सम्पादकीय
नाटकै हो, नौटंकी नै हो
आवधिक चुनावहरू नजिकिदै जाँदा नेता तथा उम्मेदवारहरूका नाटक र नौटंकी पनि साथै देखिन्छन् । मतदाताको मन जित्न उनीहरू जस्तोसुकै नाटक गरिदिन सक्छन् । हिजो पनि गरेकै हो । अब मौन अवधिसम्म यस्ता नाटकहरू मञ्चित भइरहन्छन् ।
यतिखेर धान बाली भित्र्याउने मौसम छ । उम्मेदवारहरू खेतका गह्रागह्रा पुग्छन् । केही दिनपछि धान काट्ने सिजन सकिएपछि खेत खन्ने क्रम सुरु हुन्छ- गहुँ लगाउन । अब नेता/उम्मेदवारहरू खेत खेतमा पनि पुग्छन् । कोही ट्याम्पो (अटो रिक्सा) चलाउँछन् । मर्सिडिज कारमा हिँड्ने औकात राख्ने नेताहरू जनताको मन जित्न मोटरसाइकल, रिक्सा, ठेलामा हिँडिरहेका छन् । नेताहरूका यी मञ्चित नाटकका श्रृंखला हेर्दा नेपाली जनता ‘स्मार्ट’ छैनन् भन्नेमा दुई मत नहोला ।
यिनका मतदाता ‘स्मार्ट’ भइदिएको भए यिनले धान काटेर, खेत खनेर, रिक्सा चढेर, गुइँठा पारेर आफ्नो मन जित्ने प्रयत्न गर्दैछन् भन्ने बुझ्थे होला । अझ भनौं, यिनले २०४८ सालदेखि गरेका सारा कुकर्म र कुकृत्यहरू नेपाली जनताले भोट खसाल्ने दिनमा बिर्सिदिन्छन् । त्यही भएर यस्ता नाटक र नौटंकी देखाउन उद्यत छन् ।
पटक-पटक असफल र देशलाई भड्खालोमा हाल्ने नेताहरू किन बारम्बार सत्तामा आइरहन्छन् ? आज सारा नेपाली मतदाताले बुझ्नुपर्ने प्रखर विषय हो । सुव्यवस्था दिन असफल भएपछि जनताको मतद्वारा दण्डित हुनुपर्ने राजनीतिक प्रणाली अपनाएका हामी यिनीहरूले कुव्यवस्था दिँदा पनि यिनैलाई जिताएर पठाउँछौं । पदमा रहुञ्जेल भ्रष्टाचारबाहेक केही नगर्ने, सुशासन त कहाँ हो कहाँ सेवा प्रवाहजस्तो सामान्य धर्म र कर्म पनि नगर्ने र गर्न नसक्नेहरूकै सत्तामा राइदाइ छ ।
विकास निर्माण, रोजगारी, शान्ति सुरक्षा र सुव्यवस्था कसले बढी दियो भन्ने लेखाजोखा आम मतदाताले गर्न सकेका छैनन् । दैनिक २ हजारको हाराहारीमा रोजगारीका लागि विदेशिँदा समेत नेताहरूलाई कुनै मतलब छैन । अनि मतदाताको भोट धुत्न ‘वैदेशिक रोजगारीमा फ्रि भिसा र फ्रि टिकट’ उपलब्ध गराइदिने नौटंकी प्रदर्शन गर्छन् । एक भोटका लागि पाउमै परेर साष्टांङ्ग दण्डवत् गरेको दृष्य पनि देखियो । अझ प्रधानमन्त्री पत्नी डडेल्धुरावासीका लागि बालुवाटार सदा ‘खुल जा सिम सिम’ हुन्छ भनेर अर्काे नौटंकी देखाउँछिन् भने उनको अनुकरण गर्ने त भइ नै हाले ।
घरमा चुल्हो बल्यो कि बलेन ? वृद्ध बाबुआमाको स्याहारसुसार गर्ने युवा छोराहरू नेपालमै छन् कि छैनन् ? बिरामी पर्दा औषधोमूलो गर्न सक्ने आर्थिक अवस्था छ कि छैन ? एउटा घरमा कम्तीमा एकजना रोजगार छ कि छैन ? गाउँ समाजमा बेथिति, अनियमितता छ कि छैन ? शान्ति सुरक्षा छ कि छैन ? धारामा पानी आउँछ कि आउँदैन ? खेतमा कुलो पुगेको छ कि छैन ? सरकारी निकायले गर्नुपर्ने सेवा प्रवाह भयो कि भएन ? यी र यस्ता आम मतदातासँग प्रत्यक्ष जोडिएका विषय हुन् । यस्ता विषयमा यी नेताहरूलाई कुनै चासो र मतलब छैन । आम जनजीविका र सरोकारका विषयमा मतदातासमक्ष यस्ता कुरा गरेको सुनिँदैन । फ्रि वाइफाई गरिदिने, कोटेश्वरको ट्राफिक जाम अन्त्य गरिदिनेजस्ता नौटंकी गर्छन् । अनि मतदाता यिनका भुलभुलैयामा लागेर यिनै असफल पात्रलाई जिताइदिन्छन् । त्यसकारण यसपालिको चुनावमा आम मतदाताको जागृत हुन जरुरी छ ।
फेरि यी दलहरूले उठाएका पात्रहरू कस्ता छन् सबैलाई जगजाहेरै छ । केही सम्भावना बोकेका युवाहरूले यसपालि टिकट पाएनन् । नेतृत्वको आलोचना गर्ने, क्षमतावानहरूले टिकट पाएनन् । समानुपातिकमा प्रधानमन्त्री पत्नी, मन्त्री पत्नी, सालासाली, भाइ भारदार, गर्लफ्रेण्ड, व्यापारीहरू सूचीकृत हुने । अनि सीमान्त वर्गको कोटामा यिनै धनाढ्य र गर्लफ्रेण्डहरू आउने ? यिनका चरित्र र क्रियाकलापले व्यवस्थामाथि नै वितृष्णा लाग्ने अवस्था आउन लागिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया