सम्पादकीय
‘प्रजा परिषद्’कै रूप लिए पनि देउवाले छाड्नेवाला छैनन्
कुनै दलमा ‘सर्वसम्मत’ त कुनै दलमा निर्वाचन विधिद्वारा संसदीय दलका नेता घोषित भइरहेका छन् । अन्ततः सर्वसम्मत छानिए पनि पुरानै नेता, निर्वाचन प्रक्रियाद्वारा छानिँदा पनि अपार मतसहित पुरानै । भर्खरै सकिएको संसदीय निर्वाचनसँगै आमनागरिकको ठूलो अपेक्षा थियो । तर, सत्तातिर पुग्ने हुन् या विपक्षी लहरको नेतृत्वकर्ता, पुरानै अनुहार देखेपछि धेरैमा उत्साह–अपेक्षा मरेको हुनुपर्छ । संसद् होस् या सरकार, दुवैतिर राम्रोसँग ‘उपस्थिति’समेत जनाउन असमर्थ नेतृत्ववृत्तको रजगजमा मुलुक चल्नेछ ।
ठूलो पार्टी कांग्र्रेस संसदीय दलमा शेरबहादुर देउवालाई युवा पुस्ताका गगन थापाले चुनौती दिएपछि प्रतिस्पर्धाको माहौल बन्यो । त्यसबाहेक एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीमा ‘सर्वसम्मत’ नेता चयन भएका छन् । बाँकी रहेको नेकपा माओवादीमा पुष्पकमल दाहाल पनि ‘सर्वसम्मत’ नेता बन्नेछन् । चुनावमा मुलुकले नयाँ अनुहार खोजेको थियो । तर, दुर्भाग्य चारैतिर उनै अनुहार हाबी भएका छन्, जो ३२–३२ वर्षदेखि पार्टी–सत्ता राजनीतिमा हाली–मुहाली जनाउँदै आएका थिए ।
स्वार्थी समूहलाई बाहेक देउवाको जितमा खुसी हुनुपर्ने कुनै कारण छैन र न बधाइ दिनुको कुनै तुक नै । देउवा २८ वर्षदेखि दलको नेताको मोहबाट कहिल्यै मुक्त भएका छैनन् । आज भएको संसदीय दलको चुनावको सार पनि यही हो ।
कांग्रेसमा देउवा नै संसदीय नेता बन्नेछन् भन्ने सबैलाई थाहा भएकै तथ्य हो । सबैलाई थाहा थियो कि जनमत अर्कैतिर भए पनि कांग्रेसभित्रको ‘अंक गणित’ देउवा पक्षमा थियो । पार्टीको हितका खातिर कतै कांग्रेसी सांसदको मनमा विवेक पलाउला र अन्यथा निर्णय आउँछ कि भन्ने झिनो आशा मात्र बाँकी थियो । तर, बरु बल गरे बालुवामा तेल भेटिएला, कांग्रेसी सांसद बूढो हाड घोट्न इच्छुक देखिए । चुनावकै बेला विरोधमा मत खस्ने सम्भावित पात्रहरूलाई प्रत्यक्षमा टिकट नदिएर होस् या समानुपातिक आफ्नै हात जगन्नाथ बनाएर होस्, देउवाले अंक गणित बलियो बनाइसकेका थिए । अझ संसदीय अंक–गणितीय राजनीतिका धुरन्धर माहिर खेलाडी देउवाका अनेक कर्म इतिहासमा अंकित थिए नै ।
देउवा मात्रै होइन, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालहरूले छाड्नेवाला छैनन् । चोला बदलेरै भए पनि चुनावमा होमिएका कमल थापालाई चाहिँ यसपालि मतदाताले ठेगान लगाइदिएका छन् ।
दुःखको कुरा चाहिँ २८ वर्षअघि देउवा ‘पुस्तान्तरण’को नारामा थिए, बूढा नेताबाट शासन चल्दैन भन्ने निष्कर्षसहित । ८० वर्ष टेक्दै गर्दा त्यसरी पुस्तान्तरणको राजनीति गर्ने पात्रले सहजै ‘पुस्तान्तरण’को बाटोमा जानेछन् भन्ने लागेको थियो । उनको त्यो पुस्तान्तरण त अरुलाई हिर्काउन मात्र रहेछ, आफू चाहिँ सास फेर्न सक्ने अवस्थासम्म कुर्सी छाड्नेवाला रहेनछन् । गएको चुनावमा युवा पुस्ताकै अनुहार हेरेर मत दिएका हुन् । विधिको विडम्बना या अंक गणितको खेल भन्नुपर्छ कि बालुवाटारबाट सिंहदरबार कुर्सीमा रहेर शासन गर्न सक्षम व्यक्तिसमेत छान्न नसक्ने हैसियतमा कांग्रेस पुगेको छ । गएको चुनावमा मत घट्नुको कारण पनि मतदाताले पुराना अनुहारप्रति अमिलो मन लगाउनु हो, संस्थागत रूपमा चुनावी समीक्षा नगरेपछि जे गरे पनि हुन्छ ।
उनै देउवा हुन्, जो एकै व्यक्ति पार्टी सभापति या दलको नेता हुनु हुँदैन भनी अभियान छेड्नेमा पर्थे, ‘एक व्यक्ति एक पद ।’ तर, आफू सभापति, संसदीयको दलको नेता हुँदै प्रधानमन्त्री हुँदा पनि कुनै अप्ठ्यारो छैन । त्यो ‘एक व्यक्ति एक पद’ पनि अरुका निम्ति मात्र रहेछ, आफ्नै निम्ति चाहिँ होइन रहेछ । एक व्यक्ति दुई पदकै कारण बल्खुको विशाल पार्टी कार्यालय ‘भूत बंगला’मा परिणत भएको छ । अब उमेरसँगै सिंहदरबार कुर्सीसम्म पुग्ने जोससमेत उनमा छैन । प्रधानमन्त्री नै सिंहरदरबार नगएपछि कर्मचारीलाई मात्र जाँगर चल्ने कुरा हुँदैन, भूकम्पपछि अथाह खर्चमा पुननिर्मित आधुनिक सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय पनि बिस्तारै भूत बंगलामै परिणत हुन बेर लाग्नेछैन ।
कांग्रेसले ‘प्रजा परिषद्’कै रूप लियो भने पनि देउवाले दलीय नेताको मोह छाड्नेवाला देखिएन । अनि, देउवा मात्रै होइन, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालहरूले छाड्नेवाला छैनन् । चोला बदलेरै भए पनि चुनावमा होमिएका कमल थापालाई चाहिँ यसपालि मतदाताले ठेगान लगाइदिएका छन् । उनको चोला बदलिएको अनुहार सदनले देख्नुपर्ने छैन । अब नयाँ दल र तिनका नेताको शैली परीक्षण हुन नै बाँकी छ, तिनीहरू देउवा, ओली, दाहाल, नेपाल जस्तै नबन्लान् भन्न के बेर ? अब सिंहदरबारकै कुर्सीमा रहेर शासन गर्न सक्ने क्षमता भएको प्रधानमन्त्री नपाउँदाको दुःख, पीडा सिंगो मुलुकले खप्नुपर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया