सम्पादकीय
प्रचण्डपथपछि पाखण्डपथ
अन्ततः पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । उनलाई शुभकामना । बधाइ चाहिँ आफ्नो कार्यकाललाई जनकार्यमा समर्पित गरेर निस्केको दिनमा दिनुपर्छ ।
दौरा–सुरुवाल लगाएकामा प्रचण्डलाई बधाइ छ । ज्योतिषीको साइत हेरेर बालुवाटार प्रवेश गरेकामा पनि बधाइ छ । यो उनको व्यक्तिगत छनौटको कुरा हो । यसमा थप टिप्पणी आवश्यक छैन ।
तर, थप टिप्पणी आवश्यक छ । हिजो बोलिएका कुराको जवाफ चाहिन्छ । हिजो गलत बोलिएछ भनेर माफी माग्नुपर्दैन र ? अब ज्योतिषवादी भइसकियो, म भौतिकवादी रहिनँ । म मार्क्सवादी पनि रहिनँ भनेर भन्नुपर्दैन र ? अथवा कर्मकाण्डी, मार्क्सवादी र माओवादी एकसाथ भइरहन सक्ने नयाँ सिद्धान्तको प्रतिपादक र प्रयोक्ताका रूपमा आफ्नो नाम लेखाउनुपर्दैन र ? आफ्नो पार्टीको नाम नबदल्ने ? भित्र मांसाहारी भोजन पनि बन्ने तर साइनबोर्डमा शुद्ध शाकाहारी भोजन मात्र पाइन्छ भनेर कहिलेसम्म लेख्ने ? आफू जे हो, त्यहीँ हुँ भन्न किन गाह्रो ? नभएको देखिन खोज्नु पाखण्ड होइन ? प्रचण्डपथको विसर्जनपछि पाखण्डपथको सिद्धान्त कहिले पढ्न पाइन्छ ?
मान्छे परिवर्तनशील छ । पार्टी परिवर्तनशील छ । सब थोक परिवर्तनशील छ । तर, के साइनबोर्ड परिवर्तनशील छैन ? पार्टी परिवर्तनशील हुने तर पार्टीको नाम परिवर्तनशील नहुने हुन्छ र ? उनको मुखबाट मार्क्सवाद र माओवाद भनेको के हो त धेरै सुनियो । अब उनको मुखबाट मार्क्सवाद र माओवाद के–के होइन भन्ने पनि सुुनिनुपर्छ । र, केके होइनमा आफू किन छु भन्ने जवाफ दिनुपर्छ । मार्क्सवाद सबैथोक हो, मार्क्सवाद भनेको अवसरवाद मात्र हो भने नवमार्क्सवादी सिद्धान्तकारका रुपमा उनी संसारभर पढिनुपर्छ ।
पहिरन र आस्था बदले जस्तै अब पार्टी र आफ्नो नाम पनि बदल्नुपर्छ । नाम छविलाल बनाउनुपर्छ । कम्तीमा यो नाममा लाल त बाँकी रहन्छ ।
सायद प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालको यो अन्तिम पटक हो । अब यो तेस्रो कार्यकालमा उनले बिग्रेको आफ्नो छवि सुधार्नुपर्छ । पहिरन र आस्था बदले जस्तै अब नाम पनि बदल्नुपर्छ । चाहे पार्टीको नाम होस् वा आफ्नो नाम । तेस्रो कार्यकालमा आफ्नो कमाउवादी र परिवारवादी छवि सुधारेर नाम छविलाल बनाउनुपर्छ । कम्तीमा यो नाममै सही, लाल त बाँकी रहन्छ ।
प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेको १५ वर्ष भयो । त्यसपछि र अघि पनि पटकपटक सत्तामा बसेको माओवादीले केके नीतिगत सुधार गर्यो त ? के यसमा सोच्नुपर्दैन ? धेरैजसो शिक्षा मन्त्रालय सम्हालेको माओवादीले शिक्षामा के फरकपनको आभास दियो त ? सार्वजनिक शिक्षामा के नयाँ जग बसाल्यो त ?
शिक्षा र स्वास्थ्य जस्ता सवाल यति धेरै नाफामुखी र महँगो पनि भइरहने र ती कम्युनिस्टका पोल्टामा परिरहनुले के संकेत गर्छ ? आफूहरू राज्यकोष दुरूपयोग गर्दै विदेशमा उपचार गर्ने । अनि यता आफ्ना सामान्य नागरिक सामान्य उपचार नपाई मर्ने । अनि कम्युनिस्ट भन्दै आफूहरू सर्वहारा, गरिबको पक्षमा छु पनि भनिरहने । यो प्रचण्डपथ हो कि पाखण्डपथ ?
पाखण्डपथका यस्ता उदाहरण प्रशस्त छन् । अब प्रचण्डलाई अन्तिम अवसर छ । पाखण्डपथबाट गाडी मोड्ने कि यसमै कुदिरहने ? पाखण्डपथमा दौडिने तर प्रचण्डपथमा हिँडिरहेछु भन्न लाज मान्नुपर्छ । किनकि शब्द उस्तै भए पनि पाखण्डपथलाई प्रचण्डपथ पढ्ने गरी नागरिक अब त्यति निरक्षर पनि छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया