सम्पादकीय

सम्पादकीय

सूर्यबहादुरहरूलाई बाँचिरहन दिन सरकारको योजना के छ ?

इकागज |
बैशाख १६, २०७८ बिहीबार १०:३३ बजे

घुम्दैफिर्दै रुम्जाटार भनेझैँ हामी फेरि उही त्रासद अवस्थामा कैद हुन आइपुगेका छौँ । वर्ष दिनभन्दा लामो यो पट्यारलाग्दो शृंखला कहिले सकिन्छ भन्‍ने प्रश्न जति महत्वपूर्ण छ, यसले ल्याउने समस्याका चाङको सगरमाथा झनै चुलिँदो छ ।

आजदेखि हामी कैद छौँ । लकडाउन छ । यो बाध्यात्मक कदम हो सरकारको । भौतिक दूरी कायम गर्नु कोभिड कहरबाट बाँच्‍न सकिने मुख्य उपाय हो । 


आजका यी सब उपक्रमबारे हामी पोहोर साल जस्तो नयाँ छैनौँ । बच्‍ने उपाय हामी धेरैलाई कण्ठस्थै छ । लकडाउनमा थुनिँदा के गर्ने, के नगर्ने यसमा पनि हामी जानकारै छौँ । संक्रमित भइहालेमा के गर्ने, यो पनि धेरैलाई थाहै छ छ । खास कुरा के हो भने, बच्‍ने उपाय कण्ठ गर्ने होइन, व्यवहारमा उतार्ने हो । 

यो स्वास्थ्य संकटको सबैभन्दा जटिल समय हो । यसमा अहिले तर, वा, तथापि, किन्तु, परन्तु, यदि कुनै फुर्को नजोडी हामी कसरी हुन्छ आफू बाँच्‍नु, अरुलाई बचाउनुपर्छ । आफू आफू बच्‍ने-बाँच्‍ने उपाय गर्नु नै सबै बाँच्‍न सकिने फर्मुला हो । सरकारले दिने आदेश हाम्रै भलाइका लागि हो ।

हामी अनुशासित भइदिएको भए निषेधाज्ञा खास जरुरी नै पर्दैनथ्यो । उसो त सरकार आफैँ भीड मात्र रुचाउँछ, मापदण्ड पालना गर्दैन, उसको व्यवहार अनुकरण गर्ने खालको छैन । तर, यस बहस पछि गरौँला । तर, अहिलेलाई लकडाउन कम गर्नेतिर हामी चुप बसेर, भीड नगरेर योगदान गरौँ । यसबीच सरकार, सक्दो तयारी, उपचार, व्यवस्थापनको काममा अहोरात्र खटियोस् ।

घृणा र अफवाह नबाँडौँ । माया बाँडौँ, खाना बाँडौँ ।

यी सबै प्रक्रियामा छुटेको चासो र चिन्तामा हामी सरकार, सरोकारवाला सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ :  दिनदिनैको कमाइबाट गुजारा गर्ने परिवारका लागि राहतको प्याकेज के छ ? राहत कहिले दिनुहुन्छ ? कमाइ नहुने, बचत नहुने, उधारो नपाउने, धितो नुहुनेहरु कसरी बाँच्‍ने ? ज्याला, मजदुरी गर्ने, सडकछेउ साना पसल थाप्ने, भारी बोक्नेहरुको काम वर्क फ्रम होमबाट त सम्भव छैन, राज्य छ है भन्‍ने अनभूति दिन के गर्नुभयो वा के गर्दै हुनुहुन्छ ? 

गत वर्ष कीर्तिपुरमा भरिया सूर्यबहादुर तामाङको ज्यान गयो, सडकमै । वास्तवमा उहाँ मर्नुभएको होइन, हामी सबैको चरम असफलताबाट उहाँ मारिनुभएको हो । सूर्यबहादुरहरु नमारिऊन् भनेर राज्यसँग के तयारी छ ? घाममा दसौँ किलोमिटर हिँडेर पोहोर साल खुला मञ्चमा निःशुल्क खाना खान जानेको लस्कर लाग्थ्यो । भोकाहरुका लागि सर्वहाराको समाजवादी कम्युनिस्ट सरकारको के योजना छ ? 

खुलामञ्चमा खाना खुवाउँदा लाज लाग्ने विद्यासुन्दर शाक्यज्यू, खानाको तयारी गर्दै हुनुहुन्छ कि खुलामञ्चलाई खाना निषेधित क्षेत्र घोषणा गर्ने, खाना खुवाउनेलाई लाठी लगाउने तयारी ? धरहरा हेरेर भोको पेटमा हराभरा छाउँदैन । राज्यसँग दृढसंकल्प हुनुपर्छ, भोकले कहीँ पनि कसैको ज्यान नजाओस् । भोकले कोही मारियो भने सरकारमा लज्जाबोध, अपराधबोध, प्रायश्चित्तभाव हुनुपर्छ । तर, गत वर्ष यो कुनै छनक पाइएन । 

फ्रन्टलाइनर भएर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी आदिको सेवा-सुविधा सरकारले एक वर्षदेखि नै हिसाब गरेर दोब्बर बनाइदिए पनि केही घाटा हुँदैन होला । यतातिर ध्यान जाओस् । स्वास्थ्य सामग्री, अस्पताल, आइसोलेसन सेन्टर, खानापिनाको व्यवस्था गरियोस् । दीर्घ रोगी, नसर्ने रोगका बिरामीका लागि सरकारले निःशुल्क सवारी चलाओस् । 

यो समय सबैभन्दा जटिल समय हो । आफ्नो घरपरिवार, टोलछिमेकतिरको पनि ख्याल राखौँ । भाक मेटाउन गर्न सकिने ससाना उपकार गच्छेअनुसार सबैले गरौँ । कोठाभाडामा बस्ने संक्रमितलाई घरपटीले घृणा नगरौँ । घृणा, अफवाह, अशान्ति नफैलाऔँ । माया बाँडौँ । खाना बाँडौँ । 


Author

थप समाचार
x