सम्पादकीय
कार्की र पोखरेलहरूको चिन्ता राज्य किन सुन्दैन ?
आज फागुन ५ गते इकागजमा लगालग दुई लेख प्रकाशन भए । लेख कुनै चानचुने व्यक्तिका नभएर राज्यका उच्च ओहोदामा बसिसकेका व्यक्तिका हुन् । दुवै लेखकको छवि समाजमा राम्रो छ । पदबाहिर रहेका त धेरै इमानदार हुन सक्छन् तर पद पाएपछि मात्र उनीहरूको समग्र व्यक्तित्व हेर्नुपर्ने हुन्छ । पद परीक्षा हो भने परीक्षा अगावै वा परीक्षा नै नदिई कोही पनि प्रथम हुन सक्दैन । पद अर्थात् परीक्षापछि पनि ऊ निष्कलंक रहन सक्यो भने मात्र उनीहरूलाई पत्याउन सकिन्छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको लेख छ— जहाँ भ्रष्टाचार गरे समाजबाट बहिष्कृत हैन, पुरस्कृत भइन्छ !
उनले यो लेखमा समाज अधोगतितिर गएकामा चिन्ता गरेकी छन् । नयाँ पुस्ताबाट केही अपेक्षा भए पनि ती पनि रणभुल्लमा परेकामा चिन्तित छन् । भ्रष्टाचार गरेर पैसा कमाउनु अपराध हो भन्ने स्थापित हुन नसकेकामा उनको ठूलो चिन्ता छ । राज्यका जिम्मेवार पात्रहरूलाई जवाफदेही बनाउनतिर नलागेकामा उनी दुःखी छन् । देशमा गरिबी, असमानता, विभेद, कुशासन छाउनु देश खतरामा पर्नु हो भन्ने उनको निष्कर्ष छ ।
यस्तै आज फागुन ५ गतेदेखि सुर्खेतमा सुरु भएको कर्णाली उत्सव, कुडा कर्नालीकामा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले विद्वत् प्रवचन दिएका छन् । निर्वाचन र लोकतन्त्र शीर्षकमा उनले दिएको लामो सम्भाषण सदाचारीहरू लाचार र दुराचारीहरू पूजित हुने परिस्थिति बदल्नुपर्छ इकागजले पूरा छापेको छ ।
यो सम्भाषणमा पनि पूर्वप्रधान न्यायाधीश कार्कीको जस्तै चिन्ता छ । निर्वाचन प्रणालीको दुरूपयोग भएकामा पोखरेल चिन्तित छन् । जिम्मेवारी र जवाफदेही कुन चरीको नाम हो भन्ने जस्तो भइसकेको भन्ने उनलाई लागेको छ । राजनीतिमा इमानदार पात्र हराउने, पैसावाल पात्र मात्र हाबी हुने स्थितितर्फ उनको चिन्ता छ । लोकतन्त्रको विकल्प खोज्न नहुने बरु यसैलाई थप समावेशी, थप सहभागितामूलक, थप परिष्कृत गर्नुपर्छ भन्ने उनको विचार छ ।
भ्रष्टाचार गर्नेको मनमा म समाजबाट तिरस्कृत हुन्छु कि भन्ने डर हुनुपर्छ, म पुरस्कृत भइहाल्छु भन्ने भर हुनु हुँदैन ।
कार्की र पोखरेल प्रतिनिधि पात्र मात्र हुन् । आमनागरिक त उसै पनि निराश, हतास, उदास छन् । अब त राज्यका पदमा रहिसकेको, परिवर्तनका लागि लड्ने पात्र समेत हार खाएजस्तो सुनिन थालेको छ । समाज आन्दोलित हुन छोडेर निराश हुनु राष्ट्रिय निराशा हो । राज्य जब्बर पात्रहरूको हातमा पुगेको भन्ने स्पष्ट देखिन्छ । कुर्सीवालहरूमा कानुनको, समाजको कसैको डर देखिन्न । आफू र आफ्ना वरिपरिका पात्रलाई खुसी राखे सब थोक मिल्छ भन्ने भ्रममा उनीहरू धनलम्पट, शक्तिलम्पट, सत्तालम्पट बनेका छन् ।
कानुनभन्दा माथि विवेक, न्याय र मानवता छ । मानवीय पाटो पनि ह्रासोन्मुख छ । सामान्य उपचार पनि देशमा हुन नसक्ने गरी देश बर्बाद बनेको छ । शिक्षा सबैभन्दा नाफाको क्षेत्र बनेको छ । कृषि त अब लगभग नासिइसक्यो । किसान सबैभन्दा पीडित छन् । जताततै सृजित असुरक्षा निम्त्याएर राज्य नै फेल गराउने मिसनमा कुर्सीवालहरू लागेका त छैनन् भन्नुपर्ने अवस्था आइसकेको छ ।
समस्या धेरै छन् । समस्याबाट भागेर साध्य लाग्दैन । समस्या मानिसलाई नै पर्छ । समस्यासँग जुधेर जो सकारात्मक परिवर्तनका लागि लड्छ, उही जिउँदो मान्छे हो । हस्–हस् भन्ने, दास बन्ने, लम्पट हुने, निराश हुने मानिस साहित्यकार विजय मल्लका भाषामा ‘जिउँदो लास’ हो । हामी ‘जिउँदो लास’ बन्नुहुँदैन । हामी लड्नुपर्छ, निरन्तर लड्नुपर्छ, न्यायका लागि, सकारात्मक परिवर्तनका लागि ।
जनता जाग्नुको विकल्प छैन । अनि जनता लोकतन्त्र विरोधी बनेर जाग्ने होइन । लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न राज्यमा बसेर डाडुपन्यु समाएका पात्रलाई निरन्तर प्रश्न गर्नुपर्छ । उनीहरूलाई भन्नुपर्छ, हाम्रो कमाइ (कर) खाएबापत तिमीहरूले देश र देशवासीलाई के राम्रो दियौं ? सके राम्रो गर, सक्दैनौँ भने खुरुक्क पद छोड भन्न सक्नुपर्छ ।
भ्रष्टाचार गर्नेको मनमा म समाजबाट तिरस्कृत हुन्छु कि भन्ने डर हुनुपर्छ, म पुरस्कृत भइहाल्छु भन्ने भर हुनु हुँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया