रङ्गमन्च

मनोराेगीसँग संवादको सूत्र सिकाउने ‘साथी, साथी आइदेउन’

सामीप्यराज तिमल्सेना |
माघ २, २०७९ सोमबार १४:५५ बजे

काठमाडौँ- मानसिक स्वास्थ्य अहिलेको समयको चुनौती हो । बढ्दो आधुनिकीकरण र पूँजीवादी सोचका कारण साना साना कुरामा खुसी हुन नसक्दा मान्छेले आफैँलाई कमजोर ठान्ने र यो रोगको रुपमा विकसित भएर विकराल रुप लिने क्रम बढ्दो छ । टिनएजका युवा युवती भने सानातिना असफलताका कारणले यो रोगको सिकार हुने गरेको अध्ययनहरूले देखाएका छन् । कौसी थिएटरमा चलिरहेको नाटक ‘साथी, साथी आइदेउन’ले यही उमेर समूहको मानसिक समस्यालाई विषय बनाएको छ । तर धेरै नाटक वा कलाभन्दा भिन्न यसले यस्तो अवस्थालाई कसरी ‘डिल’ गर्ने भन्ने कुरा पनि देखाएको छ । 

अस्मिता (गोपिनी सेडाइ)प्लस टूमा पढिरहेकी विद्यार्थी हुन् । बाबु आमाकी एक्ली छोरी अस्मिता सहपाठी राहुल (दिपेन्द्र कार्की)लाई प्रेम गर्छिन् । उनका परिक्षा, अजस्र, रजिता, जँड्याहा आदि साथी छन् । तर साथीहरूको बीचमा उनी नरुचाइने साथी हुन् जुन कुरा उनलाई कथा अगाडि बढ्दै जाँदा थाहा हुन्छ । यति मात्र होइन जुन राहुललाई उनी दिलोज्यानले प्रेम गर्छिन् तर राहुल भने अरु कसैलाई प्रेम गर्छ । घरमा पनि एक्ली छोरी हुनुका बावजुद उनलाई लाग्छ, बाबुआमा उनलाई त्यति माया गर्दैनन् । आमाले त बेला बेलामा ‘तँ जस्तो सन्तान हुनुभन्दा त नभएकै बेस’ भनेर अस्मिताको अस्तित्वलाई झटारो हान्छिन् ।


यति हुँदासम्म पनि पचाएर बसेकी अस्मिताको धैर्यको बाँध त्यतिबेला टुट्छ जब प्लस टूको परिक्षामा पनि सबैभन्दा थोरै जीपीए ल्याएर पास भएको खबर आउँछ । चारैतिरबाट खस्किएको जमिनमा उनले खुट्टा टेक्ने ठाउँ नपाएको महसुस गर्छिन् र जीवनलाई विश्राम दिने कठोर निर्णय लिन्छिन् । यही उपक्रममा उनले एउटा साथी (आशान्त शर्मा) भेट्छिन् जसले उनलाई गलत कदम लिनबाट मात्र रोक्दैनन् ,कुराहरूलाई कसरी बुझ्ने भन्ने कुरा पनि सिकाउँछन् । अस्मिताले सुनेका र देखेका कुराको अर्थ फरक भएको देखाइदिन्छन् । अस्मिता तिललाई पहाड बनाएको महसुस गरेर साथीलाई धन्यवाद दिँदै नियमित जीवनमा फर्किन्छिन् ।


‘साथी, साथी आइदेउन’ नाटकको कथामा धेरै पत्र छैनन् । कथाले अहिलेका युवामा विकल्प नदेख्दा आफैँलाई समाप्त पार्ने विकल्प मात्र देखेको कुरालाई विषय बनाएको छ तर यसको प्रस्तुति रोचक छ । लेखक तथा निर्देशक आशान्त शर्माले गम्भीर विषयलाई हास्य शैलीमा प्रस्तुत गर्ने जमर्को गरेका छन् । मञ्चमा देखिने कलाकार क्लाउनको झल्कोसहित आउँछन् र दर्शकलाई हँसाउँदै हसाउँदै गम्भीर खान्की पस्कन्छन् । लेखन, निर्देशन र कलाकारको तेहरो भूमिकालाई आशान्त शर्माले न्याय गरेका छन् । 

मानसिक समस्या पछिल्लो समयका कलामा अभिव्यक्त हुँदै आएको चल्तीको कथा हो । यो नाटकले यही विषय उठाउँदा उठाउँदै पनि यसलाई फरक कोणबाट प्रस्तुत गरेको छ । नाटकमार्फत निर्देशक शर्माले मानसिक रोगीलाई कसरी ‘मोटिभेट’ गर्ने ? गतिलो सूत्र पनि पस्केका छन् । रुचि र अरुचिका कुरा गर्दै  उनले यदि मन नपर्ने भन्दा मन पर्ने कुराहरूको संख्या धेरै छ भने त्यसलाई किन मन पर्ने कुरामाथि हाबी हुन दिने भन्ने प्रश्न गरेका छन् । योसँगै मानसिक रोगीलाई समाजले उसको असफलतामा हियाउने होइन प्रेरणा दिने कुराको पनि वकालत गरेका छन् । 

नाटकपछि दर्शकसँग अन्तक्र्रिया गर्दै आशान्त शर्माले नाटक हेरिरहँदा मानसिक रोगीलाई यथार्थ हैन नाटक हेरिरहेको भान होस् भनेर ‘क्लाउनिङ’को अवधारणामा काम गरेको जवाफ दिएका थिए । यसका लागि उनले नाक छोप्ने र खुट्टामा पनि रातो रङको फूल प्रयोग गरेका थिए । यति मात्र होइन नाटकमा कलाकारको चालढाल पनि स्वाभाविक थिएन । मानसिक समस्याको चरण पार गरेका वा रहेका दर्शकमा यसले आघात नपुर्याओस् भन्नका खातिर यो शैली अपनाएको उनको जवाफ थियो । 

कथा र कलाकारको अभिनयले नाटक स्वादिलो बनेको छ । तर सेट डिजाइन भने सामान्य छ । नाटकमा संवादसँगै ध्वनि र डिजाइनको पनि ठूलो अर्थ रहन्छ ।  जस्तो कि नाटकको पहिलो दृश्य जन्मदिनको माहोलबाट सुरु हुन्छ तर मञ्चमा त्यो वातावरण विश्वसनीय हिसाबले आएको महसुस हुन्न । नाटकको मध्यतिर अस्मिताको चरित्र खोलामा हामफाल्न भनेर आउँछ । सेटमा खोला त छ तर त्यहाँ पानी बगिरहेको आवाज छैन । तर मञ्चमा कुकुरको ध्वनि भने मज्जाले प्रयोग भएको छ । 
नाटकमा गीतको प्रयोग भने उल्लेखनीय छ । नाटकको कथालाई थप मजबुत पार्ने गरी बीचबीचमा आउने गीतमार्फत कथा वाचन मात्र गरिएको छैन ती गीत श्रुति मधुर पनि छन् । गीतका संगीतकारलाई यसको श्रेय जान्छ । 

मञ्चमा देखिने कलाकारको अभिनयले पनि यो नाटकलाई सजीव बनाएको छ । मञ्चमा देखिने सबै पात्रले आफ्नो जिम्मेवारीको भूमिका निर्वाह गरेका छन् । अस्मिता बनेकी गोपिनी सेढाइले मेहनत गरेकी छिन् । तर नाटकको सुरुवातमा उनको चरित्र झर्को लाग्दो बनाइएको छ । यसले दर्शकमा पर्याप्त समानुभूति पैदा गर्दैन । नाटकको दोस्रो अंकदेखि भने उनको चरित्र चित्रण लयमा छ । 

नाटकमा गोपिनी सेढाईं, आशान्त शर्मा, प्रभाकार न्यौपाने, अजस्र ढुङ्गाना, सरला पराजुली, दिव्या मगर, छिरिङ शेर्पा, प्रनिश मगर, अनुजा अधिकारी, विपना रिजाल, दीपेन्द्र कार्कीको अभिनय छ । पुस २८ बाट मञ्चन सुरु भएको नाटक माघ १५ सम्म टेकुस्थित कौसी थिएटरमा मञ्चन हुँदैछ । नाटक म‌ंगलबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x