सम्पादकीय
जगविहीन लाहुरे अर्थतन्त्र
एउटा भनाइ छ, ‘जग बलियो भयो भने घर बलियो हुन्छ’ । तर हाम्रो अर्थतन्त्रको कुनै जग नै छैन । पश्चिम एसियाली मुलुकहरूमा कथम कदाचित् ठूलै समस्या आयो भने हाम्रो अर्थतन्त्रको जग हल्लिन्छ । सन् २००८ मा विश्व आर्थिक संकटको समयमा र कोभिड-१९ महामारीको समयमा हाम्रो अर्थतन्त्रले जग हल्लिएको महसुस गरेकै हो । यसको कारण हो- रेमिट्यान्समा अतिनिर्भरता । तर पनि हाम्रा नीतिनिर्माताले यसबाट पाठ सिकेनन् ।
रेमिट्यान्सको बलमा हामीले आयात र उपभोग बढायौँ । आयात बढेपछि सरकारलाई राजस्व प्राप्ति हुने भैहाल्यो किनकी अहिले पनि कुल कर राजस्वको ५० प्रतिशत भन्सारमा उठाइन्छ । मूल्य अभिवृद्धिकर, अन्तःशुल्क, भन्सार महशुललगायत प्रमुख करहरूको संकलन भन्सार बिन्दूमै हुन्छ या आयातबाट हुन्छ । उपभोग बढेपछि यहाँभित्रमा आर्थिक गतिविधि पनि चल्ने भैहाले, व्यापारका अतिरिक्त, वित्तीय क्षेत्र, रियल स्टेटलगायत उम्दा क्षेत्रका रूपमा देखिए भने उत्पादनमूलक उद्योगको हविगत राम्रो छैन । कृषिको योगदान क्रमशः घटिरहेको छ भने सेवा क्षेत्रको योगदान बढेको छ । यस्तो असन्तुलित ढंगले हाम्रो अर्थतन्त्र कति लामो समय अघि बढ्ला ?
आर्थिक वर्ष २०५७-५८ म्यानुफ्याक्चरिङ क्षेत्रको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा योगदान ९.२ प्रतिशत रहेकोमा घटेर साढे पाँच प्रतिशतभन्दा कम भएको छ । यही अवधिमा कृषिको योगदान ३७.६ बाट घटेर २६.६ प्रतिशतमा आएको छ भने सेवा क्षेत्रको योगदान १२ प्रतिशत वृद्धि भई ६० प्रतिशत नाघेको छ ।
हाम्रो अन्तर्राष्ट्रिय व्यापारको प्रवृत्ति असन्तुलित हुनुमा मुख्य कारण यही हो । कृषि र औद्योगिक जस्ता उत्पादन र रोजगारी सिर्जनाका मुख्य आधार कमजोर भएका छन् । अधिकांश औद्योगिक उत्पादन हामी आयात गर्छौं भने कृषि उत्पादनहरूमा पनि हाम्रो परनिर्भरता बढ्दै गएको छ । यसले हाम्रो उत्पादनको आधार (जग) अझै कमजोर बनाउँदै लगेको छ । यसरी हाम्रो अर्थतन्त्रले जगविहीन सतहमा महल ठड्याइरहेको छ । जुन गर्ल्यामगुर्लम ढल्न सक्छ ।
हाम्रो उत्पादनको आधार (जग) अझै कमजोर बनाउँदै लगेको छ । यसरी हाम्रो अर्थतन्त्रले जगविहीन सतहमा महल ठड्याइरहेको छ । जुन गर्ल्यामगुर्लम ढल्न सक्छ ।
सन् १९८० को दशक अघिसम्म अधिकांश एसियाली देशहरू आयात प्रतिस्थापनको नीतिमा थिए । जापानलगायत नयाँ औद्योगिक मुलुकहरू (एसियन टाइगर्स) को उदयपछि उनीहरू पुँजीगत वस्तु (क्यापिटल गुड्स) आयात गरी निर्यात बढाउनेतर्फ गए । चीन, भारतलगायत मुलुकले पनि सोही रणनीति अंगिकार गरे । तर नेपालले भने भएका उद्योगधन्दालाई प्रतिस्पर्धी बनाउनुको साटो तिनीहरूलाई समेत मास्यो । देशलाई समृद्ध बनाउने सोच राखेका राजनीतिक दलहरू र तिनका भ्रातृ संगठन कताबाट निर्देशित भएर हो बन्द, हड्ताल, चक्काजाम गरेर उद्योग चलाउनेलाई पनि विस्थापित गर्नेतर्फ लागे । माओवादीको सशस्त्र द्वन्द्व र विद्युत कटौतीले त बचेखुचेका उद्योगको जग पनि समाप्त पारिदियो ।
कृषिमा पनि हामीले व्यवसायिकरण गर्न सकेनौं । नयाँ प्रविधि, सिंचाइ, बीउबीजन, कृषि प्रसार सेवाको अभावमा हाम्रो कृषि प्रणाली निर्वाहमुखी रूपमा सीमित राख्यौं । निर्यातका लागि प्रतिस्पर्धी ढंगले कृषि र औद्योगिक उत्पादन बढाउनुपर्ने समयमा हाम्रा राजनीतिक दल पनि दिग्भ्रमित भए, नेतृत्वले सही दिशा दिन नसकेपछि उद्योगीहरूपनि उद्योगबाट पलायन भएर व्यापारमा लागे । जोखिम कम, नाफा बढी भएपछि व्यापार गर्नु नै अधिकांशको रोजाइ भयो ।
आयात बढ्न थाल्यो, राजस्व पनि बढ्ने नै भयो । खर्चको प्रभावकारिता जे सुकै होस्, वर्षेनी बजेटको आकार बढाउन पाएपछि सरकार पनि खुसी हुने नै भयो । यस्तो दुश्चक्रमा फस्दै हाम्रा नीति निर्माताले व्यापार असन्तुलनलाई अर्थतन्त्रको एउटा ठूलो संरचनात्मक समस्याकै रूपमा स्थापित गरेका हुन् । यो रातारात समाधान गर्न सम्भव छैन, तर हाम्रो उत्पादनका आधार क्रमश बलियो बनाउने । सम्भव हुने कृषि र औद्योगिक उत्पादन देशमै बढाएर निर्यात गर्न नसके पनि आयात प्रतिस्थापन गर्दै जानुपर्छ ।
देशमा रहेको अपार जलस्रोतलाई प्रयोग गरेर नियमित र विश्वासिलो विद्युत् आपूर्ति मात्रै गर्न सकेको भए आज पेट्रोल, डिजेल, खाना पकाउने ग्यास यो परिमाणमा आयात गर्नुपर्ने थिएन । विद्युतीय सामग्रीको प्रयोग र विद्युतीय सवारीले हामी विद्युतीय सवारी साधन मात्र प्रयोग गर्ने देशका रूपमा ब्राण्डिङ गरी पर्यटक आकर्षित गर्न सक्थ्यौं । हामीले आफूमा रहेका सम्भावनालाई पहिचान गर्नभन्दा पनि सजिलो बाटो खोज्दै हिँड्दा आज हामी वर्षभरीमा मुश्किलले एक खर्ब रुपैयाँको पनि निर्यात गर्न नसक्ने तर १४-१५ खर्बको आयात गर्ने अवस्थामा आइपुगेका छौं ।
चालु आर्थिक वर्षको ९ महिनाकै तथ्यांक हेर्ने हो भने ११ खर्ब ११ अर्बको आयात भएको छ भने निर्यात ९४ अर्ब रुपैयाँ छ, १० खर्ब अर्थात् एक हजार अर्ब रुपैयाँको हाम्रो व्यापार घाटा छ । अब पनि आफ्नै मुलुकमा उत्पादन र रोजगारी नबढाएर रेमिट्यान्सकै भरोसामा कानमा तेल हालेर सुतिरहने निकम्मा प्रवृत्ति नत्याग्ने हो भने हामी थप दलदलमा भाँसिदै जाने निश्चित छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया