सम्पादकीय
दुनियाँ विश्वकप खेल्छ, हाम्रा नेताहरूको मनमा के खेल्छ ?
चार वर्षपछि दुनियाँको घर–आँगनमा आइपुगेको फुटबल विश्वकप आज समापन हुँदै छ । यो पटकको फाइनलमा सदाबहार प्रतिद्वन्द्वी अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दै छन् । अवश्वयम्भावी छ, दुईमध्ये जसले गोल गर्नेछन् उपाधि उसैको हुनेछ । र, यसमा रमाइलो संयोग के हुनेछ भने जुन टिमले उपाधि जित्नेछन् त्यो देशका लागि तेस्रो उपाधि हुनेछ । अर्जेन्टिना र फ्रान्सले दुई–दुई पटक विश्वकपको उपाधि जितेका छन् ।
विश्वकपसँग नेपालको साइनो दर्शकका रुपमा घनीभूत छ । हाम्रो राष्ट्रिय टोलीले विश्वकपका लागि छनौट त खेल्छ तर बलिया राष्ट्रसँग गोलको भारी बोकेर फर्कन्छ । नेपालले आफ्नै टोलीका लागि हुटिङ गर्न कहिले पाउने हो थाहा छैन तर आफ्नो टोली नहुँदा पनि नेपालीहरूको फुटबल प्रेम गज्जबको छ ।
लिग चरणका खेलदेखि नै दर्शक सामाजिक सञ्जालमा आफ्नो टिमको खुसी सेलिब्रेट गरिरहेका छन् । थरीथरीका दुःखी इमोजीसहित हारमा शोक मनाइरहेका छन् । यसले के देखाउँछ भने सारा देशलाई एकै लयमा वा एकै मालामा जोड्ने केही शक्ति छ भने त्यो खेल हो । विश्वका धेरै दर्शकले मज्जा मानेर हेर्ने खेल फुटबल हो । नेपालमा पनि धेरै दर्शक भएको खेल यही फुटबल हो ।
यो पटकको विश्वकपमा नेपालको फुटबल टोली थिएन तर खेल नखेल्ने नेपालीहरूका अनेक टोली थिए जसले खेल खेल्ने मैदान बनाए । कतारका झकिझकाउ रंगशालामा मान्छे नै मान्छेले भरिएको त्यो ठाउँमा नेपालीको पसिनाको खोलो बगेको थियो र केहीको रगत पनि । पश्चिमा देशका लागि नेपालीको पसिना र रगत मानव अधिकारको मुद्दा बन्यो । तर दुःखको कुरा हाम्रो राष्ट्रका लागि यो मुद्दा बनेन ।
किनकि राष्ट्रको आदत नै बनेको छ, गरिबको खुन–पसिनामा शिशमहल बनाउने । अग्ला अग्ला भ्यु टावर बनाएर गरिबका छाप्रा हेर्ने । यो पटकको विश्वकप अरुलाई खेल देखाउने चाहनामा आफ्नै जीवनदेखि ‘रिङआउट’ नेपालीहरूको सम्झनाका हिसाबले पनि स्मरणीय भएको छ ।
राज्यको यो अपराध क्षम्य छैन तर पनि राज्यले बुझ्नुपर्छ खेलमाथिको ठोस लगानी देशको पुँजी हो । आज हामीलाई अर्जेन्टिनाका राष्ट्रपतिको नाम थाहा छैन, फ्रान्सका राष्ट्रपतिको नाम थाहा छैन । तर हामीलाई लियोनल मेसी र किलियन एम्बापेको जीवनी थाहा छ । खेल नै यस्तो रहेछ जसले खेलाडीमार्फत देशलाई चिनाउने रहेछ । नेताका कारण चिनिने देश कति पो होलान् र ?
यो देशमा साहित्य, सिनेमा, संगीत, रंगकर्मको जति चर्चा हुन्छ, यिनका लागि जति प्ल्याटफर्म छन्, यिनको तुलनामा खेल जगत् ‘टुहुरो’ छ । खेल मन्त्रालय त छ तर त्यो राजनीतिक खेलमा व्यस्त हुन्छ । खेलमा राजनीति भयो तर राजनीतिमा खेल भएन । भन्नुको मतलब राजनीतिले खेललाई प्राथमिकतामा राखेन ।
खेल केन्द्रहरू भर्ती केन्द्र भए । खेलका लागि अहिलेसम्म कुनै गतिला संरचना बनेनन् । बनेका संरचनामा पनि खेल–माफियाहरूकै हालीमुहाली छ । धन्न हाम्रा खेलाडीहरू आफ्नै बलबुताले जसोतसो खेलिरहेका छन् ।
यो विश्वकप हेरिरहेका हाम्रा पूर्वप्रधानमन्त्रीदेखि मन्त्री-सांसदहरूको मनमा के खेल्छ ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया