सम्पादकीय
विमान दुर्घटना : यथार्थ छानबिन होस्
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी अहिलेसम्म विमानमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विमानमा ५३ जना नेपाली, पाँच भारतीय, चार रसियन, अस्ट्रेलिन एक, अर्जेन्टिनी १, कोरियन, २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चारजना चालक दलका सदस्य थिए । पोखरा विमानस्थलदेखि २ किलोमिटर वर सेतीको खोंचमा विमान खसेको थियो । यो दुर्घटनाले नेपाली आकाश सुरक्षित नभएको देखाएको छ । विशेष गरी यती एयरलाइन्स र यसकै अर्काे सहायक कम्पनी तारा एयर गरी सन् २००४ देखि हालसम्म सातवटा विमान दुर्घटनामा परिसकेका छन् ।
यसमध्ये तारा एयरको कूल पाँचवटा विमान दुर्घटनामा परेका थिए, जसमध्ये तीनवटा मृत्युदायी दुर्घटना थिए । काठमाडौंबाट लुक्लाका लागि उडेको यती एयरलाइन्सको ट्वीनअटर जहाज २५ मे २००४ मा दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । त्यस्तै सन्् २००६ को २१ जूनमा यती एयरलाइन्सकै ट्वीनअटर जुम्ला विमानस्थलमा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित नौजनाको ज्यान गएको थियो । अवतरणका क्रममा यती एयरलाइन्सको विमान सन् २००८ को अक्टोबरमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । तारा एयरको ट्वीनअटर ओखलढुंगाको मानेडाँडामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । ताराकै जहाज सन् २०१६ को २४ फेब्रुअरीमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो ।
विमान दुर्घटनाका यी शृंखलाहरुले यो कम्पनीको हवाई उडान सुरक्षा, विश्वसनीयता, गुणस्तरीयता, व्यवस्थापन लगायत थुप्रै विषयमा प्रश्न उठाएको छ ।
कुनै पनि जहाज सही तवरले उडान भर्न र अवतरण गर्न मौसम, उपकरण, सञ्चार, नियमन आदिलगायत सबै पक्षको एकसाथ सहयोग चाहिन्छ । कुनै एक पक्षको मात्र गल्ती वा कमजोरीले घातक दुर्घटना निम्तिन सक्छ । हाम्रो सन्दर्भमा नियमन अति कमजोर छ । त्यही भएर हाम्रो उडानलाई युरोपियन युनियनलगायत आइकाओले कालो सूचीमा राखेको थियो । कालोसूचीमा राखेर विश्वका सामू नेपालको हवाई यात्रा असुरक्षित छ भन्ने सन्देश गइरहँदा पनि कुनै पनि दलका सरकारले यस्तो कालोसूचीबाट हट्न गर्नुपर्ने सुधारात्मक क्रियाकलाप कहिल्यै गरेन । विमान दुर्घटना हुन्छ अनि आयोग बन्छ । अनि हरेक आयोगले दोष मृतक विमानचालकमाथि लगाउने गर्छ । त्यसपछि अर्काे विमान दुर्घटना नभएसम्म यसखाले विषय र मुद्दाले चर्चासमेत पाउँदैन ।
जहाजको अवस्था ठीक थियो छ थिएन वा छ कि छैन भन्ने विषय सधै महत्वपूर्ण हुन्छ । यती एयरलाइन्सको आज भएको विमान दुर्घटनाको प्राविधिक छानबिन होला, त्यो आफ्नो ठाउँमा छ । त्यति धेरै मानिसको मृत्यु भइसकेपछि छानबिन गरेर मात्र उनीहरुको जीवन फर्कने होइन । पटक–पटक हुने दुर्घटनाबाट नेपालले कहिल्यै पाठ सिकेन भन्ने गुनासो विदेशीहरुले समेत गर्दै आइरहेका हुन् । यसो हुनुमा नागरिक उड्डयन प्राधिकरणमा पर्यटन मन्त्रीले नियुक्त गर्ने पात्र धेरै हदसम्म जिम्मेवार हुनुपर्ने हो । वरिष्ठता मिचेर नियुक्त गरिने त्यस्ता पात्रको योग्यतामाथि जतिसुकै विवाद उत्पन्न भए पनि पर्यटन मन्त्री निच मारेर बस्ने, आफ्नो स्वार्थ मात्र हेर्ने गर्दा अनुगमनकारी निकाय कहिल्यै प्रभावकारी हुन नसकेको हो ।
नेपालको भौगोलिक जटिलता आफैमा चुनौतीपूर्ण छँदैछ । त्यसमाथि अनिवार्य रुपमा अपनाउनुपर्ने सजगता, पालन गर्नै पर्ने उड्डयनका नियमहरु, नियमनकारी निकायले गर्नुपर्ने कामहरु उपेक्षित हुँदा अक्सर विमान दुर्घटनामा परेका हुन्छन् । उड्न लाग्दा सफा रहेको मौसम अवतरणका क्रममा आएर एक्कासी बिग्रने गर्छ । यसले नेपालको उड्डयन क्षेत्र सधैं चुनौतीपूर्ण बनाइदिएको छ । त्यसमाथि नियमनकारी निकायका कमी, कमजोरी, सम्झौता गर्ने बानी, अयोग्य पात्रलाई जिम्मेवारी दिने मन्त्रीका चरित्र लगायत सबै जिम्मेवार छन् ।
आगामी दिनमा कुनै पनि विमान दुर्घटना हुन नदिन उड्डयन क्षेत्रको समस्त सुधार कार्य जरुरी छ । फेरि यस्तो कहिल्यै नहोस् । छानबिन आयोगले पनि मृतक चालक दलका सदस्यलाई मात्र दोषी देखाउने प्रवृत्ति त्यागी यथार्थ कुरा के हो सार्वजनिक गर्नुपर्छ । यो दु्र्घटनामा कसको लापर्वाही भएको थियो, त्यसलाई उजागर गरी दोषी उपर कारबाही हुनैपर्छ ।
यस दुखद घटनामा परी ज्यान गुमाएकाहरुप्रति हामी हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै यस दुःखको घडीमा मृतकका परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दर्छाैं।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया