सम्पादकीय
यी हुन् हराउनुपर्ने, यी हुन् जिताउनुपर्ने
आमचुनाव तोकिएकै समयमा हुने हो भने प्रदेश र संघीय सांसद चुन्न अब सय दिन जसो बाँकी छ । उम्मेदवारीको लहर सुरु भइसकेको छ । ठूला भनिएका दलहरू गठबन्धन र ध्रुवीकरणको रस्साकस्सीमा छन् । गठबन्धन हुँदा आफ्नो भाग काटिने हो कि भन्ने चिन्ता पनि छँदै छ, अनि गठबन्धन नाइँ भन्न पनि सकिएको छैन ।
कारबाही भोगेका केही पुराना दलजीवीहरू नयाँ पार्टी खोल्दै छन् । कोही फेरि पार्टी छोडेर वा नछोडेर स्वतन्त्र हुँ भन्दै उम्मेदवारी दिँदै छन् । पार्टी निकटमा रही कन्सल्टेन्सी गर्नेहरू पनि ‘स्वतन्त्र’ उम्मेदवारी दिँदैछन् । वैकल्पिक राजनीतिको मसिहा ठान्नेहरू कोही थाके जस्तो पनि देखिन्छ ।
कोही फेरि मिडियामा कमाएको वाहवाहीलाई स्वतन्त्रको झुक्यानमा पारी समानुपातिक मत पाउने लालसाले लपेटिएका छन् । उनीहरूलाई लाग्छ, ‘देश बदल्न मसँग जादूको छडी छ ।’ तर, समय यस्तो आउँदै छ, व्यक्तिवादी स्वतन्त्र राजनीति गर्नेको जादूको छडी उर्फ लौरोले जितेर पनि कुनै लछारपाटो नलाउने सम्भावना देखिँदै छ ।
हो, आउँदो चुनावमा पचास वर्षदेखि शासनमा रजाइँ गरेका नेताहरूलाई हराउनैपर्छ । पटक–पटक प्रधानमन्त्री, मन्त्री, सांसद भएकाहरू जसले अवसरलाई ‘अनियमित कर्म’मा मात्र प्रयोग गरे उनीहरूलाई हराउनैपर्छ । आमनागरिकलाई ज्येष्ठ नागरिक हुने उमेर घटाउने तर आफू भने कहिल्यै ज्येष्ठ नागरिक नहुने, अचेत रूपमै भए पनि शासन गरिरहनेहरूलाई हराउनै पर्छ, उम्मेदवार बन्न पाउने तिनको संवैधानिक अधिकारको रक्षा गर्दै ।
अन्तिम सास फेर्दासम्म पनि कुर्सी र पद फेर्न नमान्ने नेताहरूले देशलाई बन्धक बनाएका छन् । पार्टीहरूले नयाँ पुस्तालाई प्रवेश निषेध गरिरहेका छन् । किनकि पार्टीमा यति उति वर्षको ‘योगदान’को हिसाब हुन्छ, योग्यताको कदर हुँदैन । नेताको चाकडी नगरी कोही माथि पुग्दैन । किनकि परीक्षा दिने अवसर पनि पार्टीभित्र छैन ।
अब यस्तोमा आउने चुनावमा नेपाली नागरिकले विवेक पुर्याएनन् भने फेरि अर्काे निराशा छाउनेछ । निराशा चरम हुँदै छ । त्यो अवस्था सबका लागि घातक हुनेछ । आर्थिक रूपमा टाट पल्टिन लागेको देशमा नागरिक सामु पछुतो, पछुतो र पछुतोबाहेक केही हुनेछैन । भ्रष्ट नेताहरूको उछितो जति काढ्ने हो, चुनावी आचार–संहिता लागू हुनुअघि नै काढ्नुपर्छ । नेता र तीबाट पालित, पोषित र संरक्षित कुबेरहरूले लुटेको धन जति अनेक नाम र आवरणमा विदेश पुर्याइसकेका छन् । देश छाडेर नेताहरू भागिसकेपछि उछितो काढ्नुको अर्थ हुनेछैन, पछुतो मात्र हुनेछ । अब आउँदो चुनावमा मतदाताले के रोज्ने त ?
जसले पटकपटक अवसर पाएर पनि राम्रो काम केही गरेनन्, उनीहरूलाई नरोज्ने । जो उमेरजन्य शिथिल चरणमा छन्, उनीहरूलाई आराम गर्न दिने । उनीहरूको हेरविचार आफूहरूले गर्ने न कि उनीहरूले आफ्नो र देशको हेरविचार गरुन् भन्ने चाहना राख्ने ।
नयाँ दल र उम्मेदवार हुन् भन्दैमा जो पायो उसलाई भोट नदिने । संविधानसभामार्फत बनेको संविधान मास्ने कुरा गर्नेलाई भोट नदिएकै जाती । दक्षिणपन्थको वकालत गर्नेहरुलाई मत दिनु भनेको मुलुकमा अर्काे अतिवादलाई आमन्त्रण गर्नु हो । व्यवस्था उल्ट्याइरहने भन्दा पनि यही व्यवस्थालाई चुस्त र थप उन्नत बनाउने संकल्प बोकेका दल/उम्मेदवारलाई जिताउनु राम्रो ।
सय रूपैयाँ वा सय लाख रूपैयाँ दिन्छु भन्यो भने तपाईं विष पिउनुहुन्छ ?
