माथिल्लो तामाकोसी : राष्ट्रिय शान
नेपालले २०६० को दशकसम्म विकास निर्माणका ठूला आयोजनामा हातै हालेको थिएन । अझ जलविद्युत् जस्ता पूर्वाधार विदेशी ऋण वा अनुदानमा मात्र निर्माण हुन्थे । स्वदेशी लगानीमा निर्माण भएकै थिएनन् । ६ मेगावाटको पुवा खोलामा विद्युत् प्राधिकरणको स्वलगानीबाट जलविद्युत्को पहिलो खुट्किलो सुरु गरिएको थियो । पुवाले २२ मेगावाटको चिलिमेलाई अघि बढाउन उत्साहको पाइला चाल्ने कदमको रुपमा दर्ज भयो । त्यही चिलिमेले ४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण, त्यो पनि पूर्णतः स्वदेशी लगानीमा । जसले विश्वास दिलायो । यो पृष्ठभूमिबाट गुज्रेको नेपालको विकास निर्माण आज मेलम्ची तयार भइसकेको छ भने मेलम्चीपछि राष्ट्रिय गौरवको रुपमा सम्बोधित माथिल्लो तामाकोसी आउँदैछ ।
माथिल्लो तामाकोसी आफैँमा बृहत् र जटिल संरचनागत जलविद्युत् आयोजना हो । यो पूरा हुन दस वर्ष लाग्यो । माथिल्लो तामाकोसीले अब एक हजार मेगावाटको जलाशययुक्त आयोजना बनाउन सक्ने हैसियत राख्छ । नदी प्रवाहीवाला जलविद्युत् बनाउने हो भने तामाकोसीको आम्दानीले हरेक वर्ष सय मेगावाटमा लगानी गर्न सक्छ ।
माथिल्लो तामाकोसीले विभिन्न मार झेल्यो । पहिलो थियो डिजाइन परिवर्तन गर्नुपर्ने बाध्यता । जतिसुकै भौगर्भिक अध्ययन गरे पनि निर्माण नगरेसम्म त्यो पूरा हुँदैन । डिजाइन परिवर्तनले केही समय लियो । त्यसपछि भूकम्प आयो । आयोजनास्थल दोलखा भूकम्पले सबैभन्दा बढी प्रताडित क्षेत्र हो । भूकम्पका परकम्पकाबीच इन्जिनियर र कामदारहरुले काम जारी राखे ।
नेपालको संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो, जसको मार बच्चाले खाने औषधिमा समेत पर्न गयो । दैवी विपत्ती झेलेको माथिल्लो तामाकोसीले राजनीतिक विपत्ति पनि झेल्न बाध्य भयो । यति हुँदा पनि नपुगेर कोभिड–१९ को वैश्विक महामारीले थला पारिदियो । यी सबैलाई पार लगाएको आयोजनाले एउटा अगतिलो, अव्यावसायिक ठेकेदार (भारतको टेक्सम्याको) झेल्नुपर्यो ।
उसले कामै गरिदिएन, काम गरे पनि यन्त्र उपकरण र सामानै ल्याइदिएन । ठेक्का रद्द गर्ने र पुनः ठेक्का गर्दा समय र पैसा त्यसै बर्बाद हुने अवस्था आयो । आयोजनाले परामर्शदातासँग सुझबुझपूर्ण सल्लाहले पहिलोले गर्न नसकेको काम अर्काे ठेकेदारलाई दियो, जुन अहिले पूरा हुुँदैछ र आगामी वैशाख पहिलो साता वेट टेस्ट (पानी भरेर गरिने परीक्षण) हुँदैछ ।
यसलाई संक्षेपीकरण गर्दा डिजाइन परिवर्तन १८ महिना, भूकम्पका कारण १८ देखि २४ महिना, ठेकेदार टेक्सम्याको चरम लापर्वाही र अक्षमताले २४ महिना र कोभिड–१९ ६ महिना ढिला हुन पुग्यो । आयोजना निर्माण हुने समय लम्बिएपछि त्यसको प्रत्यक्ष मार तीन पक्षमा पर्छ । पहिलो आयोजना ढिलाई, दोस्रो, उत्पादन हुने विद्युत्को नाश, तेसो, लागत वृद्धि । माथिल्लो तामाकोसीको ९० प्रतिशतभन्दा बढी भुक्तानी विदेशी मुद्रामा हुन्छ । यसको ठेक्कापट्टा हुँदा एक डलर बराबर ७२ रुपैयाँ थियो ।
विद्युत् प्राधिकरणले त्यतिबेला आयोजना पूरा हुञ्जेल प्रतिडलरको भाउ ८० रुपैयाँसम्म पुग्ने अनुमान गरेको थियो । नेपाली मुद्रा त्यसै पनि कमजोर छ । त्यसमाथि समय घर्कंदै गएपछि डलरको भाउ पनि क्रमशः उक्लिने नै भयो । यसमा निर्माण अवधिको ब्याज, विदेशी मुद्रामा भएको अधिमूल्यन, डिजाइन परिवर्तनलगायतका कारण मात्र ७६ अर्ब रुपैयाँ पुगेको छ । यो आयोजनाको पहिलो युनिटको बिजुली २०७३ असारमा आउनुपर्ने थियो । भूकम्पअघि (२०७१ चैतसम्म) आयोजनाको काम ७९ प्रतिशत पूरा भइसकेको थियो ।
माथिल्लो तामाकोसीको अनुभवले अब माथिल्लो अरुण, पश्चिम सेती, तमोरजस्ता जलाशय र अर्धजलाशययुक्त आयोजना निर्माण गर्न मार्ग प्रशस्त भएको छ । माथिल्लो तामाकोसी निर्माणको अवधिमा अन्य आयोजनामा जस्तो आर्थिक विवादमा परेन । यो सबैभन्दा उत्कृष्ट पक्ष हो । नियन्त्रणभन्दा बाहिरका परिस्थितिले आयोजनाको लागत र अवधि बढ्नु जानु अस्वाभाविक होइन । लागत वृद्धि हुँदा पनि माथिल्लो तामाकोसीको लागत प्रतिमेगावाट १५ करोड रुपैयाँभन्दा बढी परेको छैन । जबकि निजी क्षेत्रले बनाएका र प्राधिकरणका अन्य आयोजनाका लागित औसतमा २० करोड रुपैयाँभन्दा कम छैन । तसर्थ अब विद्युत्मा आत्मनिर्भर हुन माथिल्लो तामाकोसीजस्ता अरु आयोजना पनि स्वदेशी लगानीमै बनाउनुको विकल्प छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया