सम्पादकीय
राष्ट्रपतिज्यू, उत्तरार्धमा भए पनि मुलुककै राष्ट्रपतिको आभास दिनुस्
यतिखेर जसरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘अतिरिक्त सक्रियता’ प्रदर्शन भइरहेको छ, यसरी नै केपी शर्मा ओली कालमा ‘सामान्य सक्रियता’ मात्र प्रदर्शन भएको भए सायद मुलुकको शासन पद्धति त्यतिविधि भद्रगोलमा पर्ने थिएन । नागरिकता विधेयक पुनर्विचार गर्न संसद्मा फिर्ता गरिनु विधि–अनुरूप छ । संसदीय पद्धतिमा अनुचित काम भएका बखत छेकबार निम्ति राष्ट्रपति भूमिका चाहिन्छ । तर, यही धर्म दुई चोटि असंवैधानिक तवरमा प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा मञ्चित गरिएको भए के हुन्थ्यो ?
हो, भण्डारी मुलुकको राष्ट्रपति नभई ‘नेकपा’ र त्यसमा पनि तत्कालीन प्रधानमन्त्री ओली गुटको मात्रै राष्ट्रपति बनेको ती दृश्य कसैको विस्मृति पुगिसकेको छैन । भण्डारी र उनको संयन्त्रले यसरी नै राष्ट्रपतीय पद्धति अनुरूप थोरै मात्र ‘भूमिका’ प्रदर्शन गरेको भए स्वयं ओलीको पनि दम्भ, तुजुक अहंकार, आडम्बर, क्रोध र क्षोभले आकाश छुने थिएन ।
राष्ट्रपति भण्डारीबाट जस्तोसुकै निर्णयमा जतिसुकै बेला ‘छाप’ लगाउन सकिन्छ भन्ने भूत सवार भएकै ओली जथाभावी क्रियाकलाप गर्न उद्यत् भएका हुन् । ओलीका निर्णय ‘छाप’ मध्यरातभर ढोका खुलै राखिएकै हो । मध्यरातको १ः४९ बजे पनि प्रतिनिधि सभा भंगले कोतपर्व बिर्साएको थियो । यिनै दृश्य विश्लेषण गर्दै उतिबेला पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भनेका थिए, ‘राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयको एउटा शाखा परिणत भएको छ ।’
भण्डारी–ओली मिलेमतोमा संसद् र संसदीय पद्धतिलाई कहिले कब्जा त कहिले मृत्युशय्या पुर्याएकै हुन् । यतिखेर संविधान ‘प्रावधान’ देख्ने राष्ट्रपति र उनका अनुचरहरूले उतिखेर चाहिँ किन देखेनन् ? मध्यरात भएर हो ?
‘त्यो पर्दैन...’ ओलीको शब्दमा राष्ट्रपतिका हाउभाउ र व्यक्त शब्द नागरिकका आँखामा अझै झल्झल्ती छन् । राष्ट्रपतिबाट ओलीकालमा बारम्बार संविधान–विधि–प्रद्धति कुल्चियो, सर्वाेच्च अदालतले पटक–पटक ‘असंवैधानिक’ भनेकै हो । न्यायिक संस्थाबाट ‘असंवैधानिक’ भनिसकेपछि सामान्य नैतिकता भएको भए उहिल्यै राजीनामा आउँथ्यो । भण्डारीले राष्ट्रपति पदकै मर्यादा र कद घटाएकी हुन् ।
ओलीकालभरि कहिल्यै संविधानको संरक्षक भएको अनुभूति राष्ट्रपतिको संस्थाबाट भएन । जसले गणतन्त्रकै चीरहरण हुने कि भन्ने खतरा पनि पैदा भएको थियो । उतिखेर प्रतिनिधि सभा विघटन गर्दा होस् या अध्यादेश जारी गर्दा नेता, संविधानका विज्ञहरूसँग परामर्श गरेको भए के हुन्थ्यो ? ओलीकालमा संविधान मिच्ने अनगिन्ती श्रृंखला शुरु भए, राष्ट्रपति भण्डारीले त्यसमा ‘ल्याप्चे’ लगाउँदै गइन् । सर्वाेच्च अदालत प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भनिसकेपछि दोस्रो पटक त्यही कर्म गर्न उद्यत् हुनुलाई के भन्ने ? अन्य लोकतान्त्रिक मुलुक भए त्यसरी बारम्बार संविधान उल्लंघनकर्तालाई ‘सजाय’ हुन्थ्यो ।
चारैतिर राणाकालीन शैलीमा ‘आफ्नै मानिस’ भर्तीका निम्ति संवैधानिक अंगलाई ध्वस्त पारिएको जिम्मेवारी राष्ट्रपति भण्डारीले चाहिँ लिनु पर्छ कि पर्दैन ? संविधानतः शक्तिको जाँच, सन्तुलन र नियन्त्रणका अवयव ध्वस्त पारिएकै परिणति मुलुकले भोग्दैछ । तिनै असंंवैधानिक शासकका कारणले मुलुकले संकट खेप्नुपरेको हो ।
भण्डारी–ओली खराब कर्मको आलोचना गरिरहँदा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल चाहिँ सही बाटोमा हिँडेका छन् भन्न खोजिएको होइन । ओलीलाई तह लगाउन सिर्जित पाँच दलीय गठबन्धन पनि ‘ओलीपथ’मै हिँडिरहेका छन्, अध्यादेश जारीदेखि बहुमतीय दम्भ प्रदर्शन गर्ने मामलामा । उनै भण्डारी–ओलीले रोपेको विषवृक्षमा देउवा–दाहाल–नेपाल मलजल गर्दै हुर्काउँदै छन् । आशा यत्ति हो, आउँदो चुनावमा विषवृक्ष रोप्ने र हुर्काउनेलाई मतदाता स्वयंले किनारा लगाउने छन् ।
सबैले बुझेको तथ्य हो, राष्ट्रपति भण्डारी एमालेका निम्ति ‘चुनावी मसला’ तयार पार्न खोज्दैछिन् । गोयबल्स शैली नै अपनाए पनि ‘परमादेश’को शब्दजाल त्यतिविधि बिक्न सकेन । दुई पटकका प्रतिनिधि सभा विघटनसम्बन्धी असंवैधानिक कदम ढाक्ने बाक्लो बर्काे अझै मिलेको देखिँदैन ।
सेनाका वर्तमान र पूर्वजर्नेलहरूसँगको सघन भेटले पनि राजनीतिक वृत्तमा संशय पैदा गराएको छ । उक्त विस्तारित भेटको ‘मक्सद’ खोजिँदै छ, षड्यन्त्रको तानाबुना बुनिँदै त छैन भन्ने बाक्लो आशंका बढ्दै छ । राष्ट्रपतिज्यू, कार्यकालको उत्तरार्धमा भए पनि मुलुककै राष्ट्रपति भएको आभास दिनुस्, राष्ट्रपतिभन्दा ठूलो पद छैन । त्यो पदको मर्यादाका खातिर विगतमा भएका खराब कामको पनि आत्माआलोचना गर्नुस्, त्यसले तपाईं र राष्ट्रपति पदको मर्यादा बढाउँछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया