सम्पादकीय

सम्पादकीय

कार्यकाल सकिएका दिन सबैले भनून्- श्री रामचन्द्रकी जय !

इकागज |
फागुन २९, २०७९ सोमबार १८:६ बजे

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलको बास अब बोहराटारबाट शीतल निवासमा सरेको छ । दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कुर्सीमा पौडेल विराजमान भएसँगै नेपाल राष्ट्र प्रमुख अब पौडेल बनेका छन् । पहिलो राष्ट्रपति रामवरण थिए पनि तेस्रो राष्ट्रपति रामचन्द्र । राम–राम नेपालको विशेषता बनेको छ । महाकाव्यिक पात्र रामले जस्तो मिथक बोक्छन्, ‘रामराज्य’ भन्ने अवधारणाले जस्तो लक्षणा र व्यञ्जना बोध गराउँछ, के रामचन्द्र त्यस्तै बन्लान् ? नेपाल राज्य र नेपाली राष्ट्र दुवैको स्वाभिमान बढाउने गरी राष्ट्राध्यक्ष रामले ‘रामराज्य’का लागि भूमिका निर्वाह गर्नेछन् भन्ने आशा गर्न सकिन्छ ।

रामचन्द्र उसै पनि संवैधानिक, आलंकारिक राष्ट्रपतिका पक्षपाती हुन् । सक्रिय राष्ट्रपति शासन लोकतन्त्रको संकुचन हो भन्ने उनको बुझाइ छ । निर्वाचित नीति–प्रतिनिधि र ती निर्वाचित प्रतिनिधिबाट निर्वाचित प्रधानमन्त्रीय संसदीय व्यवस्थाका उनी पक्षपोषक हुन् । यसर्थ पनि उनले राष्ट्रपति पदको दुरूपयोग गर्नेछैनन् भन्ने आशा गर्न सकिन्छ । 


संविधानको पालना गर्ने दायित्व राष्ट्रपतिको हो । उनी पनि संविधान–कानुनभन्दा माथि छैनन् । संविधान विपरीतका क्रियाकलापका साथ दिनु संविधानको पालना होइन । कार्यपालिकाका कतिपय निर्णयमा उनले पुनर्विचारको विचार दिन सक्छन् । तर, राष्ट्रपतिका विचार–कदममा लोकतन्त्र, विधि र राष्ट्रहित अन्तर्निहित हुनुपर्छ । 

संविधानको पालना गर्ने दायित्व राष्ट्रपतिको हो भन्नुको अर्थ संविधानको सिद्धान्त परिपालना गर्नु हो । अर्थात् लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउनु उनको दायित्व हो । संघीय गणतन्त्र सदृढ बनाउनुमा उनीबाट व्यावहारिक दृष्टान्त पेस हुनुपर्छ । समावेशिता र धर्म निरपेक्षताको सम्मान गर्नुपर्छ । राज्यको प्रगतिशील रूपान्तरणको सन्देश उनले दिनुपर्छ । उनी धेरै बोल्ने, हिँड्ने गरेर गणतन्त्र बलियो हुँदैन । उनी मौन बस्नुमा नै उनी संस्था र देशको गरिमा छ । तर, ‘मौन सक्रियता’ यस्तो पनि नहोस् कि खराब कामको प्रतिरक्षा कगरियोस् ।

आफू नै राष्ट्रपति भइसकेपछि दलको आदेशपालक भइरहने हीनताबोधबाट उनी मुक्त हुनुपर्छ । सभामुख भइसकेका उनलाई उसै पनि दलको ह्याङओभरबाट मुक्त हुन सहज हुनेछ । राजतन्त्र र धर्मका कुरा निकाल्ने आफ्नो पुरानो पार्टीका धारलाई उनले सम्झाउनुपर्छ । आफ्ना ‘भाइभतिजा’, ‘चेलाचेली’हरूले धर्म–वंश–जात विशेषको मुखर वा मौन वकालत गर्नु गणतन्त्रको मात्र विरोध होइन, रामचन्द्रको पनि विरोध हो । समय अघि बढ्छ र बढ्नुपर्छ । अगाडिको समय सजिलो नहुन सक्छ । यसो भन्दैमा पछाडि फर्किने सोच्नु कायरता, मूर्खता र समयको सत्यानाश मात्र हो । 

राष्ट्रपति व्यक्ति र संस्था यस्तो होस्, जसले गणतन्त्रको गरिमा बढाओस् । राष्ट्रपति यस्तो होस्, जसलाई देखेर थुक्न मन नलागोस् । राष्ट्रपति यस्तो होस्, जसले आम नागरिकलाई पीडा नदिओस् ।

राष्ट्रपति यस्तो होस्, जसले अदृश्य र अलोकतान्त्रिक पात्रलाई नियुक्ति नदिओस् । राष्ट्रपति यस्तो होस्, जसले आफ्नो महलमा ट्वाइलेट, कार्पेट र पर्दामा करोड नअसुलोस् । राष्ट्रपति यस्तो होस्, जसले उपचार कोषबाट लुटेको लुट्यै नगरोस् । राष्ट्रपति यस्तो होस्, जसप्रति श्रद्धाले शिर निहुरियोस् । राष्ट्रपति यस्तो होस्, जो सादगी व्यवहारको उदाहरण बनोस् । राष्ट्रपति यस्तो होस्, जसले मन्त्रिपरिषद्देखि हर नियुक्तिमा भागबन्डा नखोजोस् । राष्ट्रपति यस्तो होस्, रामचन्द्रकी जय नारा स्वतःस्फूर्त कुनाकनामा गुञ्जियोस् । राष्ट्रपति यस्तो होस्, कार्यकाल सकिएका दिन सबैले लेखून्— नयाँ राष्ट्रपतिले रामचन्द्रबाट सिकून् । बधाइ र शुभकामना महामहिम महोदय ।


 


Author

थप समाचार
x