सम्पादकीय
आज बीपी स्मृति, भोलि पुष्पलाल स्मृति, पर्सि सबै विस्मृति
आज ४० औं बीपी स्मृति दिवस । भोलि ४४ औं पुष्पलाल स्मृति दिवस । नेपालको राजनीतिमा गौरवका साथ सम्मान गरिने यी दुई नेताको स्मृति दिवस कांग्रेस र एमालेहरूले क्रमशः हरेक साउन ६ र साउन ७ गते मनाउँदै आइरहेका छन् । स्मृति दिवस मनाउनुको अर्थ यी महान् नेताहरूको पदमार्ग पछ्याउनु हो । उनका आदर्शहरू आफ्नो पार्टी जीवनमा समाहित तुल्याउनु हो र अन्ततः देश र जनताको उन्नति र कल्याण गर्नु हो ।
यी दुई महान् नेताहरूलाई खुला रूपमा सम्झन पाएकै ३३ वर्ष बितिसकेछ । हिजो पञ्चायतकालमा त यी दुई नेताका नाममा वृक्षरोपण गर्न पनि दिँदैनथ्यो पञ्चायतले । अब प्रश्न उठ्छ, यो अवधिमा नेपालका प्रमुख दल कांग्रेस र एमालेले देश र जनताका लागि गरे के त ? झन् गरिबी बढेको छ । भौतिक पूर्वाधार उस्तै छन् । तर ऋण भने बढेको बढ्यै छ- आन्तरिक र बाह्य गरी कुल १८ खर्ब १५ अर्ब रूपैयाँ । ऋण बढेपछि त्यसअनुसारका विकास निर्माण हुनुपर्ने हो ? कहाँ गयो ? आज आमनागरिकले उठाएको प्रश्न यही हो ।
आज नेपाली कांग्रेसले बीपी कोइरालालाई बिहानदेखि सम्झेर विभिन्न कार्यक्रम गर्यो । सबै नेताहरूले सम्झिए । केही प्रचार प्रसार भए । तर भोलिपल्टदेखि बीपीलाई सम्झने कांग्रेसमा को छ ? बीपीले देखाएको समाजवादको बाटो र नेपाली कांग्रेसले व्यवहारमा गरेको कृत्यमा के कति मेल खाएको छ, त्यो त छर्लंग छ ।
बीपीले जे जे नगर्नू भनेका थिए कांग्रेसले अहिले त्यही त्यही गर्दै आएर पहिलो संघीय निर्वाचनमा नराम्ररी पराजित हुन पुग्यो । दलभित्र गुट उपगुटको निर्माण, निरंकुश कार्यशैली, दम्भ र अहंकारले भरिपूर्ण सनक, सत्ताका लागि नैतिकता र आदर्शको विर्सजन अहिलेको कांग्रेस हो । पार्टी विधान एकातिर, सभापति अर्कोतिर । विधानलाई वास्तै नगर्ने । सत्ताका लागि जस्तोसुकै सम्झौता पनि गरिदिने चरित्रले बीपी स्मृति दिवस मनाइरहेको कांग्रेसलाई आजको दिनले कति गिज्याइरहेको होला ।
कांग्रेस र कम्युनिस्टहरूको छाँट हेर्दा बीपी र पुष्पलाललाई उनीहरूले साँचो अर्थमा कहिल्यै पनि सम्झने छैनन् ।
उता नयाँ जनवादी क्रान्तिमार्फत समग्र मुलुक र मुलुकवासीको उन्नति हुन्छ भन्ने मान्यता राखेका पुष्पलालको पार्टी हो भन्ने एमाले यतिखेर फुटेको छ । राजनीतिक र आर्थिक स्वार्थ नमिलेकै कारण एमाले विगतमा पनि नफुटेको होइन । झन्डै दुई तिहाइ निकटको सरकार विघटन गराएर दुई, दुईपटक संसद् भंग गर्ने एमालेले लिएको अघोषित नीति र पुष्पलालको मार्गबीच ठूलो अन्तर देखिन्छ । पुष्पलाल सादा जीवन जिउँथे । अहिलेका एमालेहरूको भड्किलो आर्थिक अवस्था, महलको वास, उच्चकोटिका भोजन हेर्दा के एमालेले पनि पुष्पलाललाई आफ्नो आदर्श व्यक्तित्व मानेको मिल्छ र भन्ने प्रश्न उठाएको छ ।
कांग्रेस र एमाले सत्तामा पुगेपछि मात्तिन्छन् । कांग्रेस पनि पटक पटक विभाजित भएको छ । सत्तामा पुगेपछि अर्काे पक्ष (संस्थापन इतर) लाई पेल्ने, मान हानि गर्ने, गुटभित्र पनि मुख्यको मात्र चाकडी गर्ने प्रवृत्ति कांग्रेसमा अद्यापि छ । अनि देश र जनताका लागि केही नगर्ने । राष्ट्रघाती महाकाली सन्धि गराउन दुवै दल (कांग्रेस र एमाले) ज्यान फालेर लागिपरे । तर गरिबी निवारण होइन, आफू र आफ्ना केही कार्यकर्ताहरूको गरिबी निवारण भने यी दुवै दलले गरेका छन् र गर्दै आएका पनि छन् । लाउडा, धमिजा, चेज एयर काण्ड लगायत यिनीहरूले काण्डै काण्ड रचाएका छन् । अझ कोभिड–१९ ले विश्व नै सन्त्रस्त भएका बेला ओम्नी काण्ड लगायत वाइडबडी, ३३ किलो सुन, निर्मला पन्त, ७५ करोड बार्गेनिङ लगायतका काण्डै एमालेले मच्च्यायो ।
कांग्रेस र एमालेको मात्र सन्दर्भ उल्लेख गरिएको कारण बीपी र पुष्पलाल स्मृति दिवस भएर हो । सत्तामा बस्ने अवसर पाएको माओवादी लगायत अरु दलहरूले पनि काण्ड नमच्चाएका भने होइनन् । तर नेपाली जनताले बडो सम्मान गर्ने बीपी र पुष्पलालजस्ता महान् नेतालाई कांग्रेस र एमालेले सम्झँदा आफूहरूले गरेको कर्मलाई पनि फर्केर हेर्न कहिल्यै चाहेनन् । र, उनीहरूको छाँट हेर्दा त बीपी र पुष्पलाललाई साँचो अर्थमा यिनीहरूले कहिले पनि सम्झने छैनन् । सम्झेको भए र सम्झने हो भने त यिनका कर्म यी दुई आदर्श पुरुषले कोरेका रेखाहरूमा डोरिन्थ्यो होला । यो तीन दशकको अवधिमा यिनीहरूले मुलुकलाई आज यो हबिगतमा पुर्याउन्नथे होला ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया