सम्पादकीय

सम्पादकीय

भक्तपुरको संयमित बिस्केट जात्रा र स्वास्थ्य मापदण्‍ड

इकागज |
चैत २४, २०७७ मंगलबार १०:२९ बजे

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी सामान्य रुपमा मनाउने निर्णय गरिएको छ । सांस्कृतिक शहर भक्तपुरमा बिस्केट जात्रा विश्वमै प्रसिद्ध छ । आफ्नो धर्म, संस्कृतिप्रति भक्तपुरवासीको आस्था अगाध भएकाले यो जात्रालाई विशेष अवसरका रुपमा लिइन्छ । तर वैश्विक महामारी कोभिड-१९ का कारण गतवर्ष पनि जात्रा मनाउन प्रशासनले रोक लगाएको थियो भने यसपालि नगरपालिका स्वयंले स्वास्थ्य मापदण्ड पालना गरी सामान्य रुपमा मनाउने निर्णय गर्नु आफैमा सकारात्मक प्रयास हो ।

नगरपालिकाको यो प्रयासले नागरिकको स्वास्थ्यलाई मात्र ख्याल गरेको छैन कि मुलुकका अन्य क्षेत्रमा सञ्चालन हुने विभिन्‍न पर्व, जात्राहरूलाई पनि व्यवस्थित र भीडभाड हुन नदिन सन्देश दिएको छ । 


यतिखेर मुलुकमा कोभिड १९-को दोस्रो लहर चलेको छ । दिनहुँ संक्रमितको संख्या बढ्दो छ । साथै ज्यान गुमाउनेहरूको संख्या पनि थपिँदो छ । छिमेकी राष्ट्र भारतले लकडाउन र कर्फ्यू लगाएका छन् । गत वर्ष यो समय मुलुक लकडाउनमा थियो । विशेष गरेर राज्यले आफ्ना नागरिकप्रति पूरा गर्नुपर्ने न्यूनतम धर्म पालना नगर्दा गत वर्षको महामारी नेपालीका लागि कष्टप्रद भएको थियो । अब पनि त्यही स्थिति देखापर्ने जोखिम बढेको छ ।

नागरिक सजग र सचेत नहुने हो भने कोभिड-१९ को महामारी अझ जटिल हुनेछ । यो सन्दर्भमा भक्तपुरको बिस्केट जात्रालाई व्यवस्थित तवरले मनाउने निर्णय देशका अन्य शहरहरूमा पनि लागू हुनुपर्छ । प्रशासनिक दबाबभन्दा पनि नागरिक र टोलबासी आफैँ सचेत र सजग भएर भिडभाड नगर्ने, सामाजिक दूरी कायम राख्‍ने, अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्दै गर्ने र घरबाहिर निस्कँदा मास्क लगाउनैपर्ने गरी चेत उठ्नु जरुरी छ ।

नागरिकले कोभिड-१९ मा खान पाए कि पाएनन् सोच्‍ने फुर्सद मिलेको छैन । अनि कोरानाकालभरि नागरिकको रोजगारी गुमिरहेको छ, सोच्‍ने फुर्सद छैन ।

महामारीको संकेत गतवर्षको माघदेखि नै देखिए पनि सरकारले त्यसअनुसारको तयारी गरेन । बरु स्वास्थ्य उपकरण तथा औषधि खरिदमा करोडौँ रुपैयाँको भ्रष्टाचार गर्‍यो । भ्रष्टाचार छानबिन गर्नुपर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन स्वीकृति दिएर ‘भ्रष्टाचारीहरूको मनोबल खस्कन’ दिएन । एकपछि अर्को गर्दै यो महामारीका बेला सरकार भ्रष्टाचारमा लिप्त रह्यो । काम गरी खानुपर्ने व्यक्ति भोकभोकै भए । नागरिक समाजले चन्दा उठाएर टुँडिखेलमा भात खुवाउँदा सरकारले हटायो । यो जतिको अमानवीय कृत्य हुनै सक्दैनथ्यो । नागरिकको करमा कुर्सीमा आसिन सुविधाभोगीहरू आफू मानवीयता नदेखाउने, जनताले चन्दा उठाएर निमुखा जनतालाई भात खुवाउँदा हटाउनको सरकारको यो अपराधिक कुकर्म जनताले भुलेका छैनन् ।

यो सन्दर्भ यहाँ किन उल्लेख गर्नुपर्‍यो भने यो महामारीमा सरकारबाट हुनेवाला केही छैन । आफै सजग र सचेत हुनैपर्ने अवस्था छ । औषधिका अर्बौँ रुपैयाँ सकियो, सत्तारुढ दलका मानिसहरूले अधिक कमाए । शासकीय वृत्तका पात्रहरूसँग अवैध कमाईँले भूमिगत ट्याँकी भरिएको छ, ‘प्रोक्सी’ व्यापारीहरू सिर्जना गरेका छन् । उनीहरू त्यही अवैध अथाह रकममा अर्को चुनावमा मत आफ्‍नो पक्षमा पार्न सकिन्छ भन्‍ने रणनीतिमा छन् । त्यहीकारण उनीहरू भडकिलो शैलीमा लोकतन्त्रको दुहाई दिँदै बेमौसमी बाजा बजाउँछन्, ‘चुनाव... चुनाव...चुनाव......।’ तिनलाई नागरिकले कोभिड-१९ मा खान पाए कि पाएनन् सोच्‍ने फुर्सद मिलेको छैन । अनि कोरानाकालभरि नागरिकको रोजगारी गुमिरहेको छ, सोच्‍ने फुर्सद छैन ।

यी र यावत् कारणले कोरोनाको दोस्रो लहरमा जनता आफै जागरुक हुनुको विकल्प छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको एकमात्र ध्याउन्‍न सत्ता हो । त्यसकारण पनि स्वास्थ्यको ख्याल नागरिक स्वयंले गर्नुपर्छ । स्वास्थ्य पूर्वाधार हिजो पनि थिएन, आज पनि छैन । सरकारको छाडा रवैया हेर्दा भोलि पनि हुनेवाला छैन । तसर्थ भक्तपुरवासीको निर्णयलाई आत्मसात् गर्दै स्वास्थ्य मापदण्ड पालना गर्नु नै संक्रमित हुनबाट जोगिनु हो ।


Author

थप समाचार
x