सम्पादकीय

सम्पादकीय

युग पुरुषको महाप्रस्थान

इकागज |
असोज ३०, २०७९ आइतबार १७:५८ बजे

सक्रिय संस्कृतिविद् सत्यमोहन जोशी एक सय तीन वर्ष बाँचेर भौतिक रुपमा बिदा भएका छन् । इतिहास, भाषा, मुद्रा, संस्कृति, कला, पुरातत्व, साहित्य, रंगमञ्च आदि अनेक विषयमा विशिष्ट योगदान दिएर जोशी बिदा भएका छन् । 

पुरातत्व विभाग, प्रज्ञा–प्रतिष्ठान आदि संस्थामा रहेर उनले काम गरे । पचास वर्ष पहिले नै कर्नाली पुगेर टोलीको नेतृत्व गर्दै अनुसन्धान गरे । चीनमा पुगेर भाषा सिकाए । अरनिकोबारे खोज गरे । पुस्तक लेखे । मुद्रा र कलाबारे पुस्तक लेखे । 


२०६२/०६३ पछि पनि उनी सक्रिय रहे । हालको राष्ट्रगान चयन समिति यिनकै नेतृत्वमा थियो । मदन पुरस्कार तीनपटक पाउनेमा उनको नाम छ । आइतबार बिहान बित्नु एक दिनअघि पनि उनी बोल्ने तथा सम्मान थाप्ने कार्यक्रम थियो । यसबाट स्पष्ट हुन्छ, उनी सधैँ सक्रिय सर्जक थिए । अनि पुरस्कार÷सम्मान पनि जीवनभर पाएका पायै गरिरहे । 

सत्यमोहन सबै व्यवस्थामा फिट भए । नेपाल भाषा आन्दोलनको असहयोगीदेखि पछि समय बदलिएपछि सहयोगी मात्र हैन, यसकै नेतासमेत बने । 
उनले आफ्नो घरलाई लोकसाहित्य परिषद् बनाएका छन् । मुद्रा, कला संग्रहालय बनाएका छन् । आफ्नो जीवनकालमै प्रशस्त नाम कमाउने जोशी कर्मशील योद्धा हुन्, भाग्यमानी पनि हुन् । 

नाटककार जोशीको ‘सत्यमोहन’ नाटकमा पर्दा झरेको छ । तर दर्शकहरूले युग–युगसम्म युग पुरुषको लेखन र अभिनयको चर्चा गरिरहनेछन् । 

भाग्यमानी यसर्थ कि उनलाई ललितपुर महानगरले राम्रो सम्मान र स्याहार दियो । तेहेरो भत्ता पाउने दुर्लभ सर्जक पनि हुन्, जोशी । जीवित रहँदै हुलाक टिकट छापिने स्रष्टा पनि हुन् । उनका प्रतिमा त हामी नाटकघरहरूतिर देख्छौँ नै । उनको नाममा थुप्रै नाटकघरले मञ्च पनि बनाएका छन् । उनले आफ्नो घरमा आमाबासँगै आफ्नो पनि प्रतिमा बनाएका छन् । शताब्दी वाङ्मय पुरुषको उपमा पनि पाएका सत्यमोहन जोशी नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत हुन् । 

सत्यमोहनले बाँचुन्जेल धेरै सत्कर्म गरे । मरेपछि पनि आफ्नो शरीर चिकित्सा विद्यार्थीका लागि दिएर सत्कर्म गरे । 

सत्यमोहन जोशीको जीवन कुनै एउटै कुरामा अल्झेर बसेन । उनी विविधतामा फैलिए । उनका पाइलाका डोब गाढा छन् । उपमा छोडी भन्दा पनि उनका पाइलाका डोब गाढा छन् । किनकि उनी सय वर्ष पुगिसकेपछि पनि ठमठम हिँड्थे । 

असोज ३० आइतबार बिहानदेखि सत्यमोहन शरीरले गए । तर उनी सोच र सृजनाले बाँचिरहनेछन् । उनी निरन्तर सक्रिय रहे । बूढ्यौली लाग्यो भनेर चुप बसेनन् । उनले सिकेर काम गर्ने भन्दा पनि काम गर्दै सिक्दै गए । उनीबाट सक्रियताको पाठ सिक्न सकिन्छ । 

सत्यमोहनले नाटक पनि लेखेका छन् । मण्डला थियटरले उनको नाटक ‘सुनकेशरी’बाट मञ्चन यात्रा सुरु गरेको थियो । अब ‘सत्यमोहन’ नाटकमा पर्दा झरेको छ । तर दर्शकहरूले युग–युगसम्म युग पुरुषको अभिनयको चर्चा गरिरहनेछन् । 


Author

थप समाचार
x