‘यौटा सपनाको अवसान’मार्फत् आफ्ना सपना पूरा गर्दै अनुप र गोविन्द
काठमाडौँ - सामाजिक मुद्दालाई भव्य क्यानभाष र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाएका रंगकर्मी अनुप बराल ४ वर्षपछि उस्तै नाटक लिएर आउँदैछन् । काठमाडौँको मण्डला थिएटरमा ४ वर्षअघि गरिब र निमुखाको लासमाथि राजनीति गरेर ‘भोज’ गर्ने कुत्सित राजनीतिज्ञको कथा प्रस्तुत गर्ने ‘महाभोज’को निर्देशन पछि बराल ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटकमार्फत उही पुरानै मण्डला थिएटरको मञ्चमा प्रस्तुत हुन् लागेका हुन् । नाटकको अहिले धमाधम रिहर्सल भइरहेको छ ।
सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई अनुप बराल र उनको लेखक कलाकार समूहले समसामयिक बनाएर प्रस्तुत गर्दैछ । चरित्र र कथाको आत्मा ग्रहण गरे पनि नाटकलाई नेपाली सन्दर्भमा जोडेर प्रस्तुत गर्न लागिएको बराल बताउँछन् । नाटकलाई नेपाली माटो सुहाउँदा बनाउने काम कवि विप्लव प्रतीकले गरेका हुन् ।
७५ वर्षअघिको अमेरिकी यथार्थ र अहिलेको नेपाली समाजको मनोविज्ञान एकै रहेकाले नाटक ‘यौटा सपनाको अवसान’को मञ्चन अति सान्दर्भिक रहेको अनुप बराल बताउँछन् ।
‘हामीले भर्खरै प्रेम प्रसाद आचार्यको आत्मदाहको दृश्य देख्यौँ । उनको आत्मदाहले हाम्रा धेरै सत्य र सपनामाथि बहस छेडेको छ । नाटकको तयारी र उनको घटना संयोग हो । तर दुवै कुरा हाम्रो वरिपरि घटिरहेका घटनाका प्रतिनिधि हुन् । मञ्चमा हामीले सपनाको मूल्य चुकाउन बाध्य यस्तै चरित्रलाई जिवन्त बनाउने तयारी गरिरहेका छौँ,’ रिहर्सलको बीच भेटिएका बरालले भने ।
हामीले भर्खरै प्रेम प्रसाद आचार्यको आत्मदाहको दृश्य देख्यौँ । उनको आत्मदाहले हाम्रा धेरै सत्य र सपनामाथि बहस छेडेको छ । ‘यौटा सपनाको अवसान’को तयारी र उनको घटना संयोग हो । तर दुवै कुरा हाम्रो वरिपरि घटिरहेका घटनाका प्रतिनिधि रूप हुन् ।
अनुप बरालका नाटक भव्य हुन्छन् र खर्चिला पनि । दर्शक जम्मा गर्न संघर्ष गर्नुपर्ने थिएटरमा खर्चिला नाटक गर्न ठूलै जोखिम लिनुपर्ने हुन्छ । तर यो नाटक तयार गर्न यो सबै जोखिम लिएका छन्, गोविन्द पराजुलीले । सन् २०१० मा राष्ट्रिय नाच घर दिने ६ महिने प्रशिक्षण लिएर थिएटरमा सक्रिय गोविन्दले सिनेमामा झैँ नाटक निर्माणको अभ्यास संस्थागत गर्न खोज्दैछन् । आर्थिक जोखिम आफ्नो थाप्लोमा लिएर नाटक तयार गर्ने प्रतिवद्धतापछिको कारण खोल्दै गोविन्द भन्छन्, ‘म आफैँले कलाकार भएर पनि नाटकमा काम गरेँ । अभिनयमा डुब्नु पर्ने हामी जहिले पनि पैसाको चिन्तामा डुबेका हुन्छौँ । यसरी नाटक गरेर आफैँ र दर्शकलाई पनि ठगिरहेको महसुस गरेपछि मैले निर्माणको अभिभारा लिने निर्णय गरेको हुँ । यौटा सपनाको अवसान यसैको मूर्तरूप हो ।’ गोविन्दले सन् २०१६ मा प्रवीन खतिवडाको निर्देशनमा ‘ऊ कस्को’ र सन् २०१७ मा ‘एक बोली एक दाम’ यसरी नै निर्माण गरेका थिए ।
गोविन्द कला क्षेत्रमा पैसा आउँछ र गरुँला भन्ने नहुँदो रैछ भन्ने महसुस गरेर नाटकलाई व्यावसायिक बनाउन कस्सिएको बताउँछन् । भारतको नेसनल स्कुल अफ ड्रामामा कला व्यवस्थापनको छोटो कोर्स गरेका गोविन्द त्यही समयको अनुभवलाई सदुपयोग गर्दै एकल निर्माणको अभ्यासलाई संस्थागत गर्न लागिपरेका हुन् ।
‘बाहिरतिर कर्पोरेट क्षेत्रले नाटकको विधामा मन खोलेर सहयोग गर्छ । तर नेपालमा त्यो अभ्यास छैन । उहाँहरूको एक दिनको क्लब जाने खर्च हामीलाई दिए त्यो हाम्रा लागि लाख हुन्छ । यो कुरा हामीले बुझाउने र उहाँहरूले बुझ्ने कुरामा ग्याप छ । हामीले यो नाटकमार्फत् त्यो दूरी मेटाउने प्रयास पनि गरिरहेका छौँ,’ गोविन्दले भने ।
निर्देशक अनुप बरालले यो नाटक आजभन्दा लगभग २५ वर्षअघि नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा विद्यार्थी हुँदा पढेका थिए । जिएन कौशलले हिन्दीमा अनुवाद गरेको ‘एक सपने कि मौत’ पढ्दा नै बरालको मनमा यो छापिएको थियो । उनलाई यो नाटक यति धेरै मनपर्यो कि हिन्दीमा पढेको धित नमरेर उनले तुरुन्तै एनएसडीको पुस्तकालयमा खोजेर आर्थर मिलर लिखित यो नाटक दोहोर्याएका थिए । तर तुलनात्मक रुपमा अलि खर्चिलो हुनाले आजसम्म पनि यो नाटक मञ्चन गरिहाल्ने हिम्मत उनले जुटाउन सकेका थिएनन् । महामारीपछि नयाँ नाटक गर्ने छलफलमा गोविन प्रोडक्सनका प्रबन्ध निर्देशक गोविन्द पराजुलीले निर्माणको अभिभारा लिएपछि आउँदो १० गतेबाट यो दर्शकसम्म पुग्ने चाँजोपाँजो मिलेको हो ।
सुरुमा नै अनुप बराललाई नाटकमा घत परेको कुरा यसको कथा थियो । यो नाटकअघि उनले जति पनि नाटक पढेका थिए, तिनमा कुलीन परिवारको कथा हुन्थ्यो । तर ‘डेथ अफ अ सेल्समेन’ पहिलो नाटक थियो जहाँ मध्यमवर्गीय परिवारको सकस लेखिएको थियो । अनुप बरालको रुचि र नाटकको कथा मिलेपछि यो उनको सबैभन्दा मनपर्ने नाटकको रुपमा रहिरह्यो । उनलाई यो नाटक यति मन परेको थियो कि उनले एनएसडीबाट फर्कन बित्तिकै यसको मञ्चन गर्न चाहेका थिए । पोखराकै पुष्प आचार्यले यसको अनुवाद पनि गरेका थिए तर त्यसले मूर्त रुप लिनुअघि नै यो हरायो । उनले त्यही समयमै मधुपर्कमा यो नाटकलाई लिएर लामो लेख पनि लेखेका थिए ।
मञ्चन हुने पालो नआए पनि अनुप बरालको मनमा यो नाटक मञ्चन गर्ने रहर मरेको थिएन । त्यसैले जब गोविन्द पराजुलीले नाटक गर्ने र सबै अभिभारा आफूले लिने बताए, अनुप बरालले वर्षौँदेखि थन्किएको सपना पूरा गर्ने समय आएको सम्झिएर आफ्नो यही प्रिय नाटक मञ्चन गर्ने प्रस्ताव राखे । गोविन्दले नाइँ नास्ती नगरेपछि लेखन,कास्टिङ र रिहर्सलको चरण हुँदै नाटक मञ्चनको सम्मुख आइपुग्यो ।
अनुप बरालको नाटकको टेक्स्टसँगै कास्टिङ पनि रोचक हुने गर्छ । जीवनभर स्क्रिप्ट नपढेका अभिनेता राजेश हमाललाई ‘कोर्ट मार्सल’मा दुई महिना अभिनय गराएसँगै कास्टिङमा उनको पकड स्थापित हुन्छ । यो नाटकमा पनि उनले थिएटरका सिद्धहस्त कलाकारलाई कास्ट गरेका छन् । नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झा आदि कलाकारले मञ्च साझा गर्दैछन् तर शीर्ष भूमिका पाएका छन् रोयदिभ श्रेष्ठले । आफैँ ३० पनि नकटेका रोयले नाटकमा ६० वर्षे अधवैंशेको भूमिका निर्वाह गरेका छन् ।
थुप्रै दिग्गज कलाकारलाई उछिनेर रोय अनुप बरालको मनमा बस्ने कारण चाहिँ अनुपले नै आजभन्दा लगभग ९ वर्षअघि निर्देशन गरेको ‘थर्टी डेज इन सेम्टेम्बर’मा रोयले अभिनयमा देखाएको बान्की थियो । बालिकालाई दुव्यर्वहार गरेर ‘गिल्ट’मा बाँचेको चरित्रको रुपमा रोयले गज्जब अभिनय गरेका थिए । ‘यौटा सपनाको अवसान’ को मुख्य चरित्र पनि यस्तै अपराध भावले ग्रसित छ र रहस्यमय पनि । त्यसैले उनले रोयलाई यो जिम्मेवारी दिए ।
त्यसो त अनुप बरालले नाटकको सुरुवातमा सरोज खनाल, विजय लामा र सुनिल थापालाई लिने सोचेका थिए । सबैसँग एक चरण कुरा पनि भइसकेको थियो । तर रिहर्सलको समयमा कसैको के मिलेन त कसैको के । अन्ततः अहिलेको टिम बन्यो र अनुप बराललाई लाग्छ उत्तम बन्यो ।
गोविन्द र अनुप बराल दुवैलाई देशको आर्थिक अवस्था र नाटकको विषयवस्तु ठ्याक्कै मिलेकोमा खुसी लागेको छ । नाटकले पूँजीवाद सिर्जित पारिवारिक विखण्डनको कथा भन्छ जुन आजको नेपालको हर घरको कथा हो । त्यसैले नाटक हेरिरहँदा अहिलेको समाज पनि अनुभूत गर्न पाइने र यही कारण पनि नाटक हेर्न आउन दुवैको निम्ता छ । दर्शकलाई राम्रो नाटक पस्कने दुवैको अठोटले बताउँछ, नाटकले सपनाको अवसान हुन कथा प्रस्तुत गरे पनि निर्देशक अनुप बरालका लागि यो नाटक वर्षौँदेखि देखिआएको सपनाको मूर्तता हो भने गोविन्दका लागि नाटकलाई व्यवसायिक बनाउने सपनाको सुरुवात ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया