सम्पादकीय

सम्पादकीय

संसद्का ‘हाटा’हरूलाई चुनावमा मतीय ‘भाटा’ दिने कि ?

इकागज |
भदौ २, २०७९ बिहीबार १८:२६ बजे

‘हाटा’ अर्थात् हाजिर अनि टाप, कर्मचारी वृत्तमा प्रचलित शब्दावली मानिन्छ । जसरी पनि सरकारी काम छल्ने प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ, हाटाले । अनि हाटा गर्नेविरुद्ध कहिलेकाहीँ छड्के चल्थ्यो, कर्मचारी सजायका भागीदार हुन्थे । लोकतन्त्र कालमा छड्के शब्द हराएको छ र हाजिर गरेर टाप ठोक्नेहरू सजायमा पर्दैनन् ।

अब कर्मचारी मात्र होइनन् कानुन निर्माता सांसदमा पनि ‘हाटा’ रोग सरेको छ । तिनकै हाटाका कारण संसद् कोरम नपुग्ने रोगको सिकार बनेको हो । जनप्रतिनिधि सांसदहरू कहाँ जान्छन् होला ? कहिल्यै जवाफ आउनेवाला छैन । किनभने उनीहरू जनप्रतिनिधि हुन्, उनीहरूमाथि कसैले छड्के डन्डी चलाउन सक्दैन । अनि संसदीय कर्ममै समय व्यतित नगरे पनि राज्य ढुकुटीबाट भत्ता–सुविधा मिल्छ नै ।


सांसदहरू संसदीय कर्मप्रति जिम्मेवार नदेखिनुको जिम्मेवारी चाहिँ कसले लिने ? स्वयं सांसदले हो कि मन्त्री–राज्यमन्त्री सरहका सुविधा पाएका प्रमुख सचेतक–सचेतक हो कि संसदीय दलका नेताले ? विधानतः संसदीय दलका नेताको निर्देशनमा रहँदै सांसदहरूमाथि कोर्रा लगाउने जिम्मेवारी प्रमुख सचेतक–सचेतकलाई प्राप्त छ । तिनले जिम्मेवारी पूरा गरेको भए, विधेयक पारित गर्दाकै बखत कोरम नपुग्ने अवस्था आउने थिएन । सांसदहरू उपस्थित हुँदैनन् भने दलको नेतालाई ‘कुरा’ लगाउँदै संसदीय दलको बैठक बोलाउन लगाउन सक्थे । त्यही हाटावाला सांसदहरूको हुर्मत काढ्न सकिन्थ्यो । दुर्भाग्य त्यो कर्म भएको पनि देखिँदैन ।

हो, कांग्रेस सांसद् प्रदीप गिरि गम्भीर बिरामी छन् । उनी लामो समयदेखि अस्पतालमै उपचारत छन् । स्वास्थ्य उपचारकै क्रममा रहेका सांसदहरूको हकमा प्रश्न उठाउन मिल्दैन । संसद् सचिवालयकै तथ्यांक हेर्ने हो भने अनुपस्थित सांसदहरूमध्ये धेरैजसो अमेरिका भ्रमणमा देखिन्छन् । कोही घरायसी कारण त कोही व्यावसायिक कामका कारण नेपालबाहिर रहेको बताइरहेका छन् । अर्थात् कतिपयलाई सांसद पद चाहिएको छ, तर तिनलाई संसदीय कर्ममा खट्ने या जुट्ने चाहिँ समय छैन । 

अब स्वाभाविक प्रश्न उठ्छ, संसदीय कर्मका निम्ति समय दिन नसक्नेहरूले किन सांसदको पद ओगट्ने ? ठूलै व्यवसाय छ भने त्यसैमा खट्दा के हुन्छ ? त्यसमाथि एक–पटक होइन, पटक–पटक सांसद बनेर तिनले मुलुकका हितमा के काम गरेका छन् र ?

के हाम्रा सांसदहरू ज्याद्रो भएका हुन् या भर्खरैका गाईजात्रामा बहुचर्चित बनेको शब्दावली ‘लाजपचेका’लाई साथ दिएका हुन् ? नत्र जम्माजम्मी ९४ दिनपछि चुनाव हुँदै छ र मतदातासामु जवाफ दिनकै खातिर भए पनि संसद्मा देखिनुपथ्र्यो । 

नयाँ संविधानपछिको पहिलो संसदीय कर्म हेर्ने हो भने पाउने पाँच वर्ष कहिले विघटनको सिकार हुँदै त कहिले सुस्त कर्ममै समय व्यतित भयो । कम्तीमा चुनावमा मुखमा ती पुराना अल्छी दिनका विस्मृति मेटाउन अन्त्यतिर भए पनि सांसदहरू हस्याङफस्याङ गर्दै भए पनि सदनमै देखिन्छन् भन्ने लागेको थियो । त्यस्ता दृश्य मञ्चन नै भएनन् ।

अब चुनावका बेला फेरि मतदाताकहाँ पुग्नैपर्छ । ‘पाँच वर्ष तपाईं कहाँ जानुभएको थियो ?’ मतदाताबाट यो प्रश्न आउँछ भन्ने हेक्का सांसदहरूलाई नभएको होइन । लागेको थियो कि त्यसैका खातिर पनि अन्तिम अधिवेशनलाई सांसदहरूले ‘अविस्मरणीय’ बनाउनेछन् । तर, दुर्भाग्य चाहिँ अन्तिम अधिवेशनका सदन पनि ‘कोरम’ नपुग्ने रोगमै थलिए । 

आउँदो चुनावमा पनि यिनै पात्रहरू फेरि मतदातासामु प्रस्तुत हुने नै होलान् । पाँच वर्षे कालखण्डमा संसदलाई संसदीय मर्यादा र विधि–प्रक्रियाभित्र नरहनेहरूलाई मतदाताले मतबाटै तह लगाउनुपर्छ । फेरि यिनै पात्र दोहोरिएभने तिनै दृृश्य दोहोरिने छन् । त्यसो हुँदा ‘कोरम’समेत नपुर्‍याउनेहरूलाई दोहोर्‍याएर मत दिनुको अर्थ हुँदैन । अब बल मतदाता कहाँ आइपुग्दैछ, उचित प्रयोग गरौं ।
 


Author

थप समाचार
x