सम्पादकीय
राजनीतिलाई शून्य प्रतिशत मत
राज्य राजनीतिले डोहोरिन्छ । र, राजनीति समाजले ।
निर्वाचन सकिने क्षणतिर छ । निर्वाचनको नतिजा लगभग लगभग आइसकेको छ । राजनीतिक विद्यार्थी उही र उस्तै छन्, तिनको रोल नम्बर मात्र बदलिएको छ । नयाँ विद्यार्थी पनि केही केही त भर्ना भएका पनि छन् । तिनले कक्षामा कस्तो ‘पर्फमेन्स’ देखाउँछन्, हेर्न बाँकी छ ।
कक्षामा नयाँ विद्यार्थीको नाम लेखाइदिएको समाजले हो । कक्षामा पुराना विद्यार्थीको रोल नम्बर तल–माथि गरिदिएको समाजले नै हो ।
समाज भनेको मानिस हो । मानिसका यावत् दृश्य–अदृश्य सम्बन्ध, मूर्त–अमूर्त सोच र व्यवहार सबै नै समाज हो । समाजको सोच मतमार्फत प्रतिबिम्बित हुन्छ ।
राजनीति बदलियो भन्छौँ । तर, राजनीति बदलिनुअघि समाज बदलिएको हुन्छ । ‘बदलिँदो समाज’को चरित्र जसले आत्मसात् गर्छ, अक्सर उसैले बाजी मार्छ ।
राजनीति दलमा मात्र हुँदैन । राजनीति हर क्षेत्रमा हुन्छ । राजनीति परिवारमा हुन्छ, छिमेकमा हुन्छ, टोलमा हुन्छ, अफिसमा हुन्छ, स्कुल–कलेजमा हुन्छ । अनि हरेक मानिसका मन–मनमा चलिरहने अन्तरद्वन्द्व राजनीति हो । अर्थात्, सबतिर राजनीति हुन्छ ।
राजनीति शक्तिको मार्ग हो । राजनीति नेतृत्वको चाह हो । तर, दलीय राजनीति भ्रष्टीकरण हुँदै जाँदा ‘राजनीति’ शब्दले कुटिलनीति, झेलनीति, ढाँटनीति, लुटनीति, कृपानीति पनि सम्झाउँछ ।
राजनीति सीधा बाटोमा हुँदैन । यो सधैँ संघर्षपूर्ण नै हुन्छ । राजनीतिमा वाद र विवाद अवश्यै हुन्छ र हुनु पनि पर्छ । वाद–विवादको कुनै ‘साइड इफेक्ट’ छैन । जुन विचार र व्यवहारको केन्द्रमा मानवता हुन्छ, त्यो विचार आज नभए भोलि प्रबल भएर आउँछ नै । समाजमा वाद–विवाद धेरै भयो, व्यवहार–विवाद गरौँ भन्ने पनि हुनसक्छ । यो गलत पनि हैन । ‘व्यवहार–विवाद गरौँ कि नगरौँ ? अथवा कसरी गरौँ ?’ भनेर गरिने विवाद पनि आखिरमा वाद–विवाद नै हो ।
यो राजनीतिक शून्यताको अवस्था हो । अब दलहरूमा राजनीति छैन ।
दलबाहिरको राजनीति नै आखिरमा दलभित्रको राजनीति हो । दलबाहिर जस्तो सोच प्रबल हुँदै जान्छ, दलभित्र त्यस्तै राजनीति प्रभावी हुन्छ । फेरि दलभित्र हुने वा भइरहेको राजनीतिले बाहिरको राजनीति निर्देशित गरेको हुन्छ । राजनीति सधैँ समाजअनुसार मात्र हुँदैन । र, समाज सधैँ राजनीतिअनुसार मात्र पनि हुँदैन । अपवादमा बेलाबेला हुने यस्तै उलट–पुलटलाई हामी क्रान्ति भन्छौँ । क्रान्ति भनेको परिवर्तन हो । परिवर्तन सकारात्मक कि नकारात्मक ? यो दृष्टिकोणको प्रश्न हो । तर, परिवर्तनलाई सकारात्मक दृष्टिकोणबाट हेरिन्छ र हेर्नुपर्छ ।
दलभित्र भ्रष्टाचार मौलायो भने दलबाहिर यो मुद्दा बन्छ । दलभित्र परिवारवाद हाबी भयो भने दलबाहिर यो मुद्दा बन्छ । दलभित्र पैसावाद प्रबल भयो भने यो मुद्दा बन्छ । र, मुद्दा भनेपछि त्यहाँ बहस मात्र हुँदैन । जित–हारको प्रश्न पनि हुन्छ । भ्रष्टाचार, परिवारवाद, पैसावादको जित वा हारले समाजको चरित्र चित्रण गर्न सघाउँछ ।
यो निर्वाचनमा कस्ता दल पराजित भए ? यो निर्वाचनमा कस्ता दल उदाए ? यो निर्वाचनमा दलभित्रका कस्ता पात्र उदाए, कस्ता पात्र दण्डित भए ? यो निर्वाचनमा किन कम भोट खस्यो ? उम्मेदवारले कस्ता अजेन्डा लिएर गए ? मतदाताले कस्ता समस्या सुनाएका थिए ? समस्या र अजेन्डाबीच सामञ्जय छ कि छैन ? यो निर्वाचनमा कुन समूहको मत निर्णायक भयो ? भोट हाल्न नपाउने, नहालेकाको मत कसरी प्रतिविम्बित भयो ? परिवारमा बा–आमा पुस्ताको छनौट छोराछोरीमा सर्यो कि छोराछोरीको चाहना बाआमातिर सर्यो ? देशबाहिर बस्ने झन्नै एक तिहाइभन्दा बढी मतदाता के भन्छन् ? निर्वाचनमा लोकरञ्जनवाद (पपुलिज्म) कति हाबी भयो ? मिडिया–सोसल मिडियाले मतदातालाई गाइड गर्यो कि मिसगाइड ? मतदाताले उम्मेदवारलाई प्रश्न गरे कि गरेनन् ? गरेनन् भने किन गरेनन् ?
यी र यस्ता विषयमा प्रशस्त छलफल हुनुपर्ने हो । विश्वविद्यालयका कक्षा–कोठामा यस्ता प्रश्नमा प्रशस्त विमर्श हुनुपर्ने हो । सरकारी–गैरसरकारी ‘थिंक ट्यांक’हरूले यस्ता प्रश्नमा अनुसन्धान गर्नुपर्ने हो । यो देशका राजनीतिशास्त्र, समाजशास्त्रका प्राध्यापक मिडियामा भाइरल अन्तर्वार्ता दिइरहेको वा ट्वीट मात्र गरिरहेको अवस्थामा नभेटिनुपर्ने हो ।
समय छ अनुसन्धान गर्लान् नि, भन्ने सोच्नु कारुणिक आशावाद हो । किनभने यो निर्वाचनका दौरान पहिला के–कति अध्ययन–अनुसन्धान भएको रहेछ भनेर हेर्दा, भुतोभाङ केही छैन । अनुसन्धानलाई महत्व दिने सरकारले नै हो । तर, जति पनि ‘सामाजिक संस्थान’ छन्, ती अयोग्यहरूको भर्तीकेन्द्रका कारण कि भजनमा लिप्त छन् कि कोमामा छन् ।
दलबाहिरको राजनीति नेपालमा शून्य जस्तै छ । दलबाहिर भन्नाले समाजको राजनीति । समाजमा अहिले राजनीति छैन । समाजमा चिसो बढेको छ । निक्कै चिसोको प्रकोप देखिन्छ अहिले । प्रश्न–प्रतिप्रश्न, वाद–विवाद, अध्ययन–अनुसन्धान, चिनजानविनै मत बुझाएका छन् । एउटै अनुसन्धान नगरी वा नपढी कोही विज्ञका रूपमा हर दिन चार–चार घण्टा अन्तर्वार्ता दिइरहेको छ । यस्तै अन्तर्वार्ता सुनेर (पूरा हैन, क्लिप) मानिसहरू मत बझाइरहेका छन्, मत बुझाइरहेका छन् ।
यो राजनीतिक शून्यताको अवस्था हो । समाजमा राजनीति छैन । अब दलहरूमा पनि राजनीति छैन । यहाँ कहीँ पनि छैन, राजनीति । ‘यहाँ स्कुल–अस्पताल जहाँ पनि राजनीति छ ।’ यसो भन्नेहरूले ‘यहाँ जहाँ पनि दल छन्’ भनेका हुन् । दल छन् भन्नुको अर्थ राजनीति छ होइन । स्कुल, अस्पतालमा दल हुँदैमा राजनीति हुने भएको भए शिक्षा र स्वास्थ्य राजनीतिक ताता सवाल बन्थे ।
दलहरूमा अब राजनीतिबाहेक सबथोक छ । दलहरूमा पैसा छ, परिवार छ, कुलीनतन्त्र छ, नवधनाढ्य वर्ग छ, प्रोपगान्डा छ, अशुद्ध गठबन्धन छ, अन्तर्घात छ, धोका छ, ठेकेदारी छ । सबथोक छ, सिवाय राजनीति ।
कवि हरिभक्त कटुवालका भाकामा भन्दा यो राजनीति, खै के राजनीति !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया