सम्पादकीय
‘शीर्ष’लाई ठाउँका ठाउँ रोकौँ
नेताहरूले देश बर्बादै पारे । नेताहरूले देश लुटे । नेताहरू भ्रष्ट भए । नेताहरू लोभी–पापी भए । नेताहरू चोर भए । राजनीति फोहोरी खेल मात्र भयो । नेपाल कहिल्यै बन्दैन । नेपाल श्रीलंका बन्छ । नेपाल असफल राज्य भइसक्यो । नेपाल अब टाट पल्टिसक्यो । यी दल र नेताहरूबाट देश बन्नेछ भने मेरो मुखमा पिसाव फेरिदिनू । यी नेताहरूलाई अब ठाउँको ठाउँ रोक्नैपर्छ ।
जताततै सुनिने १२ प्रतिनिधि वाक्य यिनै हुन् ।
यी भनाइमा अलिकति अतिरञ्जना पनि होला । तर, यथार्थ यही हो— यी दलहरू फोहोरी हिलोको दलदलमा छन् । ४०÷५० वर्ष शासनमा बसेर, असफलताको कीर्तिमान कायम गरेका ‘साहु’हरूको कब्जामा छन्, दलहरू । ‘शीर्ष’हरूको आश र त्रासमा रहेका दास कार्यकर्ता–नेताहरूले आफ्नो नेताको विकल्प खोजेनन् । यी ‘शीर्ष’हरूले जिते भने यिनै भूतपूर्व प्रधानमन्त्रीहरू वर्तमान हुने पक्कापक्की छ । र, यो सबैभन्दा पीडादायी क्षण हुनेछ— नेपाल र नेपालीका लागि ।
राजनीति देशको मूल नीति हो । यसले धेरै मात्र हैन, सबै नै पक्ष निर्देश गर्छ । त्यसैले सबैभन्दा पहिला राजनीति अर्थात् दल अर्थात् निर्वाचन अर्थात् शासन अर्थात् मतदाता सुध्रिन जरुरी छ ।
अलिकति गहिराइसम्म पुगेर प्रश्न गर्दा भन्न सकिन्छ– राजनीति बिग्रियो, नेता बिग्रियो भन्नु कारण हो कि परिणाम ? शरीरमा होस् या देशमा, आउने हर खराबीका केही निश्चित कारण हुन्छन् ।
बिरामी भइयो, बिरामी भइयो भनेर रोइकराई गर्नु गलत त होइन । तर, बिरामी पर्नुका मूल कारण, मूल जरोसम्म नपुगी सधैँ भड्किनु बौद्धिकताको बेइज्जती हो । रोगका लक्षणको बयान गर्नु, परिणामको प्रदर्शन गर्नु मात्र राजनीतिशास्त्री पण्डितहरूको काम होइन । देश बिरामी परिरहनुका कारणमा अनुसन्धान गर्ने अनि कारकहरूको जरो उखेल्ने । शरीरमा अर्काे रोग थपिएला भन्ने डरले पुरानै रोग पालेर बस्ने पनि त होइन ।
लोकतन्त्रमा, यो व्यवस्थामा, यो देशको संविधानमा नागरिक सर्वशक्तिमान छन् । तर, यस्तो देखिन्छ— सबैभन्दा निरीह उही ‘सर्वशक्तिमान वर्ग’ छ ।
प्रत्येक नागरिकले आफ्नो शक्ति बुझ्न जरुरी छ । हर नागरिकको विवेक नै राजनीतिमा प्रतिविम्बित हुने हो । नागरिक नै लोभी र स्वार्थी भइदिँदा नेता पनि त्यस्तै चुनिन्छ, अनि हामीलाई ज्वरो आउँछ । देशलाई बिरामी बनाउने तत्व खराब भनेर चिन्दाचिन्दै हामी मत दिन्छौँ कि दिँदैनौँ ? मूल प्रश्न यही हो ।
खराब भनेर कसरी चिन्ने त ? साथी चिन्ने आपत्मा हो भनेझैँ खराब–असल शासक चिन्ने एउटा उपाय कुर्सीमा पुगेपछि उसले कस्तो काम गर्यो ? आफूले गरेका वाचा भुल्यो कि भुलेन ? काम गर्नलाई अवसर पाउँदा उसले खराबै खराब गर्यो कि झुक्किएरै सही, एउटा मात्रै राम्रो काम गर्यो ? सडेगलेको फोहोर खाएपछि बिरामी परियो भनेर रोइकराई गर्नुको कुनै अर्थ छ र ?
सक्षम, योग्य र इमानदार पात्र निर्वाचित होऊन् । लोकतन्त्र नमान्ने, शक्ति आफू मात्र राख्न चाहने निरंकुश पात्रहरू हारुन् । वृद्धवाद पराजित होस् । अलोकतान्त्रिक नयाँ जोगीहरू पनि पराजित होऊन्
सडेगलेका सारा उम्मेदवारहरू आफ्नो गुणगानमा उत्रिसकेका छन् । तर ती गुणगानमा मतदाताहरूले शुभकामना भन्दा प्रश्न गर्नुपर्ने हो । नेताहरूको शक्ति प्रदर्शनमा प्रश्न प्रदर्शन गर्नुपर्ने थियो तर गर्यौँ के, भक्ति । नेताजीहरूबाट जवाफ नमाग्ने, उनीहरूबाट खालि आश्वासन र भाषण सुन्ने र यिनैमा ताली बजाउने नागरिक हुँदासम्म हाम्रो रोग निको हुँदैन ।
देशको रोगको उपचार नागरिकसँगै छ । लोकतान्त्रिक व्यवस्थामा नागरिक जति शक्तिशाली कोही र केही छैन । अनि यति शक्तिशाली नागरिक सधैँ निरीह भएर बस्दा नै अक्षमहरूबाट सात सात चोटि शाषित हुन अभिशप्त छौँ । संविधान र संसद् खानेहरुलाई फेरि किन सांसद बनाउने ? मतदाताले आफैँले आफूलाई सोध्नुपर्ने प्रश्न हो यो ।
नागरिकको कर खाने व्यक्ति र संस्था सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ भनेर मिडिया प्रायः सत्ताको आलोचक हुनुपर्छ र हुन्छ । पत्रकारका प्रश्नको जवाफ नदिने तर पत्रकारलाई दलाल भन्ने नेताको भाषणमा ताली पिट्छौँ कि जवाफ देऊ भन्छौँ ? राज्यका सबै अंग आफैँ मात्र चलाउन खोज्ने तानाशाहलाई लोकतन्त्रमा शक्ति केन्द्रीकृत होइन, पृथकीकृत हुनुपर्छ भन्छौँ कि भन्दैनौँ ? तपाईं हाम्रो करबाट तलब खाने कोही जागिरे कुनै दल विशेषको सदस्य छ, दलको, गुटको चाकडी गर्छ भने मैले तिमीलाई किन पाल्ने भन्छौँ कि भन्दैनौँ ?
सत्तामा हुँदा सिन्को पनि नभाँच्ने, सत्ताबाहिर हुँदा चाहिँ ठूल्ठूला कुरा गर्ने नेताहरूलाई ऐना देखाउँछौँ कि देखाउन्नौँ ? ५०/६० वर्षदेखि राजनीतिलाई पेवा बनाएका, पटकपटक मन्त्री, प्रधानमन्त्री भएका स्खलित नेताहरूलाई बाईबाई भन्छौँ कि अझै हाईहाई गर्छौँ ?
लोभी–स्वार्थी पार्टी÷नेतालाई सधैँ सत्तामा चढाउने पनि नागरिक । अनि देश बर्बादै भयो भनेर रुवाबासी गर्ने पनि नागरिक । उम्मेदवार नै सबै खराबै खराबै छन्, कसलाई भोट हाल्ने त ? हो, यो समस्या छ । खराबमध्येको कम खराब पात्र छान्नुपर्ने बाध्यात्मक विकल्प अपनाउने ।
देश आर्थिक रूपमा तन्नम छ । सामाजिक रूपमा विभेदकारी छ । राजनीतिक रूपमा दोहनकारी ठगबन्धनमा छ । प्रशासनिक रूपमा कुशासक बनेको छ । न्यायिक रूपमा बिचौलिया–बन्धक छ । बौद्धिक रूपमा टाट पल्टेको छ । राज्यका अंगहरू सतीदेवीको अंगपतन भएझैँ हरेक दिन झरिरहेछन् । र, तत्तत् ठाउँमा तीन नेत्र बाल्दै पैसातन्त्र उत्पत्ति भइरहेछ । कुनै पनि पार्टीको विचार र व्यवहारमा इत्ति पनि सामञ्जस्य छैन । विचारभन्दा माथि पद÷पार्टी छन् । राजकीय पदहरूमा नैतिक–आर्थिक–सामाजिक रूपमा पतितहरूको बाहुल्य छ ।
अब ३८ दिनपछिको परिदृश्य यस्तो कल्पना गरौँ, कल्पनालाई साकार पारौँ । पटकपटक अवसर पाएका तर असफल मात्र भएकाहरू निर्वाचनमा असफल होऊन् । सक्षम, योग्य र इमानदार पात्र निर्वाचित होऊन् । लोकतन्त्र नमान्ने, शक्ति आफू मात्र राख्न चाहने निरंकुश पात्रहरू हारुन् । वृद्धवाद पराजित होस् । अलोकतान्त्रिक नयाँ जोगीहरू पनि पराजित होऊन् । देश थप बिग्रन नदिने हो भने विश्लेषक विष्णु सापकोटादेखि संविधानविद् भीमार्जुन आचार्यले भनेझैँ यो पालि शीर्ष नेतालाई ठाउँको ठाउँ रोकौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया