सम्पादकीय

सम्पादकीय

पौडेललाई शीतल निवासको ‘हटसिट’मा स्वागत तथा शुभकामना

इकागज |
फागुन २५, २०७९ बिहीबार १७:१५ बजे

मुलुकले गणतन्त्रपछि तेस्रो राष्ट्रपतिका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पाएको छ । गएको पुसमा एमाले–माओवादीको समीकरणसँगै राष्ट्रपति एमालेको पोल्टामा पुगिसकेको थियो, तिनीहरूबीचको सम्झौता हेर्दा । तर, यसपालि राष्ट्रपति पद पौडेलको ‘भाग्य’मा लेखिएको रहेछ । दुई महिनामै कम्युनिष्ट पार्टीद्वयबीचको सम्झौता भंग गर्दै माओवादी केन्द्रले राष्ट्रपति पदका निम्ति कांग्रेसलाई सहयोग गर्ने नीति लियो । फलस्वरुप पौडेललाई शीतल निवासको ‘हटसिट’मा पुर्‍याएको छ ।

२०४८ पछि पदीय हिसाबले उनलाई मन्त्रीदेखि उपप्रधानमन्त्री र सभामुख पदसम्म मिल्यो । तर, उनले आकांक्षा राख्दा राख्दै पनि प्रधानमन्त्री र कांग्रेसको सभापति पद मिलेन । तर, जीवनको उत्तराद्र्धमा उनलाई राष्ट्रपति पदको ताज मिलेको छ । विद्यार्थी जीवनबाटै प्रजातान्त्रिक लडाईँमा होमिएका पौडेल निरन्तर कांग्रेसमै रहे । प्रजातन्त्र प्राप्तिको लडाईं लडिरहँदा राजद्रोहको अभियोग खेप्दै १४ वर्षभन्दा जेलको चीसो छिँडीमा बिताएका हुनु ।


जीवनकालभरि ‘प्रजातन्त्र’लाई आदर्श बनाएका पौडेल राज्यको मर्यादाक्रममा एक नम्बरको पदमा पुगेका छन् । त्यो पदमा पुगेपछि मुलुककै अभिभावकत्व र संविधानको संरक्षकको जिम्मेवारी बहन गर्नुपर्छ । विगतका राष्ट्रपतिले संविधानविपरीतका क्रियाकर्ममा संलग्न रहे या भएको तीतो पृष्ठभूमिलाई पुनरावृत्त नगरेको खण्डमा मात्र सफल राष्ट्रपति बन्न सक्छन् ।

‘प्रजातान्त्रिक समाजवाद’ लक्ष्य बनाएका पौडेलले राष्ट्रपतिको कुर्सीमा बसेपछि जीवनभरको त्यो राजनीतिक धेय पूरा गर्नुपर्नेछ । त्यसो त, पौडेलले ‘संविधानको रक्षा’का खातिर राष्ट्रपति उम्मेदवार भएको धारणा व्यक्त गरेका थिए । अर्थात्, शीतल निवासबाट बिदा हुँदै गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी ‘संविधानको रक्षक’ नभएको संकेत थियो । जुन व्यवहार भण्डारीबाट भयो, त्यो व्यवहार आफूबाट नहुने आसय उनले व्यक्त गरेका छन् । 

पौडेलले निरन्तर ‘अथरिटेरियन रुल’ अर्थात् सर्वसत्तावादी शासनविरुद्ध लड्ने र आवाज उठाइरहने नेता हुन् । उनी निरंकुश पञ्चायतकालभरि र २०६१ माघ–१९ पछि राजाको निरंकुश अधिनायकत्वविरुद्ध पनि लडेकै हुन् । उनी संसदीय व्यवस्थाका हिमायती हुन् । संविधान निर्माण हुँदै गर्दा ‘राष्ट्रपतीय व्यवस्था’को पक्षमा उभिँदै ‘आलंकारिक राष्ट्रपति’को वकालत गरेकै हुन् । उनले राष्ट्रपतीय व्यवस्था अधिनायकवादी वा सर्वसत्तावादी शैलीमा अघि बढ्न सक्ने खतरा देखाउँदै संसदीय व्यवस्थाको वकालत गरेका थिए ।

आलंकारिक राष्ट्रपतिको पक्षमा वकालत गरेको हुँदा त्यही थान्कोमा रहँदै शासकीय वा राजनीतिक हिसाबले शीतल निवासलाई सँधैभरि चीसो बनाई राख्नुपर्नेछ । विद्यादेवी भण्डारीको राष्ट्रपतीय कालमा शीतल निवासमा पार्टी कार्यालयको भझल्को आउँथ्यो । त्यसअतिरिक्त अनुकूलका प्रधानमन्त्री केपी शर्मा ओली हुँदा रातारात निर्णय गरिदिने र प्रतिकूल दलका प्रधानमन्त्री हुँदा सरकार–संसद्का निर्णयलाई अनुमोदन नगरेका दृष्टान्त पनि हाम्रो सामु छन् । संविधानतः उनलाई त्यसरी निर्णय अनुमोदन नगर्ने अधिकार थिएन । तर, संविधानविपरीत प्रस्तुत हुँदै गैरसंवैधानिक क्रियाकलापमा संलग्न भएको वा रहेको जगजागेर नै छ । प्रतिनिधि सभा विघटनका हकमा राष्ट्रपतिले दुई पटक लिएका निर्णयसँगै मुलुक र राजनीतिले संकट खेप्नुपरेको थियो । 

राष्ट्रपति भण्डारीद्वारा संविधान–कानुनविपरीतका जुन कर्म भए, पौडेलले ती विगतलाई ‘खराब इतिहास’को थान्कोमा राख्नुपर्छ । खराब इतिहास दोहोरियो भने झन् विध्वंश निम्त्याउनेछ । विगतमा पौडेल प्रसिद्ध विद्धान स्यामुएल पी. हन्टिङटन यो वाक्यांश खुबै प्रयोग गर्थे, ‘तेस्रो विश्वमा लोकतन्त्रलाई खतरा अरुबाट भन्दा पनि लोकतान्त्रिक तरिकाले निर्वाचित नेताहरूबाटै छ ।’

हो, यतिखेर लोकतन्त्रकै लागि लडेका नेताहरूबाट लोकतन्त्रमाथि बढी खतरा बढ्दै गएको छ । लोकतान्त्रिक नेताहरूबाट संसद्–शासन सञ्चालनमा देखाएको रवैयाकै कारण मुलुक संकट र समस्याग्रस्त बन्दै गएको हो । धरातलीय वस्तुस्थिति पौडेलले बुझेकै हुनुपर्छ, राजनीतिक द्वन्द्वका कारण परिस्थिति पेचिलो बन्दै गएको छ । यही समस्याबीच दक्षिणपन्थी–अधिनायकवादी तत्वहरू फेरि अनेक रुप–आवरणमा उदाउने प्रयत्नमा छन् ।

अधिनायकवादी शासनविरुद्ध पटक–पटक क्रान्ति वा जनआन्दोलन गर्नुपरेको ‘अभिशप्त इतिहास’का भुक्तभोगी पौडेल पनि हुन् । उनले त्यस्ता अभिशप्त इतिहासका कालखण्ड र पात्रहरूका रवैया देखेकै हुन् । त्यो पृष्ठभूमिमा राष्ट्रपतिको कुर्सीमा पुगेपछि लोकतान्त्रिक मूल्य–मान्यता र आदर्शमा रहँदै मुलुकलाई सही बाटोमा लैजान उनको भूमिका महत्वपूर्ण रहनेछ । 

संविधानमा राष्ट्रपतिका निम्ति जे–जस्ता अधिकार र कर्तव्यका सीमा तोकिएका छन्, त्यहीभित्र रहँदै जनभावना अनुरुप चल्ने हो भने लोकतन्त्र सुदृढीकरणकै बाटोमा जानेछ । त्यो पदलाई दुरुपयोग गरियो भने मुलुक भड्खालोमा पर्न सक्छ । त्यसो हुँदा राष्ट्रपतिको कुर्सीमा बसेपछि शक्ति सञ्चयको धृष्टता नगर्नु, पहिलो शुभ काम हुनेछ । संवैधानिक राष्ट्रपतिको दृष्टान्त पेश गर्नुस् । गणतन्त्रको गरिमा गिराउने काम नहोस् । गणतान्त्रिक मुलुकको तेस्रो राष्ट्रपति पौडेललाई सफलताको शुभकामना ।


Author

थप समाचार
x