विज्ञान र प्रविधिले अभूतपूर्व फड्को मारेको यो एक्काइसौँ शताब्दीमा पछाडि फर्किने, बदला लिने सोच हैन, वैज्ञानिक सोच निर्वाचित हुनुपर्छ । विगतमा जात विशेषको प्रधानताको वकालत गर्नेलाई हराए जस्तै अब धर्म र वंश (थर) विशेषको शासनको वकालत गर्नेलाई पनि हराउनुपर्छ । अबको राजनीति आर्थिक–सामाजिक रुपमा कमजोर पारिएकाहरूलाई बलियो बनाउन त हुनैपर्छ तर दीर्घकालीन सोच र कार्यक्रम भने जात, लिंग, क्षेत्र, वर्ण, धर्म सब निरपेक्ष रहने गरी हुनुपर्छ ।
जुन दलभित्र आन्तरिक लोकतन्त्र छैन, ती दललाई प्रश्न गर्नुपर्छ । हराउनु पनि पर्छ । अनि यसरी नै जो स्वतन्त्र उम्मेदवार लोकतन्त्र मान्दैनन्, लोकतन्त्र अर्थात् टिममा विश्वास गर्दैनन्, सबथोक मै हुँ भन्छन् भने त्यस्तालाई पनि हराउनै पर्छ ।
उमेर धेरै भयो भन्दैमा सबैलाई हराउने भनेको हैन, उसको निष्ठा, सक्रियता, सृजनशीलता, वैचारिकता, परिपक्वता पनि हेर्नुपर्छ । सरकारमा नजाने, नगएको सांसद जो संसद्मा तर्कपूर्ण, तथ्यपूर्ण आवाज बोलिरहन्छ, उसलाई बूढै भए पनि जिताउँदा हुन्छ । तर, पूर्वप्रधानमन्त्रीहरूलाई भने हराउनैपर्छ, सांसद जिते भने अनेक झमेला गरेर यिनीहरू नै प्रधानमन्त्री भइदिन्छन् ।
युवा छ भन्दैमा, अर्काे पेसामा ‘सफल’ छ भन्दैमा, मीठामीठा गफ दिन सक्छ भन्दैमा, समाजसेवीको छद्म छवि छ भन्दैमा, उसलाई जिताउने हैन । ऊ आफ्नो पेसामा कति ‘सफा’ थियो, उसका काण्ड के–कति थिए, राम्ररी केलाएर, प्रश्न सोधेर र्याखर्याख्ती पारेर, चित्त बुझे मात्र उसको पक्ष लिनुपर्छ ।
विदेशमा पढेको हो, अंग्रेजी खरर बोल्छ, यति लाखको जागिर छोडेर देश बनाउन आएको हो, धनी छ भ्रष्टाचार गर्दैन, पहिला भ्रष्ट भए पनि अब उसलाई पुगिसक्यो, एक रूपैयाँ तलब–भत्ता लिँदैन, यसो यसो भन्दैमा उसलाई काँध थाप्नु हुँदैन । भ्रष्टाचार गरिबले हैन, शक्तिमा बसेकाले र सत्ता तथा अख्तियार आयोगसम्म सेटिङ मिलाउन सक्नेले नै बढी गर्छन् ।
ऊ चुनावको मुखैमा राजनीतिमा आयो कि हर्क साम्पाङ जसरी नै गाउँ–समाजमा कटिबद्ध भएर, पदबाहिर रहे पनि आफूले सक्ने गरेर लागिरह्यो, त्यो हेर्नुपर्छ । टुरिस्ट उम्मेदवारलाई हराएर ट्वाँ पार्नुपर्छ । हचुवामै जिताइयो भने आफैँ ट्वाँ परिन्छ ।
उसले माथिका मान्छे चिनेको छ, मेरो काम गरिदिन्छ, काम लगाइदिन्छ भन्ने सोचेर भोट दिनु सबैभन्दा आत्मघाती सोच हो । पैसा खर्च गर्नेले पैसा उठाएर मात्र काम गर्छ । घुस खुवाउने पैसा शिक्षा–सीप आर्जनमा लगायो भने आफ्नै बलबुताले काम पाइन्छ, काम सृजना गर्न सकिन्छ । अनि शिर ठाडो पार्न सकिन्छ ।
परिवार र आफन्त, धनीमानी र पहुँचवाला मात्र च्याप्ने नेतालाई भोट माग्न आउँदा परिवार र आफन्तसँगै भोट माग्नुस् न, हामी किन चाहियो भनेर प्रश्न गर्नुपर्छ । मनी मात्र चाहिने, मेरिट सिस्टम भत्काउने नेताहरूलाई चुनावमा हराउनुपर्छ ।
चुनावमा हचुवामा मत दिनु भनेको आफ्ना बहुमूल्य सामान राखिएको भाँडाको चाबी अपरिचितलाई दिनु जस्तो हो । हामी एक किलो आँप किन्दा छामी छामी, चाखी चाखी, छोईछोई किन्ने अनि आफ्नो प्रतिनिधि छान्दा चाहिँ विचार नै नपुर्याउने ? कसैले सय रूपैयाँ वा सय लाख रूपैयाँ दिन्छु भन्यो भने तपाईं विष पिउनुहुन्छ ? पिउनुहुन्न नि, अनि संसद् जस्तो थलोलाई किन विष पियाउने ? हामी लोभमा परेर विष पिउँदैनौँ भने देशलाई किन पियाउने ? भ्रष्टहरू सांसद हुनु भनेको देश विष पिउन विवश हुनु हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया