सम्पादकीय
आफ्नै औँलाहरूले धकेलेर तपाईं खोँचमा खसिरहनुभएकाे त छैन ?
हरेकजसोको हातमा अहिले मोबाइल फोन छ । मोबाइल फोन बोक्न नचाहने, किन्न नसक्नेहरूको संख्या सानो मात्र छ, अब । फोनमा धेरै थोक छ, अहिले ।
मोबाइल फोनले संसारलाई मुठ्ठीमा अँठ्याएको छ । फोनमा इन्टरनेट जोडियो भने चाहनेले चाहेको सूचना लगभग पाउन सक्छ । यसको प्रयोगबाट ज्ञान, विज्ञान, सूचना, प्रविधि, मनोरञ्जन, कला, शिक्षा सबथोक लिन सकिन्छ । रोजगारीको, कमाइको क्षेत्र पनि विस्तार गर्न सकिन्छ, यसमार्फत ।
सबथोक भएको माध्यममा राम्रो र नराम्रो, उपयोगी र अनुपयोगी सबै खाले प्ल्याटफर्म उपलब्ध छन् । प्रयोग गर्न जान्यो भने यसका फाइदै फाइदा छन् । प्रयोग गर्न जानेन भने यसका बेफाइदा धेरै छन् ।
लागुपदार्थको लतले भन्दा यसको लतले मानिसलाई बढी बिगार्न सक्छ । मानिसको शारीरिक, मानसिक, बौद्धिक, आर्थिक, सामाजिक, संवेगात्मक, पारिवारिक पक्षमा यसले नराम्रो असर पार्न पनि सक्छ । बालबालिकाका हातमा निस्फिक्री मोबाइल फोन थमाएर हामीले उनीहरूलाई मन्दविष खुवाइरहेका छौँ ।
मोबाइल फोनमा, इन्टरनेटको दुनियाँमा अनावश्यक काममा धेरै झुण्डिँदा जिन्दगी झुरेस्ट पनि हुँदै जान्छ । पढाइ बिग्रिने । व्यायाम र योग बिग्रिने । जागिरका लागि तयारी नपुग्ने । अफिसमा पनि राम्ररी काम गर्न नसक्ने । उद्योगमा काम गर्न नसक्ने । उत्पादकत्व घट्ने । परिवारको कमाइ खुम्चिने । स्वास्थ्य बिग्रिने । उपचारमा धेरै खर्च हुने ।
दिमागमा नचाहिँदा भ्रमको स्टोरले दिमाग भारी हुन्छ । असत्य कुरा, भ्रामक कुराले मनोविज्ञान बिगार्छ । मनोविज्ञान बिग्रिएको मान्छेको सबथोक बिग्रिन्छ । प्रविधिसँगै आउँछ, सोसल मिडियाको कुरा । यसले मानिसलाई धेरै रमाइलो बनाएको छ । तनाव हटाइदिएर केही बेर हल्का बनाएका छ । हल्काफुल्का पनि बनाएको छ । कला प्रस्फुटन गर्न सघाएको छ । व्यापार बढाउन सघाएको छ । जान्नेले यसबाट फाइदा लिएका छन् । (फाइदा क्षणिक हुने सम्भावना धेरै नै हुन्छ ।) चलाउन नजान्नेले सोसल मिडियाको फोहोरी दहमा हामफालेर आत्महत्या गरिरहेका छन् ।
अनावश्यक ‘समाचार’ पढ्ने मात्र होइन, सेयर गर्दै कमेन्ट गरिरहेका छन् । त्यहीँ बाझिरहेका छन् । यो आत्महत्या हो ।
दुर्घटना, हत्या, आगलागीहरूलाई पर्यटकका आँखाले हेरेर रमाइरहेका छन् । दुर्घटनाको सबैले लाइभ गर्नुभन्दा लाइफ बचाउने प्रयास गर्नु, मान्छे हुनुको कर्तव्य होइन र ? अत्यधिक लाइभ बस्नु आफ्नै लाइफ ड्यामेज गर्नु पनि हो । भाइरल हुने चाहकै लागि कुनै पनि काम गर्नु जीवनमा भाइरस लाग्नु हो । ज्यानमा ध्यानको एन्टिभाइरस फिट गर्नु जरुरी छ । कुनै पनि क्षेत्रमा भाइरलहरूको आयु, दीर्घायु छैन । अल्पायुमै सकिन्छ, भाइरलको क्रेज । भाइरल, मुतको न्यानो मात्र हो, एकछिनमा आफैँलाई गनाउन थाल्छ ।
सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनु ठीक छ । तर, तात्तातै हार्दिक श्रद्धाञ्जली भन्न आवश्यक छ र ? परिवारजनले चाहेअनुसार कुनै खबर परिवारजनलाई बिस्तारै सुनाउनै नपाइने युगमा छौँ हामी ।
अस्पतालमा पुगेर बीभत्स फोटो खिचेर शीघ्र स्वास्थ्यलाभको कामना लेखिरहेका छौँ । यो स्वास्थ्यलाभको हैन, स्वास्थ्यक्षतिको कामना हो । रगत, घाउ, पिप, लासका फोटो हाल्न किन हतार ? मान्छेलाई श्रद्धाञ्जली दिन हरियो बाँसमा, चितामा चढेको फोटो हाल्नुपर्दैन । ऊ जीवित हुँदाको फोटो हाल्दा हुन्छ । अझ फोटो भेटिएछ भने उसको मुस्कान बाँडिरहेको हँसिलो फोटो हाल्दा भयो । श्रद्धाञ्जलीमा ब्ल्याक एन्ड ह्वाइट फोटो किन हालिन्छ होला, यतातिर सोच्नुपर्दैन ?
नाबालिक, बलात्कृत, पीडित, दुर्घटितहरूलाई थप तनाव दिने गरी चियो नगर्नुस् । सक्नुहुन्छ, उत्साह बढाउनुस् । सक्नुहुन्न, मौन बस्नुस् ।
सोसल मिडिया पनि मिडिया हो । यसको पत्रकारदेखि सम्पादक तपाईं आफैँ हो । सोसल मिडिया जहाज हो भने तपाईं त्यसको एक्लो पाइलट । तपाईंका औँलाहरूले तपाईंलाई दिनदिनै खोँचमा खसाइरहेका त छैनन् ? खोँच जहाँ भ्रम, झुट, घृणाहरू मात्र थपिन्छन् बढी, बग्छन् कम ।
हातमा इन्टरनेट र मोबाइल फोन छ भन्दैमा जे पायो त्यही पोस्ट गरेर आफ्नो समय बर्बाद नगर्नुस् । आफूजस्तै अरूको पनि समय नष्ट नगर्नुस् ।
सबै विषयमा मत जाहेर गर्नुपर्छ भन्ने छैन । कतिपय विषयमा मौन बस्नुस् । राजनीतिक कार्यक्रमहरूमा जसरी एक मिनेट हैन, दिनमा एक घण्टा मौनधारण गर्नुस् । सकेको मद्दत गर्नुस् । उद्धारमा अवरोध नगरिदिनुस् । मानवीय क्षतिमा भिजिटर बढाउन खोज्ने गरी पोस्ट नगर्नुस् । मान्छे मर्दा भिजिटरको चासो र चिन्ता छ भने तपाईं अस्पताल पुगेर आफ्नो मानसिक स्वास्थ्य जाँच्नुस् ।
आत्महत्या, बीभत्स हत्या गरेका फोटो, भिडियो पोस्ट नगर्नुस् । समाचार बनाउँदा पनि यसलाई विचार गरेर मात्र गर्नुस् । पढ्नेलाई आत्महत्या प्रेरित नगर्ने गरी समाचार लेख्नुस् ।
आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन भनिएको छ । आठ घण्टा मनोरञ्जन भनेको मोबाइल फोन मात्रै हेरिरहनु भनेको होइन । अझ यसमा नपुगेर आठ घण्टाको आराम र आठ घण्टाको कामको समय पनि चोरेर इन्टरनेट सञ्जालका जञ्जालमा नअल्झिनुस् । केही बेर आफैँलाई प्रश्न गर्नुस् । केही बेर राज्यलाई प्रश्न गर्नुस् । राज्यस्रोतबाट तलबभत्ता खानेको चियो गर्नुस् । तर, नाबालिक, बलात्कृत, पीडित, दुर्घटितहरूलाई थप तनाव दिने गरी चियो नगर्नुस् । सक्नुहुन्छ, उत्साह बढाउनुस् । सक्नुहुन्न, मौन बस्नुस् ।
सामाजिक सञ्जाल तपाईंको आफ्नै जग्गा त अवश्यै हो, जग्गामा खुला ट्वाइलेट बनाउन पनि पाउनुहुन्छ । तर, खुला चर्पी लाज र गन्ध, रोग र नैतिकता अनि सामाजिकतासित प्रत्यक्ष सम्बन्धित छ ।
अब जागिरका लागि तपाईंको सीभीभन्दा पहिला तपाईंका पोस्ट हेरिन्छ । तपाईंको चेतना, आईक्यु, प्राथमिकता, क्षमता, मुड त्यहाँ जाँचिन्छ । बिहेका लागि प्रत्यक्ष केटा–केटा हेरिँदैन, पोस्टहरूबाटै छानिन्छ । इन्टरनेटमा तपाईंले पोस्ट गर्ने फोटो/भिडियोहरू तपाईंको व्यक्तित्वको परिचय हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया