यी प्रश्नहरूले एक पटक मलाई नराम्ररी घचघच्यायो।

एक व्यक्तिको मृत्यु हुँदा उसका सपनाहरू मात्र मर्दैनन्, उसँग जोडिएका अरू थुप्रै व्यक्ति, परिवार र समाजका सपनाहरूको पनि देहावसान हुन्छ । हरेक मानिस आफ्ना सपनाहरूलाई गन्तव्यसम्म डोर्‍याउन बाँचिरहेको हुन्छ । जसका सपना छैनन् ती पनि कुनै न कुनै रूपमा सपना देख्ने, अनेक-अनेक सपनाहरू बोकेर बाँचिरहेका हुन्छन् । सुखका सीमाहरू हुन्छन् तर दु:खको कुनै सीमा हुँदैन् । सुख क्षणिक हुन्छन् तर दुःख स्थायी। हृदय विदारक कथा वस्तुमा आधारित नाटक हेरेर अहिले लेख्न बस्दासम्म पनि भारी महसुस कमै कलात्मक सृजनाहरूले गराउने क्षमता राख्छ।  तिनै सृजनाहरू मद्येको एक हो 'सपना अनेक-अनेक।'


नेपालका नाटक घरहरूमा गीति नाटक विरलै मञ्चन हुन्छन् । मलाई त झन् गीति नाटक नेपालमा हेरेको खासै अनुभव पनि थिएन । मैले बेलायतमा सेक्सपियरको पोएटिक ड्रामा 'मिड समर नाइट ड्रिम" र अमेरिकामा टी.एस एलियटको 'मडर इन द केथिड्रल' हेरेको थिएँ। यी दुई नाटकहरूले मेरो नाट्य चेतनामा भूकम्प ल्याएका थिए। मलाई डर थियो कतै 'सपना अनेक-अनेक' हेर्न जाँदा मेरो अशेष मल्लप्रतिको आस्था डगमगाउने त हैन भनेर। ठीक विपरीत मलाई नाटकको भाव छालले यसरी तान्यो कि म अन्तिमसम्मै पात्रहरूप्रतिको समानुभूतिमा डुबिरहेँ। नाटकले एकै पटक दुःखको उचाइ र गहिराइ महसुस गरायो । म भाव विह्वल भएर आँखामा टिलपिल पानी महसुस गरिरहेँ। यो इमानदारी पूर्वक लेखिएको र नाट्य रूपान्तरण गरिएको वियोगान्त गीति नाटक हो।

कविता र गीत दुःख अभिव्यक्त गर्ने सबैभन्दा सशक्त माध्यम हुन् । गद्यले घनिभूत भावना र जीवन दर्शनको त्यो उचाइ प्रस्तुत गर्न सक्छ जुन पद्यले गर्दैन। कलात्मक भावावेशको स्वतःस्फूर्त  अभिव्यक्ति गीत र कवितामा नै पाउने गरिन्छ। अर्कोतर्फ नाटक काल्पनिक अनुभवको सञ्चार गर्ने सशक्त माध्यम हो । ग्रिक दार्शनिक एरिस्टोटलले मानव वियोगका उच्च तथा अलङ्कृत शैली वियोगान्त नाटकले प्रस्तुत गर्ने कुरामा जोड दिएका छन्। यस नाटकमा पनि पात्रका असीमित दुःखहरू सुन्दर रूपमा प्रस्तुत भएका छन् ।

नाटकको प्रमुख पात्र सुख कमाउन अमेरिकातिर हेलिन्छ । सेप्टेम्बर ११ को आतङ्ककारी हमलामा उसको मृत्यु हुन्छ। यता पतिको वियोगमा छोरीलाई एक्लो छाडेर आमाको पनि मृत्यु हुन्छ। अनि सुरु हुन्छ छोरीको सङ्घर्ष। असहाय दुःख पीडा र अभावमा पनि जीवन सङ्घर्ष अपरिहार्य छ भनेर नाटकले सन्देश दिएको छ। गीता खत्रीको 'आमा हुन् आमा' खण्डकाव्यमा आधारित गीति रचनाको कलात्मक नाटकीकरण र मञ्चीय प्रस्तुतिलाई अशेष मल्लले प्रयोगात्मक भनेका छन्। देश छाडेर जानेहरूलाई सताइ रहने आमाको स्नेह र प्रेमको छटपटी विम्बहरूको माध्यमबाट नाटकमा देखाइएको छ। नाटकमा प्रयोग भएका गीतहरूमा राजु सिंहको सङ्गीत छ भने सत्यराज आचार्य र बानिका प्रधानले स्वर भरेका छन् ।

नाटकको सबै भन्दा मजबुत पक्ष कला निर्देशन हो। मञ्च शून्य र रिक्त छ जसले जीवनको शून्यता र निरर्थकता झल्काउँछ। भुईँमा सात वटा आयाताकारका समकोण कोरिएका छन् जसले जीवनका साँघुरा परिधिहरूको सङ्केत गर्छन्। आयाताकारका ६ वटा सेता फ्लेक्सका टुक्राहरू बहु अर्थिया प्रप्सका रूपमा प्रयोग भएका छन् जसले सगरमाथाको उचाइदेखि दुःख सागरको गहिराइसम्म अभिव्यक्त गर्छन् । कृष्ण खड्काले साथ दिएको प्रकाशको परिकल्पना , संयोजन र परिचालन अर्थपूर्ण छ। उनले छाया र विम्बसँग भरपुर लुकामारी खेलेका छन् ।

 गीति नाटकको अर्को महत्त्वपूर्ण चुनौती निर्देशन र अभिनय हो। विनासंवाद गीतको भावमा अर्थपूर्ण अभिनय गर्नु र गराउनु सजिलो पक्कै भएन होला । मल्लले आफ्ना अभिनेताहरूलाई समुन्द्रको सतहमा छाल आउँदा फेदमा भएका ढुङ्गा ठोक्किएर, घोटिएर, गोलिएर बनेका सुन्दर पत्थर जस्तै निखारेका छन् । प्रशिक्षार्थी भए पनि निरीक्षा घतानी, भावना उप्रेती, मिलन शाक्य, मनोज महर्जन, धिरज थापा मगर, शू-गूँ र रविना परियार पूर्ण व्यावसायिक जस्ता लाग्छन् । गीतमा शब्दहरू अलि भारी छन् । सामान्य दर्शकलाई सूत्रधारले नडोर्‍याउने हो भने नाटक बुझ्न गाह्रो छ। अशेष मल्ल आफैँले सूत्रधारको काम गरेका छन्। कथालाई गन्तव्यसम्म डोर्‍याउन रेकर्डेड भ्वाइसओभर नाटकको मजबुत पक्ष लाग्छ ।

नाटकले पनि अब सिनेमाले झैँ प्राविधिक छलाङ मारी सकेका छन् । विदेश गएको पात्रलाई आफ्नो गाउँ घर, साथी भाइ र प्रेमिकालाई सम्झन निर्देशकले अतितावलोकन (फ्ल्यास ब्याक)  टेक्निकको प्रयोग गरेका छन् । हलो जोतेको, प्रेम सम्बन्धको, पारिवारिक खुसी र साथीहरू सँगको साना-साना घटनालाई दृश्य बनाएर प्रकाशको बल्ने र बन्द हुने क्रममा सुन्दर प्रस्तुति दिइएको छ । यी सबै साना तर स्मरण गर्न लायक कलात्मक कुराहरूले नाटकलाई उचाइ प्रदान गरेको छ ।

हो, नाटक रङ्गमञ्चको सीमा भित्र बाँधिँदैन, नाट्य प्रस्तुतिले आफ्नो समय र स्थल आफैँ निर्धारण गर्छ। यो नाटकले पनि समय र स्थलको सीमालाई तोडेकै छ । २१ वर्ष अगाडिको विषय वस्तु भए पनि यस्ता घटना हरेक दिन जसो घटित भइरहने भएकाले कथाको प्रासङ्गिकता कम भएको महसुस हुँदैन। यो गीति नाटकको दुर्लभ जस्तै मञ्चन भएकाले रङ्गमञ्च प्रेमीहरूले हेर्नै पर्ने नाटक छ । नाटक साउन २१ गते सम्म सर्वनाम नाटक घरमा मञ्चन भइरहेको छ।


Author

थप समाचार
x