सम्पादकीय
दरबार हत्याकान्ड : २१ वर्षदेखि रहस्यकै गर्भमा
२०५८ जेठ १९ गते शुक्रबार राती नारायणहीटी राजदरबारको नृशंश हत्याकान्ड अहिलेसम्म रहस्यकै गर्भमा लुकेको छ । तत्कालीन राजा, राजपरिवारका अधिकांश सदस्य र हत्याकान्डका आरोपी तत्कालीन युवराज दीपेन्द्र शाह समेत मारिएको उक्त हृदयविदारक घटनाका बारेमा लेखिएको इतिहासबाट आम मानिस सन्तुष्ट हुन सकेका छैनन् । अझै पनि त्यहाँभित्र यथार्थमा के भएको थियो, घटना कसले घटाएको थियो, के ग्र्यान्ड डिजाइन थियो, विदेशी शक्तिकेन्द्रहरू पनि यसमा सामेल थिए कि भन्ने प्रश्न आम रूपमा उठिरहेका छन् ।
वीभत्स हत्याकान्ड र त्यसपछि बिना पोस्टमार्टम र शवयात्रामा सहभागी हुनका लागि आउन चाहेका विभिन्न देशका सरकार र राष्ट्रप्रमुखलाई पनि आउन नदिएर अन्तिम संस्कार गरिएको थियो । दरबार हत्याकान्ड पछाडि षड्यन्त्र थियो कि सनक भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ २१ वर्षसम्म पनि प्राप्त हुन सकेको छैन । बरु जाँचबुझ आयोगका झारा टार्ने र हाँस्यास्पद प्रतिवेदनहरू सतहमा आए । यसलाई कोही पत्याउन तयार नै थिएनन् ।
दरबारसँग निकट रहेकाहरूले दरबार हत्याकान्डलाई केन्द्रमा राखेर लेखिएका पुस्तकले पनि यसलाई उजागर गर्न सकेनन् । फलतः यो अहिलेसम्म रहस्यकै विषय बनिरहेको छ । घटना भएलगत्तै घटनाको छानबिन र अनुसन्धान प्रभावकारी नभएकाले अब प्रमाणहरू लोप भइसकेका छन् । जसले घटनाको सत्यतथ्य बाहिर आउने सम्भावना क्षीण भैसकेको छ । जाँचबुझ आयोगका एक सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव माधवकुमार नेपालले बीचमै राजीनामा दिएका थिए भने दरबार हत्याकान्डलाई ‘आधुनिक कोतपर्व’ भन्ने नेकपा माओवादीले पनि यसलाई छानबिन गर्नमा तत्परता देखाएन ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी चढेको जीप दुर्घटना थियो वा सुनियोजित हत्या नै थियो भन्ने पनि कहिल्यै छानबिन भएन । यसलाई राजनीतिक मुद्दा बनाएको एमाले पटक–पटक सरकारमा पुग्यो, पछिल्लो पटक मदन भण्डारीकी अर्धाङ्गीनी नै राष्ट्रपति छिन्, तर पनि यसमा अनुसन्धान र छानबिन गर्न आवश्यक ठानिएन । माओवादीले त बचेका एकमात्र साक्षी उक्त जीपका ड्राइभर अमर लामाको हत्या नै गरेको थियो ।
दरबार हत्याकान्डको साढे पाँच महिनापछि उक्त हत्याकान्डकी एक्ली साक्षी अधिराजकुमार धीरेन्द्र शाहकी श्रीमति प्रेक्षा शाहसमेत २०५८ कात्तिकमा रारा तालमा हेलिकप्टर दुर्घटनामा परेर बेपत्ता भइन् । दुर्घटना हुँदा हेलिकप्टरमा ६ जना सवार रहेको र तीन जना हराइरहेको भनिएको थियो । ती को–को हराएका थिए र क–कसको मृत्यु भएको थियो भन्ने पनि लुकाइएकाले घटना अत्यन्त शंकास्पद बनेको थियो ।
यस्ता घटनामा छानबिन हुन नसक्नुले तत्कालीन सरकार र अधिकारीहरूको निरिहता प्रकट हुनुका साथै यी घटनालाई अनन्तसम्म रहस्य र शंकाकै घेरामा राखिरहने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया