सम्पादकीय

सम्पादकीय

बालेनले केही गर्लान् जस्तो छ

इकागज |
भदौ ६, २०७९ सोमबार १६:४३ बजे

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भूमिगत पार्किङ (गाडी बिसाउने ठाउँ) लाई व्यापारिक प्रयोजनमा प्रयोग गर्नेहरूका विरुद्धमा उत्रिएका छन् । महानगरबाट नक्शा पारित गराउने बेलामा भूमिगत पार्किङ राख्ने वाचा गर्ने, अनि घर तथा भवन बनाएर भाडा खाने अधिकांश नगरपालिकाका घरबेटीहरूको आम प्रवृत्ति हो । काठमाडौँ महानगरपालिकाले ३५ दिने सूचना निकालेर ती भूमिगत पार्किङस्थल खालि गराउन सूचना जारी गरेको थियो । बालेनले केही गर्दैनन् होला भनेर नीच मारेर बसेका घरबेटीहरूलाई आज सपनाजस्तो लागिरहेको होला ।

गाडी, मोटरसाइकल राख्नुपर्ने ठाउँमा सटर बनाएर भाडा खाने अनि पार्किङमा राख्नुपर्ने सवारी साधन सडकमा राख्ने प्रवृत्ति महानगर र नगरपालिकाहरूमा बढ्दो छ । हेर्दा यो सामान्यजस्तो लाग्छ, तर काठमाडौँको ट्राफिक जाममा यस्तो प्रवृत्तिले निकै मलजल गर्दै आएको छ । काठमाडौँका अधिकांश गल्लीहरूमा बाटोका दुवै किनारमा मोटरसाइकल पार्किङ गरिएका हुन्छन् ।


व्यापारिक भवन बनाउने अनि पार्किङको ठाउँ पनि सटरमा लगाएर भाडा खाने प्रवृत्तिले गल्लीहरूमा सवारी साधनहरूलाई आउजाउ गर्न निकै हम्मे पर्छ । शान्तिनगरको ढोकादेखि भित्रसम्म दुवैतर्फ मोटरसाइकल पार्किङ गरिन्छ । त्यहाँका कुनै पनि भवनहरूमा भूमिगत पार्किङ छैन । जबकि नक्शा पास गराउने बेला भूमिगत पार्किङ राखिएको छ । बालेनले काठमाडौँका चोक/चोक, गल्ली/गल्लीका भूमिगत पार्किङ अवलोकन गराई सबै ठाउँका सडकहरू खालि गराउनुपर्छ ।
हेर्दा सानो र सामान्यजस्तो देखिने विषयहरूमा विगतका मेयरहरूले वास्ता गरेनन् । जथाभावी होर्डिङ बोर्ड राख्ने, जथाभावी फोहोर फाल्ने, जथाभावी गाडी तथा मोटरसाइकल पार्किङ गरिदिने, पोस्टर टाँस्ने, जताततै तार तान्ने, मापदण्ड मिचेर घर बनाउनेलगायतका ‘कुकर्म’हरूले महानगर कुरूप भएको हो ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले घर वा व्यक्तिगत फोहोर सडकमा फाल्नेलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म स्थानीय तहले जरिवाना गर्न सक्ने उक्त ऐनको दफा ३९ मा बन्दोबस्त गरिएको छ । तर महानगरपालिका वा अन्य स्थानीय तहले यो दफाअनुसार अझैसम्म कारबाही चलाएको छैन । अब बालेन लगायत सबै स्थानीय तहका जनप्रतिनिधिहरूले यो डण्डा चलाउनु जरुरी छ, नत्र सडकमा फोहोर फाल्ने प्रवृत्तिमा कहिल्यै परिवर्तन आउनेछैन ।

हेर्दा स-साना र मसिना देखिने तर त्यसले महानगरको सुन्दरतामा, नागरिकको दैनिक जीवनमा ठूलो प्रभाव पारिराखेका हुन्छन् । सानातिना काम पनि विगतका मेयर तथा जनप्रतिनिधिहरूले नगरिदिएकै कारण समस्या थुप्रिएर बसेको हो । बालेनलाई कुनै पनि दलका नेता रिझाउनु छैन, उनले केवल नगरवासी रिझाए पुग्छ । त्यो भनेको महानगरपालिकाले गरिदिनुपर्ने न्यूनतम सेवा प्रवाह मात्र हो ।

उनको जोश, जाँगर र अठोट हेर्दा उनले केही गर्लान् जस्तो छ । उनले गर्ने काममा राजनीतिक दलहरूले टाङ नअड्याएका होइनन् । बञ्चरेडाँडामा काठमाडौँको फोहोर व्यवस्थापन गर्ने क्रममा राजनीतिक दलका केही नेताहरूले अवरोध नपुर्‍याएका होइनन् । हुँदा-हुँदा फोहोरमा समेत उनीहरूले राजनीति गरे । यस्ता चुनौती उनले पार गर्नुपर्नेछ । आफूलाई अवरोध पुर्‍याइएको विषय उनले सार्वजनिक मात्र गरिदिए भने पनि ती अवरोधहरू हट्छ ।

संघीय राजधानी, विश्व सम्पदामा सूचीकृत काठमाडौँ नेपाल र नेपालीको गौरव हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक लगायत अनेक कोणबाट अति महत्वपूर्ण शहर यो गतिमा हुनु विगतका नेताहरूको अक्षमता, अकर्मण्यता हो । त्यही भएर नगरवासीले परिवर्तन खोजेका थिए, नगरवासीको आशाको केन्द्र मानिएका बालेनले क्रमशः आफ्नो ‘कर्म’ गर्दै जाउन्, उनलाई महानगरवासीले सहयोग गर्नुपर्छ । बालेनको यो सत्कर्मको अनुकरण अरू महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूले पनि गर्नुपर्छ ।


Author

थप समाचार
x