रङ्गमन्च

आवर्त नाटक: जीवनको सत्यता र भ्रमको अद्भुत प्रस्तुति पुनः मञ्‍चन हुँदै

इकागज |
साउन ३२, २०८१ शुक्रबार १४:३१ बजे

काठमाडौँ - राजधानीको रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा 'आवर्त' नाटकको पुन: मञ्चन हुने भएको छ। यो नाटक भदौ १ देखि ५ गतेसम्म साँझ ६:१५ बजे मञ्चन गरिने भएको छ। ओजस थिएटरमा उक्त नाटक यसअघि साउन १८ र १९ मञ्चन भएको थियो । 

'आवर्त' नाटक अल्बर्ट कामुसको चर्चित निबन्ध "द मिथ अफ सिसिफस" बाट प्रभावित छ ।  जसले जीवनको सत्यता र भ्रमलाई एक सूक्ष्म दृष्टिकोणबाट प्रस्तुत गर्छ। नाटकमा पंकज सार्की, जेसिका पोखरेल, विकाश पौडेल, रुविन सुनार, गोविन्द राज खड्का, र दीपेश कुमार चौधरीले अभिनय गरेका छन्।


नाटकले मानव अस्तित्वको शून्यता र त्यसको विशाल विश्व ब्रह्माण्डलाई उजागर गर्दै जीवनको सत्यतालाई दर्शकसमक्ष प्रस्तुत गर्नेछ। यसले दर्शकहरूलाई जीवनको यथार्थसँग साक्षात्कार गराउने छ।

ओजस थिएटर एण्ड फिल्म स्टुडियोले समाजमा रहेका विकृति र विसङ्गतिलाई उजागर गर्दै समतामूलक र समावेशी समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ। ओजसले यसअघि पनि पिंजडा, जालो, म जोकर बन्छु, असुर, मृत्युकुण्ड, कर्तव्य र एक चिहान जस्ता चर्चित नाटकहरू मञ्चन गरिसकेको छ।

'आवर्त' नाटकको निर्देशन विकाश पौडेलले गरेका छन् । लेखक नारायण लामिछाने हुन्। यस नाटकमा लाइट व्यवस्थापन गोविन्दराज खड्का, उत्पादन व्यवस्थापक जेसिका पोखरेल, नृत्य कोरियोग्राफी रूबिन सुनार, सेट/प्रप्स व्यवस्थापन दीपेश कुमार चौधरी, प्रकाश परिचालक विशाल महर्जन, ध्वनी परिचालक भरत महर र पोशाक व्यवस्थापन गोविन्द विश्वकर्माले गरेका छन्।

समाजको सकारात्मक रूपान्तरण र चेतनाको प्रवाहका लागि प्रस्तुत हुन लागेको 'आवर्त' नाटक सबै वर्ग, समुदाय, जातजाति, लिङ्ग र पेशाकर्मीका लागि अत्यन्त महत्त्वपूर्ण रहनेछ।

उक्त नाटकमा ६ पात्रहरुलाई देख्न सकिन्छ । उज्ज्वल नामक भूमिकामा पंकज सार्की छन् । विकास पौडेलले अजयको भूमिका निर्वाह गरेका छन् ।  आस्थाको भूमिका जेसिका पोखरेल र अम्बाको भूमिका रुविन सुनारले निभाएका छन् । गोविन्द राज खड्काले गजेन र हर्तुनको भूमिका दिपेश कुमार चौधरीले निभाएका छन् ।


Author

थप समाचार
x