सम्पादकीय

सम्पादकीय

देशमा जताततै किन अनिद्राहरू मात्र छन् ?

इकागज |
फागुन १८, २०७९ बिहीबार १८:१६ बजे

लोक सेवा आयोगका सूचनाहरू कत्तिको हेर्ने गर्नुभएको छ ? हेर्नुहुन्छ भने त्यहाँ देख्नुहुन्छ— फलानो पदमा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् ।

कति पदमा त माग पद जति पनि दरखास्त नपर्ने अवस्था छ । लोकसेवा आयोगको लिखित परीक्षामा जस्ट ४० प्रतिशत पनि नल्याउने प्रमाणपत्रधारी धेरै देखिन्छन् । मौखिक पनि पास भएर पोस्टिङमा निस्किनेहरू ८०/९० प्रतिशत ल्याएर निस्केका विलक्षण र योग्य पात्र होइनन्, ती ४० प्रतिशत कटाएका योग्य हुन् । 


यस्तै शिक्षक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सूचनातिर ध्यान दिनुभयो भने पनि अवस्था उस्तै छ । कतिपय पदमा त एक जना पनि पास नहुने अवस्था छ । दरखास्तसमेत नपरेको देखिन्छ ।

उत्तीर्णांक मात्रमा शिक्षक लाइसेन्स पाइन्छ । तर, लाइसेन्समै १० प्रतिशतभन्दा कम उत्तीर्ण भइरहेका छन् । किन यस्तो भइरहेको छ ?

एकातिर बेरोजगारीको तीतो यथार्थ । अर्कातिर जागिरको अवसर खालीखाली । त्यो पनि सरकारी जागिर । ‘खोजी आऊ पहिले सरकारी जागिर’ भन्ने जमाना के अब उल्टेकै हो ? 

२०७२ को संविधान आएपछिको एउटा सकारात्मक परिवर्तन के हो भने नेपाल सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएका संस्थान, समिति, प्रतिष्ठान, ब्यांक, निगम, प्राधिकरणहरूमा लोकसेवा आयोगले कर्मचारी छान्छ । तिनमा लोकसेवा आयोग प्रवेश गरेपछि सोर्स र फोर्स चल्दैन भनिन्छ । सेना र प्रहरीमा लोकसेवाले जाँच लिन थालेपछि थेरै नै फेल भएका उदाहरण पछिल्लो समय आइरहेकै छन् । 

सरकारी क्षेत्रका त यी उदाहरण मात्र भए । 

गैरसरकारी र निजी क्षेत्रमा पनि यस्तै समस्या छ । चाहे बौद्धिक कर्म होस् वा शारीरिक । सबैतिर योग्य, जाँगरिला मानव संसाधनको खडेरी नै छ । 

चिकित्सकमा दरखास्त आउँदैन । सबैभन्दा योग्य व्यक्तिको रोजाइ शिक्षण र प्राध्यापन हुनुपर्ने हो तर ठीक उल्टो अवस्था छ । लोकसेवा पास गर्न नसकेको, विदेश जान नसकेको पात्र पढाउने काममा लागेजस्तो माहौल छ । शिक्षालयहरू भर्ती केन्द्र हुँदा, शिक्षकको मर्यादा पानीमा मिसिएको हुँदा शिक्षक बन्न अब सकेसम्म कोही चाहँदैन । 

नाम चलेकै निजी विद्यालयले योग्य शिक्षक पाइरहेका छैनन् । मासिक ४०/५० हजार रुपैयाँ पाउने पदमा मानिस आइरहेका छैनन् । किनकि धेरैलाई आफ्ना प्रमाणपत्रमा विश्वास छैन । शिक्षा र सीप, भाषा र विषयवस्तु, प्रविधि र आँटमा कमजोर पुस्ता तयार भइरहेको छ । पुस्ता कमजोर तयार हुनुमा उनीहरू स्वयंको भने कुनै गल्ती छैन । 

हाम्रो शिक्षा यतिसम्म दलीय भागबण्डामा गयो कि अयोग्य शिक्षकद्वारा, अपाठ्य शिक्षा पढाएर प्रमाणपत्र बाँडियो । बजारमा जस्तो श्रमको आवश्यकता छ, शिक्षा त्यतातिर छैन । शिक्षा न व्यावहारिक छ, न वैज्ञानिक, न अद्यावधिक, न आलोचनात्मक । शिक्षा व्यापारको विषय भएको छ, बस् ।

समाचार राम्ररी लेख्ने, राम्ररी सम्पादन गर्ने पत्रकारको खाँचो सबैतिर छ । पत्रकारितामा वा कुनै विषयमा स्नातक–स्नातकोत्तरको डिग्री छ । ‘के गर्नुहुन्छ त ?’ भनेर सोध्दा भन्छन्— जे अह्राउनुहुन्छ, सबै गर्छु । 

सञ्जीव उप्रेती संसारका जुनै विश्वविद्यालयमा पनि उभिँदा उनको लेक्चर सुन्न कान तयार हुन्छन् तर यहाँ उनलाई गालीगलौज गर्न मुख तयार छन् । 

आफ्नो सबल पाटो नै नचिनेको पुस्ता बजारमा काम खोजिरहेको छ । पढाइले आफूमा अन्तनिर्हित क्षमता पहिचान गर्न सघाउनुपर्ने हो । यस्तो त भइरहेको छैन । 

शिक्षा वा अर्थ, राजनीति वा कूटनीति । जुनसुकै बिटमा रिपोर्टिङ गर्ने, पढाउने, लेख्ने, बोल्नेसँग यी विषयमा आधारभूत ज्ञान हुनुपर्ने हो । उनीहरूले आफ्नो विषयमा एक सरो लिट्रेचर रिभ्यु त गर्नैपर्ने हो । तर, पाठक नै नबनी लेखक भइरहेका छन् । पाठक नै नबनी राम्रो लेखक, शिक्षक, प्राध्यापक, पत्रकार बन्न सकिँदैन । बनिएको छ र टिकिएको छ भने योग्यताले हैन, केवल सोर्स–फोर्सले । 

सर्टिफिकेटहरूमा ए प्लस छ तर सृजनात्मक जोस र आलोचनात्मक सोचको कमी छ । नेपाली वा अंग्रेजी कुनै एक भाषामा छाप्न योग्य सामग्री स्वलेखन गर्न सक्ने सीप छैन । सिक्ने रहर पनि खासै छैन । 

विश्वविद्यालयमा बीसौँ वर्ष राम्ररी प्राध्यापन गरेको डाक्टरलाई एकछिन पनि नसुनी मुखमुखै लाग्ने, लाञ्छना लगाउनेलाई के भन्ने ? सञ्जीव उप्रेती संसारका जुनै विश्वविद्यालयमा पनि उभिँदा उनको लेक्चर सुन्न कान तयार हुन्छन् तर यहाँ गालीगलौज गर्न मुख तयार छन् । यस्तो ‘शिक्षित’ पुस्ताले पढेको शिक्षा, सिकेको सीप, पछ्याएको ज्ञान र प्रतिपादन गरेको सृजना के हो ? 

प्रविधि अबको हर काममा चाहिने सीप हो । समस्या के छ भने, प्रविधिमा पकड भएकाहरू विषयवस्तुमा कमजोर छन् । विषयवस्तुमा पकड भएकाहरू प्रविधिसित चाहिने जति परिचित छैनन् । 

घरमा, मोबाइल फोनमा इन्टरनेट छ, तर अनेकथरी सोसल मिडिया चलाउन २४ घण्टा पनि कम भएको छ । इन्टरनेटमा सिक्ने कुरा कति छन् छन् । यसबाट आर्थिक लाभ लिन सकिने व्यापारका, सृजनाका क्षेत्र कति छन् छन् । तर, यसबाट लाभ लिन चुकेका छन्, पाका–नवीन सबै पुस्ता । 

शारीरिक श्रम गर्नेको पनि यहाँ ठूलो खडेरी छ । घरमा बिग्रेको बिजुली बनाइदिने, धारा बनाइदिने, ढल सफा गरिदिने, प्रेसर कुकर र ग्यास चुलो बनाइदिने मान्छे पाइन छोडेको छ । सिकर्मी, डकर्मी, कवाडी सबैजसो बाहिरबाटै आइरहेका छन् । भारतीय मात्र हैन, बंगालीहरू पनि पूर्वी तयारमा काम गरिरहेका छन् । उनीहरू एकछिन घरमा हेर्न आएको मात्र वा एक घण्टा काम गरेको एक हजार रुपैयाँभन्दा माथि कमाइ गर्छन् । तर, मान्छे पाइँदैन । 

बजारमा कस्तो श्रमिक चाहिएको छ ? यतातिर सरकारलाई चासो छैन । सीप सिक्ने र सिकाउनेतिर कसैलाई चासो छैन । विदेशमा रुखमा पैसा फल्छ जसरी सबलाई विदेशको तृष्णाले व्याकुल बनाएको छ । 

हो, यो देशमा केही गर्छु भन्नेलाई पाइला–पाइलामा गाह्रो छ । प्रेमप्रसाद आचार्यको जस्तो हबिगत हुनुपर्छ । तर, धेरै लगानी नगरेर पनि सीप सिकेर आत्मनिर्भर बन्न सकिन्छ ।

संसारमै सबैभन्दा कम आवर काम गर्ने के नेपालमै हो त ? दिनमा आठ घण्टा सोसल मिडियामा डुबेपछि सुत्ने कति बेला ? सोसल मिडियामा डुब्ने समय पढ्ने, सिक्ने, सुन्ने, लेख्ने, सोच्ने, कल्पने, भेटघाट गर्ने, हिँडडुल गर्ने, केटाकेटीसित खेल्ने, बूढाबूढीसित गफिने समयबाटै चोरिएको हैन र ? सीभी जति खत्रा भए पनि फेसबुकमा तथानाम लेख्ने, तथानाम कमेन्ट गर्ने, दिनमा २० वटा ट्वीट लेख्ने/२० वटा टिकटक बनाउनेले जागिर/काम पाउँदैन । 

नेता, अवैध व्यापारीसित दिनका दिन सेल्फी पोस्टिने, भ्रष्टाचारी र दुराचारीको जयजयकार गर्नेको बायोडाटामा जति नै फूलबुट्टा भरिएको होस्, उसको आइक्यु, औकात र बर्कत सेल्फी र त्यसको क्याप्सनबाटै छर्लंग हुन्छ । उसले काम त पाउला तर राम्रो ठाउँमा, राम्रो काम पाउँदैन । पाएछ भने पनि त्यो टिक्दैन । चाकडी र चाप्लुसीबाट पाएको काम मुतको न्यानो हो, एकछिनमा आफैलाई गनाउन थाल्छ । 

मोबाइल फोनको व्यसन मान्छेले सुत्न, हाँस्न, कुराकानी गर्न, पढ्न, सुन्न भुलेको छ । निद्रा नै राम्ररी नपुगेको व्यक्तिको शरीर शिथिल हुन्छ । कुमार नगरकोटीको नाटक ‘बाथटब’को पात्र ‘अनिद्रा’हरू मात्र बढेका छन्, देशमा । जागिर खोज्न आउनेहरू, विदेश जानेहरू पनि अनिद्राहरू मात्र छन् । ड्राइभर र डाक्टर, पाइलट र पुलिस, शिक्षक र प्राध्यापक, समाचार वाचक र लेखकसमेत अनिद्रा छन् । अनि हुँदैन त दुर्घटना ?

शिथिल मानिस सृजनात्मक हुनै सक्दैन, उसले राम्ररी सोचेर काम गर्नै सक्दैन, ऊ अल्छी छ, नेटव्यसनमा छ भनेर जागिरदाताले काम दिँदैन । अनि क्यार्नी !

दिनभरि मोबाइल फोनमा अनावश्यक भुलेर, बेरोजगार/बेकामे बसेर आफ्नो आर्थिक, शारीरिक, मानसिक स्वास्थ्य खराब गर्नुभन्दा बेलैमा सीप सिकौँ । हो, स्वदेशमा श्रमको सम्मान छैन । श्रम गर्ने इमानदारलाई अपमान गरिन्छ, अनि हेपिन्छ पनि । बरु ठगेर खाने भ्रष्टलाई पूजा गरिन्छ । तर, परिवर्तन भागेर हैन, भिडेर मात्र सम्भव छ । भाषा, प्रविधि, सीप सिक्दा विदेशमा गएर काम गर्न पनि सजिलो हुन्छ । नेपालमा पनि काम पाइने सम्भावना बढी हुन्छ ।
 

तस्बिर:कुमार नगरकोटी लिखित तथा घिमिरे युवराज निर्देशित नाटक ‘बाथटब’मा अनिद्राका रूपमा भूषिता वाशिष्ठ । साथमा नीर शाह र ब्रजेश । ‍(नाटकबाट लिइएकाे)
 


Author

थप समाचार
x