सम्पादकीय
अबको प्राथमिकता सौर्य ऊर्जा
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को हालसम्म सम्पन्न सबै सम्मेलनहरु (पछिल्लो २७ औं सम्मेलन, इजिप्ट) को एउटै मात्र विषय वस्तु हो पृथ्वीको बढ्दो तापक्रमलाई रोक्ने । विश्वमा औद्योगिक क्रान्ति (सन् १७६०) अघिसम्म पृथ्वीको तापक्रम बढेको थिएन । जब हातले गर्ने कामहरु स्वचालित यन्त्र (मेसिन) मा रुपान्तरण हुन थाले, तब ऊर्जा आवश्यक पर्यो । अनि त्यो ऊर्जामध्ये अधिकांश कार्बन उत्सर्जन गर्ने (तापीय) रहे । र, यो क्रमले अहिले वैश्विक तवरमा विकराल रुप धारण गर्दैछ, यसले सबैलाई चिन्तित पारेको छ ।
यद्यपि जति नै चिन्ता प्रकट गरे पनि विश्वका नेता तथा देशका कर्महरु भने मौसम परिवर्तनलाई बल पुग्ने खालका छन्, त्यो पनि जबर्जस्त । ‘नेट जीरो कार्बन’ (शून्य कार्बन) को तिथि सारिंदै सारिंदै आएको छ । अर्थात् तापनीय ऊर्जाको विकल्पका रुपमा विश्वमा वैकल्पिक ऊर्जा तयार हुन सकेका छैनन् र एकप्रकारले त्यो बाध्यात्मक रुपमा पनि प्रयोग हुँदै आएका छन् ।
मौसम परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दै गएको छ । हिउँ सृंखलाहरु पग्लँदो छ । समुद्रका उचाइ बढ्दो छ । टापुजन्य देशहरु डुब्दै छन् । कात्तिमा बाढी आउन थालेका छन् । हिमालयका तुषार क्षेत्र (पर्माफ्रोस्ट) विस्तारै पग्लेर सानोतिनो पानी पर्दा पनि सिंगो हिमालय क्षेत्र बगेर आउन थालेका छन् । मेलम्चीको बाढी एउटा उदाहरण हो । अबका दिनमा विश्वका धेरै देशमा यस्ता मेलम्चीजन्य घटना बढ्दै जाने चिन्ताले सताएको छ । अत्यधिक तापीय ऊर्जा (कोइला, प्राकृतिक, ग्यास, डिजेल आदि) को बढ्दो प्रयोगले पृथ्वीको तापमान बढाएको हो विश्वमा अमेरिका सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश हो । कुल उत्सर्जनको २५ प्रतिशत अमेरिकाले मात्रै गर्छ । युरोपियन युनियनको २८ प्रतिशत छ भने अमेरिकापछि सबैभन्दा धेरै चीन (१३ प्रतिशत) छ ।
यसको मार भने नेपाल पनि पर्दै आएको छ र परिसकेको छ । तर जलवायु परिवर्तनको असरबाट बच्न भन्दै नेपाल भने विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) सँग ऋण लिएर तथाकथित ‘अनुकूलन’ गर्ने नाटक गरिरहेछ । तर गर्नुपर्ने कर्मबाट भने नेपाल सरकार विमुख हुँदै आएको छ । जलवायु परिवर्तनको असरबाट बच्न हरेक देशले वाचा गरेका छन् तर कर्म भने त्यसका विपरीत छन् । अघिल्लो जलवायु सम्मेलन (ग्ल्साग्यो) मा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको उत्पादन गर्ने कुल ऊर्जामा १० प्रतिशत सौर्य हुने भाषण र प्रतिबद्धता गरेर आएलगत्तै यता ऊर्जामन्त्री पम्फा भुसालले सौर्य ऊर्जाको घाँटी रेटिन् र कहिल्यै माथि उठ्न नसक्ने गरी कथित प्रतिस्पर्धा गराउने नीति ल्याइन् । जबकि १६३ मेगावाटका सौर्य ऊर्जा उत्पादनका लागि तयारी अवस्थामा थिए । विश्वका अधिकांश देशले सौर्य ऊर्जा उत्पादनलाई जोड दिंदै अनुदान दिइरहेका छन् । तर नेपालमा भने आउन लागेकालाई गला रेटिएको छ ।
दिनभरि घाम लाग्दा सौर्य ऊर्जा उत्पादन हुन्छ, राति हुँदैन । तर ऊर्जा त राति पनि चाहिन्छ । अबको जाडोयामको ऊर्जा भारतबाट आयात गरेर गर्जाे टार्नुपर्ने स्थिति छ । दिउँसो सौर्य ऊर्जाले दिनभरिको पानी (नदीको) सञ्चय गर्ने, राति जलविद्युत् ऊर्जा उपयोग गर्न सकिन्छ । जलवायु परिवर्तनका कारण हिउँ जम्ने र पग्लने चरित्रमा परिवर्तन आइसकेको छ । हिउँदयाममा एक तिहाई मात्र जलविद्युत् उत्पादन हुने गर्छ । तसर्थ दिनभरिको पानी सञ्चय गर्ने (अर्धजलाशय, जलाशय र अब बन्नेहरुमा) र राति जलविद्युत् उपयोग गर्ने ऊर्जा मिश्रण नीति अहिलेको आवश्यकता हो । ऊर्जा क्षेत्रलाई तहसनहस पार्ने ऊर्जा मन्त्रीको अल्पज्ञानका कारण यो क्षेत्रले गति लिन नसकेकोमा दुविधा छैन । त्यसकारण अब जलविद्युत्का साथसाथै सौर्य ऊर्जालाई पनि प्राथमिकतामा नराखी सुखै छैन । अब बन्ने सरकारले यस्तो सुकर्म गर्ला भन्ने अहिलेलाई अपेक्षा गरौं ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया