सम्पादकीय
चिसो निर्वाचन
अन्ततः आमनिर्वाचन सम्पन्न भएको छ । आफ्ना प्रतिनिधि छान्ने सवालमा मतदाताले आफ्नो अधिकार प्रयोग गरेका छन् । तर, आफूले मत पाउने, आफ्नो स्वार्थ जोडिने काममा पनि दलहरूले खास रुचि दिएको देखिएको छैन ।
सुरुमा मतदाता नामावली लेखाउने सवालमा पनि धेरै शिक्षा पुगेन, पहलकदमी पुगेन । सधैंको लाइन देखिन्थ्यो, निर्वाचन कार्यालयहरूमा । मतदाता नामावलीलाई सहज बनाउनतिर दलहरूको पनि ध्यान गएको देखिएन । झन्नै आधा करोड नेपाली वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ । यी सबै यो देशका बालिग नागरिक हुन् । उनीहरू मतदानबाट वञ्चित भएका छन् । यहीँ भएकालाई पनि मतदान गर्न खासै रुचि भएको पनि देखिएन । मतदान केन्द्रहरूमा युवाहरूको संख्या पनि निक्कै नै पातलो देखिन्थ्यो ।
जसोतसो मतदाताले आफ्नो अधिकार र कर्तव्य निर्वाह गरेका छन् । दलहरूले आफ्ना मतदातालाई राम्रा उम्मेदवारलाई मत दिने अवसरबाट वञ्चित गरे पनि फटाहामध्ये कम फटाहालाई मत दिएर नागरिक घर फर्केका छन् । विचारभन्दा माथि गठबन्धन, गठबन्धनभन्दा माथि गुट, इमानभन्दा बदनाम रहेको अवस्थामा धेरैको मत विभाजित भएको आंकलन छ ।
एकातिर धेरै उम्मेदवार सडेगलेका–डढेका अर्कोतिर आलाकाँचा उम्मेदवार रहेको अवस्थामा मतदाताहरूमा निराशा देखिन्छ । मतदान केन्द्रमा पुगेर पनि मत दिऊँ कि नदिऊँ भन्ने मनोदशामा मतदाताहरू देखिएका छन् ।
दलहरूमा अजेन्डा छैन, उम्मेदवारहरूमा आत्मविश्वास छैन, मतदाताहरूमा उत्साहजनक सहभागिता छैन । यो चिसो निर्वाचन हो ।
मतदातामा यो चुनावप्रति खासै आकर्षण नदेखिएको चौतर्फी टिप्पणी भएको थियो । यसो हुनुका कारण दलहरू अजेन्डाविहीन हुनु, अपवित्र गठबन्धन गर्नु, इमानदार कार्यकर्तालाई भन्दा झोले कार्यकर्तालाई टिकट दिनु, पुरानै अनुहारको हालीमुहाली हुनु आदि मुख्य हुन् । र यी सब निराशाको फाइदा उज्वल थापाका सकारात्मक अभियानी साथीहरूले पाउनुपर्नेमा रवीन्द्र मिश्रका कारण नवप्रवेशी नेता तथा नवगठित दलले पाउने संकेत देखिएको छ । यो चुनावमा ५० प्रतिशतको हाराहारीमा मात्र मत खस्नुको अर्थ ‘नो भोट’को जित पनि हो ।
यो चुनावले समानुपातिकमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको पल्ला भारी हुने सम्भावना प्रबल देखिएको छ । संसद्मा प्रतिनिधित्व गर्ने पार्टीमध्ये नयाँ दल तेस्रो स्थानमा आउन सक्ने आंकलन यथार्थ नजिक मानिन थालेको छ । नयाँ दल सफल भए धेरै ठीक छ, असफल भए पनि समाजले नायकबाट परिवर्तन हुँदैन भन्ने यथार्थलाई हृदयाङ्गाम गर्दै अमुक नायक खोजिरहने नेपाली समाजले पाठ सिक्नेछ ।
आज ५ गते ५ बजे बजेसम्म मतपेटिकामा खसेको मतले जजसको तालुमा आलु फलाउँछ, उनीहरूलाई बधाइ र शुभकामना । मै हुँ भन्ने जजसको जमानत जफत हुनेछ, लोकप्रियता ह्वात्तै झर्नेछ, उनीहरूलाई हार्दिक सहानुभूति । देश र देशवासीको हितलाई केन्द्रमा राखेर व्यवस्थापिका र कार्यपालिका चलाऊन्, हार्नेले बाहिर बसेर जनताको सुखदुःखमा साथ दिऊन् किनकि एउटा मंसिरले मात्र मुटु चिस्याउने छैन ।
यो निर्वाचनलाई समग्रमा चिसो निर्वाचन मान्न सकिन्छ । किनकि दलहरूमा अजेन्डा छैन, उम्मेदवारहरूमा आत्मविश्वास छैन, मतदाताहरूमा उत्साहजनक सहभागिता छैन । यो चिसोको संकेत बुझेर दल र नेताहरू समयमै सत्मार्गमा तात्नुमै सबैको भलो छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया