सम्पादकीय
मूर्ति बोल्छ
मूर्तिपूजा गरेर हुन्छ ? अझै पनि सालिक उभ्याउने ? देशको सीमित स्रोत मूर्ति र सालिकमा कहिलेसम्म खर्च गर्ने ?
यस्ता प्रश्न विभिन्न समयमा उठ्छन् । चाहे पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको सालिक बनोस् । वा संगीतकार यमबुद्धको सालिक बन्ने कुरा होस् । वा १५ वर्ष पहिलेदेखि पृथ्वीनारायण शाह र भानुभक्त आचार्यको सालिक तोड्ने प्रसंग होस् । धेरैको तर्क हुन्छ, सालिक संस्कृतिले देशको विकास हुन्न । सालिक बनाउने पैसाले देश विकास गर्नुपर्छ । सालिक फजुल हो ।
तर, यथार्थमा यो के फजुल खर्च नै हो त ?
कलाका विभिन्न रूप हुन्छन् । साहित्य, संगीतमा राज्यले लगानी गरेको छ । किताब प्रकाशन गर्छ । एकेडेमीमा प्राज्ञहरू पाल्छ, सरकार । तर, मूर्ति र सालिकहरूको निरपेक्ष विरोध गर्दा हामी किन सोच्दैनौँ कि यो पनि एउटा विज्ञान हो । यो पनि कलाको रूप हो । यो पनि ललितकलामध्येको कला हो । यो विषयमा संसारभर अध्ययन–अध्यापन हुन्छ । विद्यार्थीहरूले यो कागजमा मात्र हैन, प्रयोगात्मक रूपमा सिक्नुपर्छ ।
हाम्रो हुनुपर्ने विषय त के होला भने कस्ता पात्रको सालिक बनाउने ? कस्ता पात्रको सालिक नबनाउने ? मधेसमा उभ्याइसकिएको भानुभक्तको सालिक तोड्ने कि बरु विद्यापति वा धीरेश्वर झा धीरेन्द्रहरूको सालिक बनाउने कि ? अथवा असान्दर्भिक भए तोड्नेभन्दा पनि उठाउने कि ?
सालिक बाटो छेक्ने गरी राख्ने कि कोठामा राख्ने ? कस्ता सालिक चोकमा उभ्याउने, कस्ता संग्रहालयभित्र सुरक्षित राख्ने ? कत्रा सालिक बनाउने ? कस्ता स्तम्भ बनाउने ? हिजो बनेकालाई के गर्ने ? अब बनाउने कि नबनाउने ? बनाउन परे कसरी बनाउने ?
हिजोका शासकले आफू अनुकूलका बनाए । आजका शासकले पनि आफू अनुकूलका मात्र बनाउने त ? सालिककै विरोध हो भने आफू अनुकूलको किन बनाउने त ? धेरैलाई नारायण गोपाल मन पर्छ । उनको सालिक बन्यो । अनि आजका धेरैलाई यमबुद्ध मन पर्छ भने उनको किन नबनाउने त ? बनाउँदा राज्यकोषको प्रयोग गर्ने कि स्वतःस्फूर्त बन्न, बनाउन दिने ? धुलोमैलो खुवाउँदै बाटैमा किन राख्ने र ? बाटो झन् साँघुरो किन बनाउने र ? बनाउँदा देशमै उत्पादित पदार्थको प्रयोग बढाउने कि ? भक्तपुरमा माटाका भाँडा, कला बनाउनेहरूलाई माटो अभाव भएको छ । स्थानीय सरकारहरूले यो पक्षतिर ध्यान दिने कि नदिने ?
सालिक बनाउनुपर्ने पात्र को हुन् ? अथवा बनाउनै नपर्ने पनि हुन सक्छ । छलफल किन नगर्ने ? ललितकलाका विद्यार्थी र प्राध्यापकको राय किन नसुन्ने ? यी विलासी मात्र हुन् भने राज्यले कलेज नै बन्द गरे भयो, पठनपाठन नै बन्द गरे भयो । तर, यी पनि हाम्रो सम्पदा हुन्, मौलिक कला हुन् भन्ने लाग्छ भने बहस गर्नुपर्यो ।
सालिकको राजनीति के हो ? हिजो त्यत्रा सालिक बने । ती इतिहासको कठघरामा प्रतिनायक ‘सिद्ध’ भएका छन् । प्रतिनायक भए भन्दैमा तिनलाई किन तोडफोड गर्ने ? उठाएर संंग्रहालयमा सुरक्षित राखे भएन र ? रूपमा ती राजा, महाराज, श्री ३ हरूका प्रतिमा हुनन् तर सारमा त ती हाम्रा पूर्वजका कलाकौशल हुन् । ती कलाका विद्यार्थीका लागि शोध सामग्री हुन् ।
हामी कोही नबोल्ने शासक वा कोही साथी छ भने भन्छौँ— मूर्ति बोल्ला बरु त्यो बोल्दैन ।
हामीलाई के थाहा छैन भने मूर्तिहरू त धेरै नै बोल्छन् । ती इतिहास बोल्छन्, सभ्यता बोल्छन्, कला बोल्छन्, संस्कृति बोल्छन् । खराब छन् भनेर थाहा पाउन पनि तिनको संरक्षण हुनुपर्छ ।
आजको पुस्ताले तिनको महत्व नबुझ्ला तर भोलिको पुस्ताले कला कोट्याउनेछ, अनुसन्धान गर्नेछ । त्यसैले मूर्ति तोडफोड गर्नु भनेको मूर्तिकारको हत्या गर्नु हो । किताब जलाइएको विषय समाचार हुन्छ तर मूर्ति तोडफोड गरेको विषय ? अझ ‘प्रतिनायक’हरूका सालिक तोडिनुपर्छ भन्ने ‘विद्वान’का विचार हामी छाप्छौँ । जति नै खराब कृति भए पनि ती पुस्तकालयमा सुरक्षित हुनुपर्छ । कलाको निरपेक्ष विरोध गर्नु हुँदैन ।
यति मात्र कुरा हो, कंक्रिटका धेरै संरचना राज्यले बनाउनु आवश्यक छैन । जसको पायो, उसैको सालिक उभ्याउनेभन्दा पनि सार्वजनिक रूपमा प्रशस्त छलफल हुनुपर्छ । जहाँ सार्वजनिक (सरकारी) स्रोत खर्च हुन्छ, त्यो भूमिगत रूपमा हुनु हुँदैन । साहित्य जस्तै समाजमा मूर्ति, चित्र, प्रतिमा, सालिक, शिलापत्र, ताम्रपत्र, स्मृतिरेखा, प्रयोग भएका हर वस्तु संरक्षित हुनुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया