सम्पादकीय
राजनीति भनेको सम्भावनाहरूको खेलै हुन्छ, लाजनीति हाबी भएपछि...
राजनीति ‘लाज नमान्ने नीति’ अर्थात् ‘लाजनीति’ मा परिणत भएकै कारणले भन्ने गरिन्छ, ‘राजनीति भनेकै सम्भावनाहरूको खेल हो ।’ अर्थात् राजनीतिमा जसरी हुन्छ आफूलाई सत्तामा पुर्याउन र टिकाउन जस्तोसुकै रणनीति अपनाइन्छ । हिजोसम्म कुकुर–बिरालो जसरी झगडा गरिरहेका थिए, अर्काे पक्षसँग गाला जोडिरहेका थिए । तर, रातारात चुनावअघिको गठबन्धन टुट्यो । चुनावपछि नयाँ सत्ता गठबन्धन बनेको छ, त्यो पनि भरपूर मतका साथ । नेपालको सन्दर्भमा सत्तामा पुग्ने, टिक्ने, बाहिरिने, झगडा गर्ने जस्ता ‘सम्भावनाहरूको खेल’ नौलो होइन, यस्ता दृश्य देख्न र हेर्न आमनागरिक अभ्यस्त भइसकेका छन् ।
त्यही सम्भावनाको खेलमा तेस्रो शक्तिका नेता, माओवादी केन्द्रका सदाबहार अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न पुगेका छन् । पहिलो शक्ति नेपाली कांग्रेस प्रमुख विपक्षमा पुगेको छ ।
केपी ओलीले दाहाललाई र दाहालले केपी ओलीलाई सार्वजनिक रूपमा गाली गरेका भिडियोहरू यतिखेर सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेका छन् । हिजो एउटा मानवको स्तरबाट गिरेर गरिएका गालीहरू पुनः दोहोर्याएर हेर्दा वा सुन्दा नेपालको राजनीतिमा नाजायज केही होइन भन्ने छर्लंग भएको छ । सत्ताका लागि जस्तोसुकै सहमति र समझदारी गर्न सक्ने र कुनै लाज नभएकाहरूका हातमा सत्ता पुग्दा तिनले गर्ने कर्म कस्तो होला ?
जब सत्ता–राजनीति सिद्धान्त र विचारमा भन्दा कुर्सीमा मात्र आधारित हुन्छ, यस्ता दृश्य सामान्य बन्छन् । वास्तवमा सैद्धान्तिक र वैचारिक रूपले सबै जसो दल एकै प्रकृतिमा परिणत हुन्छन्, नयाँ नाममा उदाएका हुन् कि पुराना । बहुदलमा सबै दल एउटै हुनु निर्दलजस्तै हो । त्यही भएर हिजो गठबन्धनको आलोचना भएको थियो । यतिखेर त्यही गठबन्धन हो, केवल नाम मात्र फेरिएको हो ।
उही पुरानै पात्र र प्रवृत्तिको पुनरावृत्ति भएपछि आममतदाताले परिवर्तनको अनुभूति गर्न नपाउने हुन् कि भन्ने आशंका बढेर गएको छ । आफ्नो दललाई सत्तामा पुग्ने जनादेश नभए पनि दाहाललाई जसरी पनि प्रधानमन्त्री हुनैपर्ने रहर जाग्यो । यसलाई साथ दिए एमाले अर्थात् केपी ओलीले । हिजो एक अर्कालाई देखी नसहने, गाँड काेराकाेर गर्ने र चरम भ्रष्टाचारीका रूपमा व्याख्या गरिएका एकले अर्कालाई सत्तामा पुग्नका लागि सबै बिर्सिए । हिजो करिब दुई तिहाईको सरकार चलाउन नसकेर मुलुकलाई राजनीतिक अस्थिरता र अँध्यारो सुरुङभित्र धकेलेका ओलीसँग पुनः मिल्नु नेपाली राजनीतिको दुर्भाग्य बनेको छ ।
गठबन्धन गर्दैमा राजनीतिक स्थिरता नहुने यसले प्रष्ट देखाएको छ । अब मुलुक झन् अस्थिरतातर्फ उन्मुख हुने खतरा बढेको छ । कुनै पनि बेला सरकारमा बसेको दलले आफ्नो समर्थन फिर्ता लिन सक्ने र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । टाउकोमाथिको यो तरबार जतिखेर पनि झुन्डिरहने भयो । सत्तामा सहभागी दलका नेताका जायज/नाजायज अपेक्षा पूरा नहुँदा सरकार ढल्ने अवस्था रहनु राजनीतिक रूपले अस्थिर हुनु हो ।
यद्यपि संसदीय अभ्यासमा जसको बहुमत पुग्छ, उसकै सरकार बन्ने हो । हिजो गठबन्धन बन्दाखेरि पनि राजनीतिक दलहरूको आफ्ना नाम, सिद्धान्त, विचार र पहिचान समाप्त भएकै थियो । अहिलेको सत्ता गठबन्धनले पनि त्यही गर्यो । यसको अर्थ नेपालमा अब को वामपन्थी, को दक्षिणपन्थी, को लोकतन्त्रपन्थी, को नयाँ, को पुराना भन्ने नै रहेन । केवल रह्यो, जसरी हुन्छ सत्ता चाहियो । त्यसैको उपज संसद्मा ३२ सिट प्राप्त दलका नेता प्रधानमन्त्री हुनु हो । त्रिशंकू संसद् हुँदा २० सिट जितेको पूर्वपञ्चहरूको पार्टीले दुई, दुई पटक प्रधानमन्त्री हुने अवसर पाएको थियो, कारण थियो यही राजनीतिक अस्थिरता ।
जनताको माझमा परीक्षित हुन बाँकी जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मात्र हुन् । अरू सबैका परीक्षण भइसकेको छ । यिनको विगत हेर्ने हो भने यिनीहरूबाट मुलुकको हितमा काम हुने अपेक्षा निकै कम गर्न सकिन्छ । त्यही भएर आम मतदाताले परिवर्तन खोजेका थिए । मतदाताको नियति नै उनै पुरानै पात्र आए । सत्तामा गएका र जाने दलहरूले एकाएक बुद्धत्व प्राप्त गरी नाटकीय रूपमा आफूलाई रूपान्तरित गरे भने अझै पनि मौका नभएको होइन ।
विगतका गल्ती, कमजोरीबाट पाठ सिकेर र आगामी दिनमा मतदाताको ती मतलाई सम्झेर मुलुकको हितबाहेक अहित नचिताउने अनि त्यहीअनुरूप कर्म गर्ने हो मतदाताले माफ दिन सक्छन् । अब पनि भ्रष्टाचार गर्ने, धनार्जनमा मात्र दत्तचित्त हुने हो भने यिनका कारण सिंगो व्यवस्था नै धरापमा नपर्ला भन्न सकिंदैन । तसर्थ, हिजोका कुकृत्य गर्न छाड्ने नै यी दलहरू सुध्रने र सप्रने एकमात्र आधार हो । हिजोकै कुकर्म गर्ने हो भने राजनीतिक अस्थिरता उदय हुनेछ । त्यही अस्थिरताले २०६१ माघ १९ गते जन्मने मौका पाएको थियो । अब त्यस्तो नहोस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया