सम्पादकीय
जलवायु परिवर्तन र पाकिस्तानको पीडा
आर्थिक संकटबाट गुज्रिरहेको छिमेकी देश पाकिस्तानमा जलवायु परिवर्तनका कारण आएको बाढीले चरम मानवीय विपत्ति उजागर गरेको छ । विकसित देशहरुले खपत गरेको पेट्रोलियम र कोइलाको नराम्रो असर भने नेपाल, पाकिस्तान जस्ता अविकसित मुलुकले भोग्नुपरेको छ । पृथ्वीको वायुमण्डलमा अत्यधिक कार्बन उत्सर्जन भई त्यसले पृथ्वीको तापमान नै वृद्धि गरिदिएपछि जलवायु परिवर्तनका संकटहरु सामुन्ने आउन थालेका हुन् । नेपाल पनि जलवायु संकटको उच्च जोखिममा छ । गत वर्ष मेलम्चीमा आएको बाढी त्यसैको एउटा सानो नमूना मात्र हो ।
राजनीतिक अस्थिरताबीच पाकिस्तानमा आर्थिक संकट पनि उत्तिकै छ । लगभग एक महिनाको मात्र आयात धान्न सक्ने वैदेशिक मुद्राको सञ्चिती छ । त्यसमाथि यो बाढीले १० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति पु¥याएको पाकिस्तानी अधिकारीहरुले बताउँदै आएका छन् । एक तिहाई पाकिस्तानी भूमि बाढीको चपेटमा छ । तीस वर्षयताकै सबैभन्दा ठूलो र घातक बाढीबाट करिब साढे तीन करोड पाकिस्तानी नागरिक प्रभावित भएका छन् ।
सबैभन्दा बढी सिन्ध प्रान्तलाई बाढीले नराम्रोसँग चपेटामा पारेको छ । त्यहाँ एक करोड ४५ लाख नागरिक विचल्ली अवस्थामा छन् । एक हजारभन्दा बढी नागरिकले बाढीकै कारण ज्यान गुमाइसकेका छन् । सात लाख घर क्षति भएको । एक सय ५० भन्दा बढी पुल भत्किएका छन् । पाकिस्तानले राष्ट्रिय संकट घोषणा गरेको छ । बाढी र पहिरोले भण्डार गरी राखिएका अनाज नष्ट भएका छन् । चरम खाद्य संकट उत्पन्न भएको छ ।
यो मानवसिर्जित ‘दैवी विपत्ति’ हो । कोभिड १९ को पहिलो र दोस्रो लहरमा भारतको नयाँ दिल्लीबाट हिमाल देखिन्थ्यो । नयाँ दिल्लीको ढोका देखिँदैन । अत्यधिक कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान वृद्धिका कारण बाढी, पहिरो, तुफान, खडेरी, तातो हावा लगायतका असर पृथ्वीमा देखापरेका छन् । यूरोपको ४६ प्रतिशत भूभागमा अत्यधिक ताप बढ्दा नदी र तलाउ सुकिसकेका छन् । हिमालय क्षेत्रका हिउँ पग्लेर काला पहाड मात्र देखिन थालेका छन् ।
सन् २०१५ मा भएको पेरिस सम्मेलनमा पृथ्वीमा भइरहेको तापमान वृद्धि पूर्व औद्योगिक कालदेखि १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने लक्ष्य थियो । जबकि वैश्विक तापमानमा भइरहेको वृद्धि १.२ डिग्री सेल्सियसको सीमा कटिसकेको छ । सन् २०२१ को रेकर्डअनुसार वैश्विक तापमान वृद्धिदर ०.८४ डिग्री सेल्सियस छ । संयुक्त राष्ट्रसंघले सन् २०२० मा प्रकाशित गरेको ‘एमिसन ग्याप रिपोर्ट’ का अनुसार हालको तापमानमा भइरहेको वृद्धि यही तवरले नरोकिने हो भने शताब्दीको अन्त्यसम्म ३.२ डिग्री सेल्सियसभन्दा बढी हुनेछ ।
सन् १९३० को दशकको अन्तिमसम्म पृथ्वीको तापक्रम वृद्धि ऋणात्मक थियो । यो अवस्था उत्पन्न हुनुमा विश्वभर जीवाष्मा इन्धनको खपतले नेटो काट्नु हो । आगामी सन् २०५० सम्म पृथ्वीको तापमान १.५ डिग्री सेल्सियसभन्दा कम राख्नका लागि ५८ प्रतिशत तेल, ५९ प्रतिशत मिथेन र ८९ प्रतिशत कोइलाको भण्डार यस धर्तीबाट झिक्नु हुँदैन । के यो सम्भव होला ? अहिलेको वैश्विक अहम् प्रश्न नै यही हो । छिमेकी भारतले सन् २०७५ (अबको ५३ वर्षपछि) पछि ‘नेट जिरो इमिसन’ (शून्य कार्बन उत्सर्जन) को लक्ष्य लिएको छ । विगतमा क्षति न्यूनीकरण र अनुकूलन नै जलवायु परिवर्तनको प्रतिकार गर्ने रणनीति थियो । अब त अनुकूलन र न्यूनीकरणले नथेग्ने भइसकेको छ । जलवायु परिवर्तनको असर ‘लस एण्ड ड्यामेज’ (हानि नोक्सानी) मा रुपान्तरित भइसकेको छ ।
सबाल पाकिस्तानको बाढी मात्र होइन, यो वैश्विक समस्या हो । यसको असर धनी, गरिब सबै देशमा परेको छ । फरक यत्ति छ कि धनी देशले गरेको कर्मको सजायँ हामीजस्ता गरिब देशले भोगिरहेका छौं । यसलाई सामाना गर्नुको विकल्प तत्काललाई छैन, किनभने विश्वमा जिवाष्मा इन्धनको खपत तत्काल हट्नेवाला छैन । कोप २६ मा गरिएका वाचालाई सबैले इमानदारिताका साथ पालना गर्ने र आगामी कोप २७ मा उभिएर भाषण गर्दा यसो यसो (कार्बन उत्सर्जन कटौतीका सन्दर्भमा) गरियो भनेर भन्न सकियो भने पनि त्यो सकारात्मक हुनेछ ।
विपत परेको छ छिमेकी पाकिस्तानलाई । यस्तो अवस्थामा राजनीतिक वा सामरिक दृष्टिले मात्र नहेरी मानवीय दृष्टिले पाकिस्तानलाई सहयोग गर्नु छिमेकी मुलुकहरुको दायित्व हो । सहयोगका कुरा उठी पनि रहेको छ । नेपाल र नेपाली जनताले पनि पाकिस्तानी जनतालाई साथ र सहयोग गर्नुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया