रङ्गमन्च

नाटक ‘लाटीको छोरा’ : एक विद्रोह

शिशिर उप्रेती |
माघ १, २०७८ शनिबार १७:४९ बजे

तपाईँले आफू बाँचेको समाजको सतहलाई थोरै खोतलेर हेर्नु भएको छ ? छैन भने सुन्नुहोस्- हाम्रो समाज बडो अश्लील छ । यही समाज नग्न र निर्वस्त्र पनि छ । समाजका अधिकाधिक मानिसहरू ढोङ्गी र आडम्बरी छन्, भ्रष्ट र पतित पनि छन् । यदि तपाईं अपवाद हो भने कि त चुपचाप बस्नुहोस् कि नग्नता र अश्लीलता सहन नसके आफ्ना आँखामा लुगा लगाउनुहोस् नत्र यही समाजले तपाईँको जीवनलाई, तपाईँको स्वतन्त्रता र अस्तित्वलाई खतरामा पार्छ।

श्याम शाह द्वारा लिखित तथा सुलक्षण भारती द्वारा निर्देशित- रूपान्तरित नाटक 'लाटीको छोरा'ले लाटोपन र पागलपनको नयाँ परिभाषा माग गरेको छ । हाम्रो समाजले परिभाषित र व्याख्या गरेको लाटोपन र पागलपनको परिभाषा त्रुटिपूर्ण छ र यो पुन: परिभाषित हुन जरुरी छ । नाटकले प्रस्तुत गरेको समाज पागल छ, समाजका हरेक ब्याक्ति कुनै न कुनै रूपले पागल छन् या लाटा छन्,  कोही आवाज नभएर लाटा छन् त कसैको आवाज दबाइएको छ । आवाज विहीनहरूको आवाज खोजिरहेको नाटक यिनै मूल दर्शनलाई साथ लिएर अगाडि बढ्छ।


 सुन्दर बजारको कुरूप यथार्थ बयान गर्दै नाटकको सुरुवात हुन्छ। दलितहरूलाई बस्तीबाट सारेर नेता र व्यापारीले जमिन हडपेपछि बेघर भएर न्यायको लागि कानुनको सहारा लिन गएका डोमहरूका मुखियाको हत्या हुन्छ। लब्ध प्रतिष्ठित समाजका ठेकदारहरू चौतारीको पसलमा चिया खान र गफ चुट्न भेला हुन्छन् । बोक्सीको आरोप लगाएर बहिस्कार गरिएकी पवित्रा एउटा सानो झुप्रोमा बस्छिन्। स्टेजमा लाटीको प्रवेश हुन्छ। व्यापारीको छोरो पुनीतले लाटीलाई गाउँका केटाले दु:ख दिएको देखेर पवित्रा भाउजुको जिम्मा लगाउँछ। पुनीत लाटीलाई प्रेम गर्न थाल्छ तर धनी व्यापारीको छोरो भएकोले उसको लाटीसँगको प्रेममा अवरोध आउँछ। 

 एकाएक एउटा  गम्भीर समस्या आइलाग्छ। लाटी गर्भवती हुन्छे। चौतारीमा गाउँको मुखिया बसेको हुन्छ। शिक्षक, प्रहरी, पण्डित र व्यापारी एक एक गर्दै लाटीको गर्भ आफ्नो भएको र यो समस्याको समाधान निकालिदिन मुखियालाई एकान्तमा अनुरोध गर्छन् । मुखिया पनि अपराधी मानसिकतामा फसेका हुन्छन् र डोमलाई फसाउने गरी लाटीको गर्भ डोमको भएको निष्कर्ष सुनाउँछन्। डोमलाई जेल हालिन्छ। केही समय बित्छ। चुनाव जितेर गृहमन्त्री बनेको नेता गाउँ फर्कन्छ। चौतारो छेउ एउटा बालक खेलिरहेको हुन्छ। मन्त्रीले तिमी को हौ ? भनी प्रश्न गर्दा बालकले लाटीको छोरो भनेपछि नाटक सकिन्छ ।

 नाटकको सारांश यही भए पनि कलात्मक प्रस्तुतीकरण र अभिनयले नाटकलाई जीवन्त बनाएको छ। सबै अभिनेताहरूले आफ्नो चरित्रलाई न्याय गरेका छन् । उमेरका हिसाबले अलि भरखरका देखिने पात्रहरूले बूढाबूढीको अभिनय गरेको भए पनि चरित्र चित्रण र अभिनयको गहनताले उमेरको परिधि बिर्साएको छ।

 नाटकले केही महत्त्वपूर्ण प्रतिनिधि पात्रहरूलाई प्रस्तुत गरेको छ। नेता, प्रहरी, जग्गा व्यापारबाट पैसा कमाएको नव धनाढ्य, शिक्षक, पण्डित, चिया पसले, दलित, बोक्सी, लाटी, प्रेमी  र एउटा लाटोको अभिनय गरिरहेको अभिषप्त , निरीह पात्र । लाटी, बोक्सी, प्रेमी र लाटोको अभिनय गरी रहेको हजाम समाजका बहिष्कृत पात्रहरू हुन् । बाँकी सबै पात्रलाई समाजले पहिचान र सम्मान दिएको छ तर तिनै पात्र चरम असामाजिक र अराजक छन् । यो  विरोधाभासलाई लेखक शाह र निर्देशक भारतीले कलात्मक तरिकाले प्रस्तुत गरेका छन् ।

 नाटक, साहित्य, सिनेमा कलाका लागि कला भन्ने हेतुले सिर्जित कला हो या यसको उपयोगिता पनि हुन्छ ? यदि यसको उपयोगिता हुन्छ भने नाटक 'लाटीको छोरा' एउटा विद्रोह हो। कलाले इतिहासको काल खण्डमा कुनै परिवर्तन सम्भव गरेको छ भने यो नाटक पनि त्यसको लागि काफी छ । हाम्रो समाजले धेरै राजनैतिक परिवर्तन देखे पनि समाजमा बस्ने सीमित मानिसले मात्र त्यो परिवर्तन महसुस गरेका छन् । गरिबी, विभेद  र शोषण उस्तै छ। अन्याय र अत्याचार समाजको जडमा निहित छ। न्यायका कुरा गर्नेलाई या मारिन्छ या जेलमा कोचिन्छ। ईमिलि डिकिन्सनको 'मच म्याडनेस इज डिभाइनेस्ट सेन्स' कविताको याद दिलाउने सामाजिक समानता नाटकले कुशलतापूर्वक प्रस्तुत गरेको छ । बोक्सीको आरोपमा समाजबाट बहिस्कृत पवित्राले गाली गरेको समाज र देवकोटाले 'पागल' कवितामा तत्कालीन सामाजिक संरचना प्रति अभिव्यक्त गरेको चेतनामा खासै भिन्नता छैन । समय फरक भए पनि भोगाइमा समानता छ ।

कथालाई नाटकको रूप दिन सुलक्षण भारतीले बेजोड मेहनत गरेका छन् । उनको प्रकाश परिकल्पनालाई कुन्दन चौधरीले मूर्त रूप दिएका छन् । सामान्य भए पनि मञ्च निर्माण कलात्मक छ । चौतारोमा ठडिएको बूढो रूख इतिहास र वर्तमानको साक्षी हो। त्यै बूढो रूखको मुनि पसल थापेर बसेको लाटोको अभिनय गरिरहेको रुख जस्तै शान्त र सहनशील मौन पात्र नाटकका कुनै अरू पात्रहरू भन्दा कम वजनदार छैन। उ शब्दको निरर्थकतालाई बुझेको दार्शनिक पात्र जस्तो लाग्छ। उ बोल्न सक्छ तर बोल्दैन र यो कुरा धेरै गाउँलेलाई थाहा पनि छैन। यो रहस्यमयी पात्रले दर्शकको एकाग्रताको परीक्षा लिई रहन्छ।

विम्बहरूको प्रयोगमा पनि नाटक मजबुत छ। नाटक हेर्न भर्खरै सुरुवात गरेका दर्शकका लागि यो नाटक अलि क्लिष्ट हुन सक्छ तर पनि आक्रोश र पीडाको समभाव बोध गराएर दर्शकलाई आक्रोशित बनाउन र आँसु खसाउन नाटक सफल छ । नाटकमा ध्वनिको प्रयोग पनि नवीन छ । मैन बत्तीको मधुरो उज्यालोमा स्टेजको एक कुनामा बसेका सङ्गीतकार / सङ्गीत संयोजकहरू किसन श्रेष्ठ, सम्यक महर्जन र राजकमल फकीर नाटकमा चाहिएका आवाजहरू गितार, बाँसुरी, मुख र अरू बाजाको सहारामा प्रत्यक्ष निकाली रहन्छन्।

नाटक अलि लामो छ तर पट्यार लाग्ने गरी लामो पनि छैन । नाटकले तपाईँलाई रुवाउँछ, हसाउछ, आक्रोशित बनाउँछ र भारी मन लिएर एक पटक सोच्न बाध्य बनाउँछ । सामाजिक विसङ्गति र विभेदको विषयमा चासो राख्‍ने र लगभग हरेक समाजको ऐना छर्लङ्ग देखाइदिने क्षमता नाटकमा भएकाले हर्नै पर्ने श्रेणीको उत्कृष्ट नाटक हो 'लाटीको छोरा' ।

शुक्रबारदेखि सुरु भएको नाटक माघ ९ सम्म चल्नेछ । सिनामंगलस्थित पुरानो नाटकघरमा चलिरहेको नाटक शनिबार दिउँसो १ बजे पनि र बाँकी दिन ४.४५ मा मञ्चन हुनेछ ।

 


Author

थप समाचार
x