सम्पादकीय

सम्पादकीय

बिचरा चरा : के खाने ? कहाँ बस्ने ?

इकागज |
भदौ १७, २०७९ शुक्रबार १८:११ बजे

सहरमा रुख कम हुँदै छन् । रुख कम हुँदा गुँड बनाउने ठाउँ छैन । गुँड बनाउन चाहिने पातपतिंगर, काठ, पराल, घाँसपात पनि छैन । बिचरा चराहरू चकलेटका खोल, सिसा, फलाम जस्ता सामान समेटेर गुँड बनाउन बाध्य छन् । जनावरको जिन्दगी बोरिङ छ । घरबारविहीन सुकुमबासी छन्, चराहरू । न खाने कुुरा छ, न बस्ने ठाउँ छ ।

बिचरा चराहरूलाई खाने कुरा पनि छैन यहाँ । खोलामा माछा, किरा, फट्यांग्रा छैनन् । खोला वरिपरि सिमेन्टेड पर्खाल उभ्याइँदा त्यहाँ दबदबे हिलो माटो छैन । चराहरू आफ्नो डुँडमा खोला किनारको खानकी निकालेर खान्थे । 


घरघरमा छतमा पानी राखिदिने, खानेकुरा राखिदिने चलन पनि छैन । बाटोघाटोमा पानी राखिदिने, खानेकुरा राखिदिने चलन पनि छैन । पानी राख्दा लामखुट्टे बाँच्छ, डेंगु लाग्छ भन्ने अर्काे समस्या पनि छँदै छ । घर वरिपरि पानी जम्न दिनु हुँदैन भन्ने पनि छँदै छ । बस्ती छेउमा पानी जम्न नदिए पनि अलि टाढा पोखरी पनि छैनन् । 
बिचरा चराहरू रातभरि खुला बिजुलीको तारमा बस्न बाध्य छन् । अचेलका घरमा खोपा छैनन् । कंक्रिटको घरमा गौँथली र अरु चरा बस्दैनन् । 

हामी मानिस जंक फुड खान्छौँ अनि पोखरीका माछालाई पनि त्यही खुवाइरहेका छौँ । लकडाउनको बेला मन्दिरहरू खुलेनन् । परेवाहरू भोकै परे । बाँदरहरू भोकै परे । अहिले तीजमा पनि पशुपतिनाथमा पहिलाभन्दा धेरै कम दर्शनार्थी गएको देखिन्छ । परेवा, बाँदर, गाई, बहर, कुकुर, बिरोलोहरूलाई खाने कुरा दिने चलन कम छ । भोकभोकै बसेका छन्, चरादेखि जनावरसम्म । मानिस पनि भोकै छन्, जनावरको के कुरा भन्ने पनि लाग्ला । तर, खेर जाने खानेकुराको राम्रो व्यवस्थापन हुने हो भने पनि चरा–जनावर भाकै बस्नुपर्दैनथ्यो । 

लकडाउनमा मासु पसलहरू बन्द भए । कुकुरहरू मानिसलाई झम्टिनेसम्म गर्न थालेका थिए, त्यतिबेला । बाटोका कुकुरका लागि अहिले पनि खानकी पर्याप्त छैन । 
धन्न, फोहोर जथाभावी फाल्ने, थुपार्ने हाम्रो बानीले तिनले केही खान पाएका हुन सक्छन् । तर, घरबाट निस्किएको गल्ने फाहोर भात, तरकारीहरू पोलिथिनमा बन्द हुँदा चराहरू त्यो खानबाट पनि वञ्चित छन् । 

धेरै खाले चराचुरुंगी त लोप भइसकेका छन् । मालिगाउँमा चितुवा भनेर कवि बैरागी काइँलाले कविता लेखेका छन् । यसले वन्यजन्तुको संकटपूर्ण तनाव झल्काउँछ । 
चराचुरुंगीको प्रजनन अधिकार नै खोसिएको छ । ती दिन प्रतिदिन मासिँदै गएका छन् । ससाना नानीहरूलाई घरपालुवा जनावर देखाउन पनि चिडियाखाना नै लानुपर्ने बाध्यता छन । जताततै पाइने भँगेरा यहाँ देख्न गाह्रो छ । गाउँघरतिर प्रशस्त पाइने ढुकुर अचेल देख्न पनि पाइँदैन । 

गुँड बनाउने ठाउँ छैन । गुँड बनाउने सामान छैन । बस्ने खोपा छैनन् । खाने पानी र अन्न छैन । दबदबे माटो छैन । बिचरा चरा रातभरि खुला बिजुलीको नांगो तारमा बस्न बाध्य छन् । 

चरा बन्न पाए, चरा जसरी स्वतन्त्र उड्न पाए भन्छन् कविहरू । एकपटक सहरमा चरा बनी हेर्नुस्, उत्तिखेरै मान्छे बन्नुहुनेछ । 

गडौँलाहरू छैनन् । बर्खा भर्खर सकियो । भ्यागुुताको ट्यारट्यार आवाज खै कसले सुन्यो यहाँ ? भूपी शेरचनले लेखेको ‘हामी’ कविताको भ्यागुताको आवाज नयाँ पुस्तालाई कसरी सुनाउने ? खगेन्द्र संग्रौलाले लेखेको ‘जूनकीरीको संगीत’ कसरी सुनाउने ? जूनकीरी कसरी चिनाउने ? चौबीसे घण्टा बाक्लो उज्यालो हुने हुँदा सहरमा रातमा तारा नै देखिँदैन । अगमसिंह गिरी र अम्बर गुरुङका ‘नौ लाखे तारा’ नयाँ पुस्तालाई कहाँ देखाउने ? 

इकागज कार्यालय छेउबाटै बागमती बगेको छ । तर, जतिखेरै त्यसको हरकले नाकमुख थुन्नुपर्ने अवस्था छ । त्यो पानी ‘शुद्ध’ यति छ कि त्यहाँ कुनै जीवजन्तुको जीवित अस्तित्व छैन । यसरी विष बगेको छ, नदीहरूमा । सहरका मतीहरू बागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीहरूमा अविरल बग्दछ, विष । 

बाटोघाटोमा कुकरहरूले पानी खान पाएका छैनन् । कतैकतै केमिकल मिसिएको पानी पानी मात्र पाइरहेका छन् । 

पृथ्वीका हर प्राणीको अस्तित्वको अर्थ छ । यो इको सिस्टममा मान्छे मात्र निर्विकल्प होइन । सांस्कृतिक विविधतासँगै जैविक विविधता पनि उत्तिकै महत्वपूर्ण छ । पृथ्वी सबै प्राणीको साझा घर हो । मान्छेले मात्र प्रयोग, खासमा त दुरूपयोग गर्ने गरी यो पृथ्वी रचना भएको हैन । 

पुराना दल त पुराना भइहाले । नयाँ राजनीति गर्न चाहने युवाहरूले पर्यावरणको महत्व बझ्नुपर्छ । सबै पशुपक्षीलाई बाँच्न दिनुपर्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय पशुपक्षी काट्न हो कि जोगाउन ? बचाउन ? 

नेताहरूले राजा पृथ्वी बोक्नुभन्दा साझा पृथ्वी बोक्नु आवश्यक छ । पृथ्वीनारायण शाहको रक्षा इतिहासले गर्छ, पृथ्वीको रक्षा वर्तमान र भविष्यले गर्नैपर्छ ।  
पृथ्वीवाद, प्राणीवाद, पर्यावरणवाद आजको आवश्यकता हो । पृथ्वीका चार वर्ण, छत्तीस हजार थरी सम्पूर्ण प्राणी/चराको रक्षा गरौँ । 


Author

थप समाचार
x