सम्पादकीय
देउवाको आपत्तिजनक र आपराधिक ‘कमेडी’
कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेको घटनाले नेपाली समाजको कस्तो चरित्र प्रदर्शन गर्छ ? बोलेकै आधारमा थुनिनुपर्ने यो राणाशासन, पञ्चायत वा संकटकालको समय पनि हैन । हजारौँ नेपाली सहिद बनेर, लाखौँले रगत-पसिना बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्र किन यति कमजोर र बदनाम पारिँदै छ, जहाँ लोकतन्त्रको न्यूनतम सर्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित छ ।
शासकहरूलाई झुट बोल्न, भ्रष्टाचार गर्न, कमिसन खान जति पटक पनि छुट छ तर बोल्न निषेध छ । उसो भए के नेपाल लोकतान्त्रिक नभई लुटतान्त्रिक देश हो ? के नेपाल जनगणतान्त्रिक हो, जहाँ फरक मत निषिद्ध छ ?
अपूर्व क्षितिजको कलाको बारेमा फरक मत हुन सक्छ । उनको कन्टेन्ट आपत्तिजनक छ । उनले एक समुदायको पहिचानलाई तथानाम भनेका छन् । उनको प्रस्तुतिमा हाँसूँ हाँसूँ लाग्ने कुनै कला छैन, रुँरुँ लाग्ने भद्दा सामग्री छ । यो सुनेर समुदाय विशेष आक्रोशित हुनु कुनै अनौठो कुरो हैन ।
अपूर्व क्षितिज मात्र होइन, हाम्रा धेरैजसो वरिष्ठ–कनिष्ठ कलाकारको कलामा कलाबाहेक सबथोक छ । वरिष्ठ भनिने कलाकारले पनि नेपाली समाजको ऐतिहासिकता, विविधता चिनेका छैनन् । उनीहरू शासकीय रवाफले हेपिएको समुदायलाई लाञ्छित गर्छन् । यसमा उनीहरूलाई जति आलोचना र प्रश्न गर्नुपर्ने हो, त्यो निकै नै कम छ । कलाको आलोचना कला अर्थात् लेख्नु÷बोल्नु नै हो । डन्डा उठाउनु वा थुन्नु राज्यको भद्दा कमेडी मात्र हो । राज्यले यस्तो आपराधिक ‘कमेडी’ गरिरहेको छ, जो नागरिकबाट स्वयं सजायको लायक छ । अपूर्वको कमेडी आलोच्य हो भने देउवा–खाँणको यो कमेडी आपराधिक ।
केही वर्ष यताको एसईईको रिजल्टले पनि देखाउँछ, सामाजिक विषय यहाँ सबैभन्दा गाह्रो विषय बनेको छ । मतलब, यो विषय यहाँ राम्ररी पढाइएको छैन । यो विषयमा जति फेल हुने विद्यार्थीहरू बढ्छन्, उति नेपालको शिक्षा प्रणाली फेल हुन्छ । शिक्षा मन्त्रालय र यसका हर्ताकर्ता फेल हुन्छन् । सामाजिक शिक्षामा इतिहास छ, समाज छ, संस्कृति छ, भाषा छ, भूगोल छ । तर, यही विषय राम्ररी नपढाइँदा अपूर्व जस्ता कलाकार झन् झन् बढ्नेछन् । नेपालसित राम्ररी परिचय नभएकाहरू हर क्षेत्रमा ठालु पल्टिने हुँदा देशका मूल र सहायक खाँबाहरु मक्किएका छन् ।
राज्यले कसैलाई थुन्ने हैन, सिकाउने हो । सिकाउनुअघि पहिला आफैँले सिक्ने हो । क्षमा दिने हो । अपूर्वलाई हैन, अपूर्वका शिक्षकहरूलाई प्रश्न गर्ने हो । उनका शिक्षकलाई पनि । अनि शिक्षक अर्थात् उनको विधाका वरिष्ठ भनिने कलाकारहरूलाई पनि ।
राज्यले आफैँलाई पहिला कारबाही गर्ने हो । यस्तो शिक्षा र संस्कारको सम्पूर्ण जवाफदेही राज्य हुनुपर्छ । राज्य अर्थात् इतिहासदेखिका टाउके शासक-प्रशासक ।
आरजु राणा छायाँ सरकार भए पनि यो सरकार राणा सरकार हैन । यो राणा सरकार हैन, जहाँ बोलेबापत १९९७ काण्ड रचियोस् । यो आफूलाई लोकतान्त्रिक दल भनाउने नेपाली कांग्रेसका मूली शेरबहादुर देउवा प्रधानमन्त्री र बालकृष्ण खाँण गृहमन्त्री भएको गठबन्धन सरकार हो । आफूलाई बहुलवादमा विश्वास गर्ने दल भनेर कांग्रेस कसरी भन्न सक्छ, जहाँ बोल्न पाइँदैन ? बोलेबापत पटकपटक थुनिनुपर्छ ।
कमरेड शेरबहादुर र पुष्पकमल दाइहरूको यो गठबन्धन सरकारले ‘कमेडी’मा महाकमेडियन केपी ओलीलाई पनि उछिनिरहेको छ । आफ्नो विधा कमेडीका एक पात्र थुनिँदा प्रमुख प्रतिपक्षी नेता कमेडियन ओली किन चुप ?
कलाकार बन्न चाहने नयाँ पुस्तालाई हतोत्साही गरिरहेको छ, राज्य । छोरीछोरीमा आफ्नो कुरा लाद्ने अभिभावकलाई निरंकुश बनाउन राज्य लागिपरेको छ । त्यसैले कम्युनिस्टहरूको संगतमा मिलेर राज्य चलाइरहेको कांग्रेस चुनावको मुखमा कम्युनिस्ट भन्दा पनि निरंकुश र कठोर बनेको छ । यो सर्वथा आपत्तिजनक छ ।
सरकार वा पुलिस प्रशासन नेवार समुदायको हातमा छैन तर आलोचना नेवार समुदायको भइरहेको छ । यो आपत्तिजनक छ । अपूर्वको विरोध नेवार समुदायले मात्र गरिरहेका छैनन्, जान्नेबुझ्ने सबैले गरिरहेका छन् र गर्नुपर्छ । तर, कमेडी पचाउन नसक्ने भनेर नेवार समुदायको मात्र आलोचना भइरहेको छ । विभिन्न मुद्दामा बहस, विमर्श गर्ने नेवार समुदायकै अग्रजहरु मौन बसिदिँदा विग्रह निम्तिँदो छ, देउवा–खाँणहरुलाई मैमत्त हुन सजिलो बनेको छ । आलोचना गर्नु, विरोध गर्नु, बहिष्कार गर्नु सबैको हकको कुरा हो, यसबाट कोही तर्सिनुपर्दैन ।
हिजो अरु कलाकार यसरी थुनिँदा चर्काे स्वरमा विरोध गर्ने कलाकार आज किन चुप छन् ? अपूर्व को हुन्, जसलाई फरक व्यवहार गरिरहिएको छ ? यो आपत्तिजनक छ । हास्य कलाकार, कलाकार, नागरिक समाज, सामाजिक सञ्जाल प्रयोगकर्ता, सरकारइतर दलहरू, मै हुँ भन्ने स्वतन्त्र उम्मेदवारहरू सबै किन चुप छन् ? तपाईंहरूको मौनताको अर्थ सरकारको समर्थन किन होइन ? जब तपाईंहरू बोल्न पाउने नैसर्गिक हकको पक्षमा एक शब्द पनि बोल्नुहुन्न भने अरु बोलीको कुनै अर्थ छ ?
अपूर्वले क्षमा मागेमा छन् । मान्छे मारेर क्षमा पनि नमागेका शासकहरू क्षमा समेत दिइरहेका छैनन् । यो अनौठो छ । हर कलाकार जस्तो कला गर्न पनि स्वतन्त्र छ । तर, उसले कुनै समुदाय, जात, लिंग, क्षेत्र, धर्मको अपमान गर्ने गरी गर्नुहुँदैन ।
कलाको आलोचना पर्याप्त हुनुपर्छ । राज्यले त बेवास्ता नै गर्दा हुन्छ, यस्ता केसमा । झुर कलालाई ठेगान लगाउने सबैभन्दा महत्वपूर्ण हतियार आलोचना, प्रश्न, समीक्षा, विमर्श नै हो । कालान्तरले उनीहरूलाई स्वयं पाठ सिकाउँछ । समय आफैँमा ठूलो समालोचक-गुरु-पुलिस हो ।
लोकतान्त्रिक राज्यमा कल्पना पनि गर्न नसकिने यस्तो राज्य आतंक तुरुन्त बन्द गरियोस् । अपूर्वको आलोच्य कमेडीमा राज्यले देखाइरहेको यो आपत्तिजनक र आपराधिक ‘कमेडी’ बन्द गरियोस् । कमरेड शेरबहादुर देउवा र पुष्पकमल दाइहरूको यो गठबन्धन सरकारले ‘कमेडी’मा महाकमेडियन केपी ओलीलाई पनि उछिनिरहेको यो दृश्य लोकतन्त्रको लाज हो । साथै, आफ्नो विधा कमेडीका एक पात्र थुनिँदा प्रमुख प्रतिपक्षी नेता कमेडियन ओली किन चुप ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया