सम्पादकीय

सम्पादकीय

हातपात र हुलहुज्जत

इकागज |
जेठ १७, २०७९ मंगलबार १७:१ बजे

कुनै पनि अपराध कर्मको अनुसन्धानमा पुलिस प्रशासन र न्यायालयलाई बलियो बनाउनु हर नागरिकको कर्तव्य हो । न्यायका लागि दबाब दिन पाउनु पनि हर नागरिकको अधिकार हो । तर, अपराध छिनोफानो नहुँदै कसैले कसैलाई अपराधी जस्तो व्यवहार गर्नु हानिकारक छ । अनि यसरी नै छिनोफानो नहुँदै कसैले कसैलाई निर्दाेषका निर्दाेष बिचरा भन्दै बचाउ गर्नु पनि जरुरी छैन ।

आज अपराधी भनिएको व्यक्ति भोलि निर्दाेष साबित भयो भने उसको सामाजिक पहिचान कसरी पुनःस्थापित हुन्छ ? आज निर्दाेष भनी बचाउ गरिएको व्यक्ति भोलि दोषी साबित भयो भने आज आफूले बोलेको कुरामा जवाफदेही, किन नहुने ? हुनुपर्छ ।


कुनै पनि विषयमा विचार दिन सबै स्वतन्त्र छन् । तर, अदालतमा विचाराधीन विषयमा विचार दिनु जरुरी छैन । अनुसन्धानात्मक रिपोर्टिङ पनि विचार हैन, समाचार नै हुनुपर्छ ।

अपराध कर्ममा लिंग, जात, धर्म, क्षेत्र इत्यादिको बर्काे ओढ्नु, ओढाउनु झनै हानिकारक छ । अपराध व्यक्तिले गरेको छ भने उसको जात, धर्म, थर, सम्प्रदायलाई नै दोषी देखाउने गरी लेख्नु, बोल्नु घातक छ । हाम्रो सम्प्रदायको व्यक्तिलाई दोषी भन्ने भनेर भीडभाड गर्नु लोकतन्त्र विपरीत छ। यसले हाम्रो उन्नत र न्यायपूर्ण समाजको चाहनामा कुठाराघात गर्छ ।

हामीले चाहेको शासन लोकतान्त्रिक हो । हामीले चाहेको शासन न्यायपूर्ण हो । हामीले चाहेको शासन सुशासन हो । हामीले चाहेको शासन कानुनको शासन हो ।

हामीले सामुदायिक हिंसा र प्रतिहिंसा चाहनु हुँदैन । कोही दोषी छ वा छैन भने पनि अनुसन्धानमा सघाउनु हामी सबैको कर्तव्य हुनुपर्छ । हामीले न्यायालयको फैसला स्वीकार गर्नुपर्छ । असहमति भए हुलहुज्जत गरेर हैन, पुनरावेदन गरेर अघि बढ्नुपर्छ ।

असहमति तथ्यपूर्ण ढंगले लेख्नुपर्छ र बोल्नुपर्छ । तर भीड जम्मा गरेर त्रास सृजना गर्न खोज्नु राम्रो होइन ।

नेपाल विविधताले भरिएको समाज हो । कोही कसैको भाषिक लवज आफ्नो जस्तो भएन भनेर खिसिट्युरी गर्नु हुँदैन । फरक यौनिक पहिचानलाई हामीले स्वीकार गर्नुपर्छ । जातीय जाँतोमा पिसिएका समुदायलाई अघि बढाउन समतामूलक सोच लिएर अघि बढ्नुपर्छ । अपांगता भएका व्यक्तिलाई सहज हुने गरी व्यावहारिक रुपमै परिवर्तनको अगुवाइ लिनुपर्छ । लोकतान्त्रिक शासन व्यवस्थामा लिंग, जात, धर्म, क्षेत्र जस्ता विभेद हुनु नै हुँदैन ।

तर, राज्यको पुरानो नीति र नियतका कारण पछि पारिएको समूहलाई भने सकारात्मक विभेद गर्नुपर्छ । राम्रो नतिजाका लागि केही समय विभेदको नीति लिनु समता हो । समान व्यवहारका लागि गरिने असमान व्यवहारलाई समता भनिन्छ । यदि इतिहासदेखि नै यहाँ सबैलाई बराबरी समानता मिल्थ्यो भने समता चाहिँदैन थियो । त्यसैले समानता व्यवहारमा जहिलेसम्म हुँदैैन, समता रहिरहन्छ । जबसम्म हामीमा जातीय, लैंगिक आदि अहंकार रहिरहन्छ, अहंकारी समुदाय सकारात्मक विभेद भोग्न योग्य भइरहन्छ ।

हिंसा कसैमाथि हुनुहुँदैन । हिंसाको विरोध पनि प्रतिहिंसा जस्तो हैन, सभ्य र शालीन हुनुपर्छ । तैँले हिंसा गरिस्, तँ हिंस्रक होस् भन्दा कतै हामी नै हिंस्रक भइरहेका त छैनौँ, विचार गरौँ । लेखेर, बोलेर हुने काममा हातपात र हुलहुज्जत सही छैन ।


Author

थप समाचार
x