सम्पादकीय

सम्पादकीय

पृथ्वीनारायण र पुष्पकमल

इकागज |
पुस २७, २०७९ बुधबार १७:५९ बजे

राजा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइएको छ । २०६२-६३को परिवर्तनपछि यसपालिको पृथ्वी जयन्ती धेरै अर्थले फरक बनेको छ । किनकि राष्ट्रिय एकता दिवस र सार्वजनिक बिदाको घोषणा गरिएको छ । र, यसका निर्णयकर्ता पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । 

कुनै बेला पृथ्वीनारायण शाहलाई ‘प्रधान शत्रु’ घोषणा गरेका, उनको सालिक तोड्दै हिँडेका, उनको नाममा रहेका संस्थाहरूको नाम परिवर्तन गर्नुपर्छ भन्दै हिँडेको पार्टीका अध्यक्षले ‘पृथ्वीको पूजा’ गरेका छन् । पृथ्वीवादीहरू पुष्पकमलले पृथ्वीको पूजा गरेपछि पृथ्वीभन्दा पुष्पकमलको बढी पूजा गरिरहेका छन् । यो पुष्पकमल खुसी हुने कुरा हो कि दुःखी ? यो उनैलाई ।


हरेक देशको राज्य निर्माणको इतिहास, किंवदन्ती, परम्परा हुन्छ । वीरताका गाथाहरू गाइन्छन् । 

राज्य निर्माणका क्रममा हिंसारहित इतिहास कतै भेटिँदैन । हरेक देशले आफ्ना केही राष्ट्रिय प्रतीकहरू निर्माण गरेका हुन्छन् । प्रतीकहरू विषयमा समर्थन र फरक मत जहाँ पनि हुन्छ । मानिस सबैले सबैलाई उही रुपमा हेर्नु, देख्नु, सुन्नु, बुझ्नुपर्छ भन्ने छैन । विविधता समस्या होइन, सुन्दरता हो । विविध सोचको घर्षणले नै नयाँ सृजनाको ढोका खोल्छ ।

नेपालमा पनि कोही पृथ्वीनारायण शाहको कर्मलाई राष्ट्रिय एकीकरण भन्छन् भने कोही राज्य विस्तार मात्रै भन्छन् । कोही नेपालका पहिलो राजा भन्छन् भने कोही अन्तिम वंशका ‘पहिलो’ राजा भन्छन् । कोही नेपालीलाई एक सूत्रमा बाँधेको भन्छन् त कोही नेपालीलाई अनेक तहमा बाँडेको भन्छन् । शाहलाई नेपाली कूटनीतिका प्रणेता भन्नेहरू समेत छन् । 

सय वर्षभन्दा लामो राणा कालमा शाहहरू गुमनाम र निरीह थिए । राणा शासनको उत्तरार्धमा पृथ्वीनारायण शाहको गुनगान पहिलो पटक दार्जिलिङमा प्रकाशित भयो । २००७ सालको परिवर्तनपछि पृथ्वी नारायण शाह र शाह वंशको प्रशस्ति सुरु भयो । हाल शासनमा रहेका धेरैजसो नेताहरू पञ्चायत वरपर जन्मे, हुर्के र पढेको हुनाले पनि हुन सक्छ, पृथ्वी नारायणको पाठ्यास्मृति ज्यूँदो छ । ती पाठ्यपुस्तक र ती राष्ट्रिय सञ्चारबाट जीवनभर भावुक हुनु अनौठो पनि होइन ।

हिजो पृथ्वी नारायण शाहको बारेमा आलोचना गर्नेहरू आज आराधनामा जुटेका छन् । हिजोको आफ्नो कथन-कदममा आत्मालोचना नगरीकन अहिलेका गणतान्त्रिक प्रणेताहरू राष्ट्रिय मेलमिलापमा आइपुगेका छन् । हिजो चाहिनेभन्दा बढी आलोचना गरेर गल्ती गरेकाहरु आज चाहिनेभन्दा बढी प्रशंसा गरेर अर्काे गल्ती गरिरहेका छन् । वस्तुपरक हुनै नसक्ने हो ?

हरेक व्यक्तिका गुण र दोष हुन्छन् । पृथ्वी नारायण शाह पनि कमजोरीयुक्त राजा नै हुन् । तर टुक्रिएका स–साना राज्यलाई राज्य विस्तारकै नाममा सही, एक बनाएको, बनाउने जग खजेको सत्य हो । जटिल भूराजनीतिक अवस्थितिमा रहेको नेपाल भौगोलिक रुपमा एक हुँदा अटल रह्यो । यसको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ ।

पृथ्वीवादी अध्येताहरूले पनि पृथ्वीको कीर्तिपुर आक्रमणमा हिंसा भएको भनेकै छन् । तर, यो हुँदै होइन भन्ने अतिवादीहरू पृथ्वीको पूजा गरिरहेका छन् । र, अर्कोतिर पृथ्वी नारायण शाह खराबै मात्र हुन् जसरी कोही बोलिरहेका छन् । पृथ्वीनारायण शाहको जीवनकालको सेरोफेरोमा मानवअधिकार, कानुनी शासन, लोकतन्त्र भन्ने अवधारणा यो पृथ्वीमा खासै थिएन । अन्य शासक जस्तै पृथ्वीनारायण पनि ठूलो भूगोलको राजा हुन चाहन्थे । बल–बुद्धि जेले जसरी हुन्छ, पृथ्वीले जित्दै गए  । उनका सन्तानले पनि बाबुको बिँडो थामे र हालको नेपाल एकात्मक रूपमा उभियो  । 

पृथ्वी ‘देउता’ पनि होइनन्, ‘दानव’ पनि होइनन् । उनी मानव हुन् । कमीकमजोरी मानव सँगसँगै हिँड्ने छायाँ हो । कमजोरी केलाउनु भनेको उनको असम्मान-अपमान होइन र राष्ट्रिय बिदा दिनु पनि एक मात्र सम्मान होइन । देशका हरेक नागरिक आफ्ना ‘देवता’ चुन्न स्वतन्त्र छन्  । आलोचना, समालोचनाले कोही कमजोर हुँदैन बरू उसलाई वस्तुनिष्ठ र यथार्थ पात्रका रूपमा किंवदन्तीभन्दा माथि उठाउँछ । 


Author

थप समाचार
x