सम्पादकीय
मतदानपछिको कार्यभार
लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आम निर्वाचन हो । बालिग मताधिकारका आधारमा आफ्नो प्रतिनिधि छनोट गर्ने पद्धति लोकतान्त्रिक व्यवस्थाको अलंकार हो । र, नागरिकले हिजो मात्र यो कार्यभार पूरा गरेका छन् ।
पञ्चायती व्यवस्थापछिका यी ३२ वर्षमा सबैभन्दा कम मत खसे पनि लोकतन्त्रप्रति नागरिकको विश्वास धर्मराएको छैन । तमाम निराशा, अन्योलका बीच पनि नागरिकले आफ्नो कर्तव्य पूरा गरेका छन् । दुर्भाग्य त यो छ कि नागरिकले कर्तव्य पूरा गरेका छन्, उम्मेदवारहरूले कर्तव्य पूरा गरुन् भन्ने चाहनामा । त्यो कहिल्यै पूरा भएको छैन ।
यो निर्वाचनको प्रारम्भिक मत परिणामले धेरै खाले संकेत दिएको छ । पुराना दलले आफूहरूलाई गरेको दुर्व्यवहारप्रति मतदाता रिसाएको देखिन्छ । कहिले कुनै पार्टीसँग, कहिले कुनै पार्टीसँग गठबन्धन गरिरहने दलप्रति मतदाताहरूको चरम असन्तुष्टि मात्रै छैन, चरम आक्रोश पनि छ । संसद् विघटन गर्ने, विघटनका लागि सांसद अपहरण गर्नसमेत पछि नपर्ने सांसददेखि पुलिसका हाकिमहरूलाई मतदाताले पाठ सिकाउन खोजेको देखिन्छ । मुखमा समाजवाद, व्यवहारमा परिवारवाद र पैसावाद बोकेका कम्युनिस्ट दलप्रति पनि नागरिकको असन्तुष्टि देखिन्छ । ठीक १५ वर्ष पहिलेको चुनावमा बहुमतसम्म ल्याएको दल अहिले एक्लै एक सिट पनि नजित्ने अवस्थामा पुग्नु, कहिले कुनै दल कहिले कुनै दलको ढाड चढ्नुको हिसाब मतदाताले राखेकै देखिन्छ ।
शासनमा बस्दा लगातार अहंकार, दम्भ, घृणा, घमण्ड मात्र फ्याँक्ने थोत्रा गाडीहरूको पनि विकल्प खोज्न खोजेको देखिन्छ । भ्रष्टाचारीलाई च्याप्ने तर भ्रष्टको अनुहार हेर्दिनँ भन्ने चाटुकारहरूको अनुहार मतदाताले राम्रोसँग सम्झिएको देखिन्छ । उता वैकल्पिक राजनीतिको गफ गर्दै प्रतिगमनतिर जानेहरूलाई पनि तर्साएकै छ । धर्म र राष्ट्रको डर देखाउँदै रोटी सेक्न प्रयास गर्नेहरूलाई पनि मतदाताले सबक सिकाउने संकेत छ ।
र, यी सबको विकल्पमा मतदाताहरू उपयुक्त विकल्पको खोजीमा उर्लँदो खहरेमा हेलिन खोजेको देखिन्छ । मतदातालाई पारि जानु छ । मक्किएका काठे पुलप्रति मतदाताको भर छैन । र उनीहरू उर्लँदो खहरे कति गहिरो छ ? कति जोखिमपूर्ण छ ? आँकलन नगरीकन हेलिन विवश छन् । खहरे धमिलो छ । आशा गरौँ, खहेर संग्लिनेछ । र, त्यो भन्दा पहिला मक्किएको पुलका पिलरहरू फेरिनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया