सम्पादकीय

सम्पादकीय

नयाँ सालमा राजनीतिक पोखरी संग्‍लियोस्

इकागज |
बैशाख १, २०७८ बुधवार १०:८ बजे

नव वर्ष २०७८ को पहिलो घामको पाइला नेपाली धर्तीमा परेको छ । हामी नयाँ वर्ष २०७८ को स्वागत गर्दै आफ्ना पाठक, शुभेच्छुक, विज्ञापनदातामा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौँ । २०७७ साल नेपाल र नेपालीका लागि त्यति फलदायी रहेन । हामी अपेक्षा गरौं, अबको वर्षमा हाम्रा नेता, राज्यसञ्चालक, राजनीतिक दलहरुको चेत खुलोस् र मुलुकमा साँच्चिकै समृद्धि हासिल होस् । यो नयाँ वर्षमा अघिल्ला वर्षका दुष्कर प्रवृत्ति नदोहोरिउन् ।

अघिल्लो वर्षको पाठ सिक्दै मुलुक र नागरिकका लागि देखिने र सुनिने हिसाबले विकासको गति लिनु परम आवश्यक छ । कोभिड-१९ को महामारीबीच सुरु भएको अघिल्लो र यसपालाको नयाँ वर्षमा त्यसबाट मुक्ति मिलेको छैन । कोभिड-१९ ले अर्थतन्त्र र न्यूनतम जीवन शैलीलाई थाङथिलो तुल्याइदिएको छ । औषधि उपचार नपाएर कयौं नागरिकले मृत्युवरण गर्नुपर्‍यो । साँझ-बिहानको गुजारा चलाउन नसकेर धेरै नेपालीले आत्महत्या गरे । कीर्तिपुरमा एकजना नेपाली भारी बोक्दा बोक्दै मृत्युको मुखमा पुग्‍न विवश भए । कयौँ नेपाली आम्दानी नभएर सडकमा सुत्‍नुपर्‍यो । सहृदय नेपाली दाजुभाइले चन्दा उठाएर टुँडिखेलमा भात खुवाउँदा सरकारले आफ्नो बेइज्जत भएको महसूस गर्‍यो । 


एकातिर कोभिडको कहर, अर्कोतिर लकडाउन । हजारौं नेपालीहरु पैदलै आफ्नो थाँतथलो जान विवश भए । सरकारले खरिद गरेको स्वास्थ्य सामग्री तथा उपकरणमा व्यापक भ्रष्टाचारका प्रकरण आए । दुर्भाग्यतः वर्षभर तिनीहरुमाथि कारबाही भएन । भ्रष्टाचारमा संलग्‍न व्यापारी, मन्त्री र कर्मचारीलाई सुनपानी छर्केर सरकारले चोख्यो तुल्यायो ।

सयौं विद्यालयले लकडाउनका बेला पनि विद्यार्थीबाट पैसा असुल्न छाडेनन् । एकातिर विद्यार्थीबाट पैसा असुल्ने, अर्कोतिर आम्दानी नभएको देखाएर शिक्षक-शिक्षिक र कर्मचारीलाई तलबै नदिने या दिए पनि एक चौथाईसम्म दिइएको पाइयो ।

सार्वभौमसत्ता सम्पन्‍न नेपाली नागरिकले चुनेर पठाएको प्रतिनिधि सभा भंग गरी ओलीले आफ्नो निरंकुश, सर्वसत्तावादी अहमता प्रदर्शन गरे, बितेको वर्ष । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै शक्तिशाली पार्टी नेकपालाई क्षतविक्षत तुल्याए ।

नेपालको राजनीतिमा टुटफुट र बिग्रह अस्थिरताको प्रमुख कारण हो । स्थिरता हुँदासमेत विकास निर्माण र प्रवाह गर्न ओली सरकारले सकेन भने अस्थिरतमा विकासको कल्पना सम्भव छैन । तर ओली र उनको प्रवृत्ति भएका नेताहरुले के बुझ्नुपर्छ भने सबैभन्दा ठूलो यो धर्तीमा कोही छन् भने ती नागरिक हुन् ।

नेकपाबाट एमाले बनाइएको पार्टीलाई पनि गुट, उपगुट बनाएर छिन्‍नभिन्‍न बनाए । अर्काको दलसमेत फुटाउने कुत्सित उद्देश्यले अध्यादेश ल्याए । जस्तोसुकै अध्यादेश ल्याए पनि तत्कालै सदर गरिदिने राष्ट्रपतिका यावत् काम कारबाही र कर्म विवादास्पद बने । राष्ट्रपतिजस्तो संस्था दलभित्रको पनि एउटा कोटरीको ‘औठा-छाप’ बन्‍नु मुलुककै लागि दुर्भाग्यपूर्ण बन्यो ।

चुनावी घोषणापत्र अनुसार प्रधानमन्त्री ओलीले काम गर्न नसक्दा उनको दलभित्र विरोध हुनु वा आलोचना हुनु स्वाभाविक थियो । किनभने ओली प्रत्यक्ष निर्वाचित कार्यकारी होइनन् । ओलीजस्तै माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहालहरुको संयुक्त व्यक्तित्व, जनताप्रति गरेका वाचा, प्रतिबद्धता र कम्युनिष्ट एकतालाई हेरेर जनताले झन्डै दुई-तिहाईको मत दिएका थिए । तर ओलीले त्यो सम्मानित मतलाई अपमानित गरे ।

नाम मात्रको प्रतिपक्षी रहेको अवस्थामा आफ्नै दलबाट ओलीलाई सच्चिन अनेक प्रयास गर्दा पनि केही सिप लागेन । आफ्नै दलका नेताहरुबाट ओलीले जोखिम देखे । आफ्नो क्षणिक सत्ता स्वार्थका लागि ओलीले प्रतिनिधिसभा विघटन गरी जनताप्रति ठूलो धोका दिए । सर्वोच्च अदालतद्वारा पुनःस्थापित प्रतिनिधि सभालाई पंगु बनाउन ‘बिजनेस’ नदिने खेल निरन्तर छ । यो अर्को राजनीतिक बेइमानी हो । यसरी सर्वसत्तावादी सोच, चिन्तन, व्यवहार गरेका ओलीले आफ्नै साथी, नेताहरुको अपमान गर्ने ओलीले जनताको पनि अपमान गरिरहे । 

नेपालको राजनीतिमा टुटफुट र बिग्रह अस्थिरताको प्रमुख कारण हो । स्थिरता हुँदासमेत विकास निर्माण र प्रवाह गर्न ओली सरकारले सकेन भने अस्थिरतमा विकासको कल्पना सम्भव छैन । तर ओली र उनको प्रवृत्ति भएका नेताहरुले के बुझ्नुपर्छ भने सबैभन्दा ठूलो यो धर्तीमा कोही छन् भने ती नागरिक हुन् । जनताले यी नेताहरुलाई चिनिसकेका छन् । अब पनि नेताहरु चेतेनन् भने दम्भ र अहंकारले सर्वसत्तावादी सोच राखिरहे भने आगामी निर्वाचनमा जनताले यिनलाई दण्ड दिने नै छन् । नयाँ वर्ष २०७८ मा नव शैली, नयाँ सोच र एकताका साथ सबै दलहरु अघि बढेर नागरिकको महान् कार्य सिद्ध गर्ने बुद्धि पलाओस् यही कामना छ ।


Author

थप समाचार
x