सम्पादकीय
हिजो जसरी गाइन्छ/नाचिन्छ, आज त्यसरी नै गाइनु/नाचिनुपर्छ भन्ने छैन
नेपाल बहुल समाज हो । यहाँ बहुल जाति, भाषा, धर्म, संस्कृति छन् । यहाँ बहुल चाडबाड छन् । रहनसहन, नाचगान, भेषभूषा अनेक छन् । यो नेपालको विशिष्ट सौन्दर्य हो ।
नेपालमा मनाइने अनेक चाडमध्ये एउटा चाड हो, हरितालिका तीज । तीजलाई नारी स्वतन्त्रताको चाडका रुपमा लिइन्छ । नारीहरूले आफ्नो मनको इच्छा सुनियोस् भनेर यो चाड मनाउँछन् ।
परिवार-पुरुषको शासनमा दबिँदाको आवाज यो दिन उन्मुक्त भएर सुनाइन्छ । सुन्नुपर्छ । सुन्नु, महसुस गर्नु राम्रो पाटो हो । चाडबाडसँगै व्रत, नाचगान, खानपान पनि जोडिएर आउँछ ।
कहिलेकाहीँको व्रतले त स्वास्थ्यलाई पनि राम्रै गर्छ । तर, यो स्वतःस्फूर्त भएको राम्रो हुन्छ । आफ्नो स्वास्थ्यलाई असर नपार्ने गरी व्रत बस्नु ठीकै पनि हुन्छ । तर, यसमा पतिको दीर्घायुको कामनालाई सत्य जसरी जोड्ने प्रचलनमाथि भने प्रश्न गर्न सकिन्छ ।
तर, धर्म-संस्कृति व्यक्ति/समूह/सम्प्रदायका नितान्त निजी मामिला हुन् । यिनमा यस्तो र उस्तो भनेर टिप्पणी गर्नु पनि उचित हुँदैन । धर्ममा तँतँ र मम गर्नु त झनै मानवताको धर्म छोड्नु हो । सहअस्तित्व, न्याय, करुणा, सेवा नै धर्मका मूल धर्म हुन् ।
कुनै पनि संस्कृति परिवर्तनशील हुन्छ । हिजो जसरी गाइन्छ/नाचिन्छ, आज त्यसरी नै गाइनु/नाचिनुपर्छ भन्ने छैन । किनकि हिजो पनि अस्तिअनुसार छैन । र, आज पनि भोलिअनुसार हुँदैन ।
हिजो जसरी गाइन्छ/नाचिन्छ, आज त्यसरी नै गाइनु/नाचिनुपर्छ भन्ने छैन । किनकि हिजो पनि अस्तिअनुसार छैन । र, आज पनि भोलिअनुसार हुँदैन ।
महिनौं दर खाने चलनबाट कोही आत्तिन जरुरी छैन । हुनेले महिनौं खाँदा पार्टी प्यालेसहरूकै व्यापार बढ्छ अनि पार्टी प्यालेसमा रोजगारीको अवसर सिर्जना हुन्छ । त्यहाँ काम गर्नेका घरमा पनि आय भित्रिन्छ । उनीहरूको परिवारमा, सन्तानहरूमा पनि केही खुसीयाली छिर्छ । अर्थतन्त्र पनि यसरी नै चलायमान हुन्छ ।
तर, आफूले खाएको, लाएको धेरै प्रदर्शन गर्ने चलन भने राम्रो होइन । यसले अभावमा रहेका वर्गलाई थप पीडा दिन्छ । धेरै कमाउन अनावश्यक दबाब बढ्छ । गहनापातको भड्किलो प्रदर्शन पनि आडम्बर हो । स्वतन्त्रताको चाडमा आफ्नो शरीरलाई कपाल, नाक, कान, घाँटी, नाडी सबतिर कस्नु स्वतन्त्रता होइन । धेरैका लागि यो बन्धन हो । तर, समाजमा आफू एक्लै पर्ने मनोवैज्ञानिक त्रासले गर्दा यो चलन कम हुन सकेको छैन । तर, कसैलाई गहना मेरो निजी कुरा हो भन्ने लाग्छ भने यसमा अवरोध पुर्याउनु पनि स्वतन्त्रता विरोधी कर्म हुन्छ ।
यहाँ जो जसरी पनि नाच्न स्वतन्त्र छ । चाडबाडमा यसरी नै नाच्नुपर्छ भन्नेहरुले सयौँ वर्षदेखि बदलिँदै आएको सामाजिक बहाव नबुझेका हुन सक्छन् । नाचको नापजोख अरुले गर्नु आवश्यक छैन । उमेर पुगेका हर व्यक्तिलाई आफ्ना यस्ता कर्मको प्रदर्शन र मूल्यांकन गर्न स्वतन्त्र छोडिदिनुपर्छ ।
खाने, पिउने, नाच्ने, गाउने भन्ने कुरा यसरी हेर्दा प्राइभेट पनि र उसरी हेर्दा पलिटिकल पनि हुन् । नाचगान सेल्फ सेन्सरसिप हुँदै परिष्कृत हुने कुरा हो । कसैले नराम्रो गीत गाउँछ भने उसलाई नसुन्ने, बेवास्ता गर्ने । बिस्तारै ऊ आफैँ लजाउन सक्छ । उसलाई आफ्नो मालिक/गुरु आफैँ बन्न दिनुपर्छ । महसुसबाट आउने परिवर्तन सबैभन्दा दिगो र प्रभावकारी हुन्छ ।
चाडबाडलाई व्यापारिक प्रतिष्ठानहरूले रक्सीको व्यापार बढाउने समय ठान्नु राम्रो होइन । दर खाने कार्यक्रम निःसहाय, निम्न वर्गसँगै गर्नु पनि राम्रो हुन्छ । तर, अनाथालय/वृद्धाश्रमतिर पनि जबर्जस्ती जानु हुँदैन । भड्किलो बनेर जाने, फोटो/भिडिओ जथाभावी खिच्ने गर्नुहुँदैन । यसले उनीहरूमा नराम्रो छाप पनि पर्न सक्छ ।
दाजुभाइहरू रमाइलोमा हप्तौँ फुलटाइम झुम्दा दिदीबहिनीहरू चुपचाप बेतलबी कामदार बन्ने । अनि दिदीबहिनीहरु एक-दुई दिन पार्टटाइम रमाइलो गर्दा दाजुभाइहरु प्वाक्कप्वाक्क उपदेश दिन आइहाल्ने, किन हो ? सबै चाडमा घरका सबैले रमाउने वातावरण बनाऔँ, यसमै छ रमाइलो ।
सबै खालका चाडबाड मनाउने सबैलाई सबै खालका संस्कृतिको शुभकामना छ । चाडबाडले धनी र गरिबको खाडल नबढाओस् । धेरै पैसा कमाउनुपर्ने दबाब नथपोस् । स्वास्थ्य नबिगारोस् । बस् !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया