सम्पादकीय

सम्पादकीय

जनसंख्या दिवस : मान्छेको जिम्मा लेऊ

इकागज |
असार २७, २०७९ सोमबार १५:५३ बजे

आज जुलाई ११ अर्थात् विश्व जनसंख्या दिवस । यस वर्ष ‘आठ अर्ब मानवको विश्व : सबैका लागि समुत्थापित भविष्यतर्फ अवसरहरूको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनश्चितता’ नाराका साथ मनाइँदै छ । 

विश्वमा रहेका आठ अर्ब मानिसमध्ये झन्नै तीन करोड नेपालमा छन् । क्षेत्रफलको आधारमा तुलनात्मक रुपमा यो जनसंख्या धेरै ठूलो होइन । अहिले त जनसंख्या पनि घट्दो क्रममा छ । 


जनसंख्या घट्दै जानु चिन्ताको विषय हो । साथै सक्रिय उमेरका जनसंख्याबाट लाभ लिने नीति नलिनु दुःखको कुरा हो । सहरमा, तराईमा जनसंख्या थुप्रिँदै जानु पहाडी हिमाली गाउँघर पातलिँदै जानु सुखद लक्षण होइन । पहाडी, हिमाली ३२ जिल्लाको वृद्धिदर नकारात्मक छ । यो सोचनीय विषय हो । 

काम गर्न सक्ने उमेरका धेरै नेपाली अहिले देशबाहिर छन् । तिनलाई स्वदेशमै अवसर नहुनु राम्रो संकेत होइन । कृषि, पर्यटन, खनिज, जडीबुटी, जल उद्यमको यत्रो सम्भावना रहेको देश अन्धकारमा रुमल्लिनु राम्रो होइन । 

समृद्धिका लागि आर्थिकदेखि सबै स्रोतभन्दा ठूलो मानवीय स्रोत हो । तर, कुल जनसंख्याको ८ प्रतिशत जनसंख्या देशबाहिर छ । शासकहरूलाई उनीहरूको दुःख, कमाइ, परिवार, यौन जीवन, जवानीबारे कुनै चिन्ता छैन । यौन जीवन बाहिरिएकाको मात्र सवाल हैन, दम्पतीकै हो । यसले प्रजननदरमा ठूलो असर पारेको छ । ४० कटेसि रमाउँला भन्ने लोकप्रिय गीतको व्यञ्जना पनि सरकारमा बसेकाले बुझेनन् । बरु उनीहरू त रेमिट्यान्सको कमाइमा दंग छन् । 

गाउँबाट सहरतर्फको बसाइँसराइ तीव्र छ । यसमा खै सोचविचार ? गाउँमा के कमी छ, सहरमा के बढी छ, सन्तुलित विकास कसरी गर्ने भन्नेबारे सोचविचार गर्नुपर्दैन ? क्षेत्रीय, भेगीय असमानता उच्च रहेको अवस्थामा संघीयता कसरी व्यावहारिक रुपमा सफल भयो त ? 

सरकारी शिक्षा र स्वास्थ्य सेवा भरपर्दाे भएन । नागरिक निजी क्षेत्रमा नगई भएन । त्यो धेरै महँगो भयो । महँगी बढेको छ । दम्पती नै कामकाजी नभई घर चल्दैन । अनि बच्चा कति पाउने ? राज्यले हेर्ने केही होइन । यसले पनि जनसंख्या कम हुँदै गएको छ । 

जनसंख्या कम गर्ने नीति लिएको सरकारले अब बढाउने नीति लिनुपर्छ । यसका लागि करको सदुपयोग हुनुपर्छ । सार्वजनिक शिक्षा, स्वास्थ्य सुलभ हुनुपर्छ । सक्रिय उमेरको जनसंख्या यति धेरै हुनु राम्रो हो । तर सबै बाहिर हुनु वा बेकामे हुनु विडम्बना हो । अबको २०÷२५ वर्षमा यहाँ ज्येष्ठ नागरिक बढ्छन् । काम गर्न सक्ने उमेरका धेरै कम हुन्छन्, किनकि अहिले बच्चा कम जन्माइन्छ । अनि के हुन्छ हाल ? 

आज बच्चा कम, भोलि युवा कम । अनि भोलि युवाभन्दा बूढाबूढी धेरै बढी । मान्छेको रोजगारी, शिक्षा, स्वास्थ्य, उद्यम सबको जिम्मा लेऊ । 


Author

थप समाचार
x